काठमाडौँ ।
पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लवले कोशी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार जनकपुरमा भएको खेलमा एपीएफले कोशीलाई ५ रनले पराजित गरेको हो ।
एपीएफले दिएको २२६ रनको लक्ष्य पछ्याएको कोशी ४९.५ ओभरमा २२० रनमा अलआउट भयो । ओपनरद्वय सुमन श्रेष्ठ र अंकित सुवेदीले शतकीय साझेदारी बनाएर शानदार सुरुवात दिलाएपनि पर्याप्त भएन । अंकित ७२ तथा सुमन ६५ रनमा आउट भए । यी दुई मिलेर १२२ रनको प्रारम्भिक सााझेदारी गरेका थिए ।
रोहन साहले ३२ तथा आशिष मगरले १७ रन बनाए । ३१औँ ओभरमा १२८–२ को अवस्थामा भएपनि कोशीले त्यसपछि खेलमा नियन्त्रण गुमायो । अन्तिम २ ओभरमा १७ रन आवश्यक हुँदा कोशी २०९–७ को अवस्थामा थियो । त्यहाँबाट ११ रन जोड्दा बाँकी ३ विकेट गुमायो । एपीएफका अभिशेष गौतमले १० ओभरमा ४१ रन दिएर ४ विकेट लिए ।
कप्तान रोहित पौडेलले २ तथा भुवन कार्की र अमरसिंह राउटेलाले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले सन्दीप जोरा र सुमित महर्जनको अर्धशतक मद्दतमा ४७.५ ओभरमा अलआउट हुँदै २२५ रन बनाएको थियो । जोराले ७२ तथा सुमितले ५७ रन बनाए । अमरसिंह राउटेलाले २७ तथा कप्तान रोहित पौडेलले २० रन बनाए ।
कोशीका कप्तान सुजन थपलियाले ३ विकेट लिँदा बिपिन महतो र दिपेश कँडेलले २–२ तथा रोहन साहले १ विकेट लिए । प्रतियोगितामा एपीएफको यो चौथो जित हो र ८ खेलमा ९ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ । ८ खेलमा सातौँ हार बेहोरेको कोशी १ अंकका साथ पुछारमा रहेको छ ।









प्रतिक्रिया दिनुहोस्