एरिकालाई कराते वान प्रिमियर लिगमा रजत पदक



काठमाडौँ ।

नेपालकी कराते स्टार एरिका गुरुङले चीनमा भएको कराते वान प्रिमियर लिग २०२६ मा रजत पदक जितेकी छन् । आइतबार भएको स्वर्ण पदकको भिडन्तमा एरिकाले कजाखस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धा गरेकी थिइन् । तर एरिका फाइनलमा २–१ अंकले पछि पर्दा स्वर्ण जित्ने अवसर गुमाइन् ।

यसअघि टर्कीमा भएको कराते वान प्रिमियर लिगमा पनि एरिकाले फाइनलमा सोफियासँगै प्रतिस्पर्धा गरेकी थिइन् । त्यतिबेला पनि एरिका पराजित भएकी थिइन् । आइतबार पनि पराजित भएपछि एरिकाले बदला लिने अवसर पनि गुमाइन् । यसपटक चीनमा एरिकाले सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८–३ ले पराजित गर्दै स्वर्ण पदकको भिडन्त पक्का गरेकी थिइन् ।

करातेको प्रिमियर लिग वर्षमा चार पटक हुन्छ । राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार विश्व वरीयतामा एरिका हाल ११औँ स्थानमा छिन् । विगत दुई वर्षमा कुशलको प्रशिक्षणमा रहेकी एरिकाले लगातार पदक जितिरहेकी छन् ।

सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी एरिकाले उच्च प्रदर्शन गर्दै आएकी छन् । त्यसपछि सन् २०२४ मा युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा स्वर्ण र रजत, अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण, मोरक्कोमा भएको कराते–१ प्रिमियर लिगमा पनि उनले कास्य पदक जितेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ३० गते सोमबार