अरुणबहादुर खत्री ‘नदी’
रेडियोनेपालमा मैले कक्षा ८ मा श्री शान्ति विद्या गृह मा।वि।, लैनचौरमा पढ्दै गर्दा हरेक दिन साँझको ५।३० बजे प्रशारण हुने बालकार्यक्रमा कथा, कविता, निवन्ध, चुट्किला र गाउँखाने कथा हुलाकबाट पठाउने गर्दथे । मैले पठाएका रचनाहरु हप्तामा एकपटक बालकार्यक्रम चलाउने हुने दाजु स्व।बासुदेव मुनालले सुनाउने गर्नुहुन्थ्यो । साथै हरेक दिन दिउँसको प्रशारण हुने महिला कार्यक्रममा मैले पठाएको सामग्रीहरु सूर्यकुमारी पन्त दिदीले सुनाउने गर्नुहुन्थ्यो । लोकगीत गाउनु हुने दाजु पाण्डव सुनुवारले चलाउने कार्यक्रम चौतारीमा बेला बेलामा म भाग लिन जान्थे । पाण्डव सुनुवार दाजुले चलाउनु हुने चौतारी कार्यक्रममा पहिलोपटक भाग लिन २०४३ सालमा जाँदा मदन पुरस्कार बिजेता युवराज नयाँघरे र सानुराजा श्रेष्ठ अन्जानसँग चिनापरिचय हुन पाएको थियो । पहिलो पटक म एस।एल।सी। दिएपछि २०४० असार महिनामा रेडियोनेपालको स्टुडियो भवनमा मेरो भाञ्जा शान्त बस्नेतसँग सिंहदरबार पुगेको थिए । बासुदेव मुनाल दाजुले बालकार्यक्रम रेकर्ड गर्नुभएको देख्न पुगे । घरमा गएपछि बेलुकीको ५।३० बजे दिउँसो रेकर्ड भएको सामग्री बालकार्यक्रममा सुन्न पाएको थिएँ । बालकार्यक्रममा मैले पठाएका रचनाहरु बासुदेव मुनाल दाजु र प्रभात विजयानन्द दाजुले सुनाइदिनु हुन्थ्यो । युवासंसार कार्यक्रम समाचारवाचक दाजु माधव घिमिरेले चलाउने गर्नु हुन्थ्यो । युवासंसार कार्यक्रममा बेला बेलामा गएर कविता पाठ गर्दथे । कविता पाठ गरेपछि त्यतिखेर एउटा कविताको पचास रुपैँया पारिश्रमिक पाउथे । युवासंसार कार्यक्रममा कविता पाठ गर्न जाँदा साहित्यकार ज्ञानेन्द्र विवशसँग मेरो भेट हुन पुगेको थियो । मैले सुरुको अफिस खानेपानी तथा ढल निकास संस्थानमा काम गर्दा पाण्डव सु्नुवार, बुलु मुकारुङ, मदनदास श्रेष्ठ, हिरण्य भोजपुर र जयनन्द लामा दाजुहरु धारा जडान गर्न आउनु हुदा मेरो परिचय हुन पुगेको थियो । मेरो नाम उहाँहरुलाई भन्दा साह्रै खुसी मान्नु भएको थियो । रेडियोनेपालमा फर्माइस गीत कार्यक्रममा पनि मेरो नाम दिनहुँ जस्तो आइरहन्थ्यो । पाण्डव सुनुवार दाजुले चलाउनु हुने फोन इन कार्यक्रममा शुक्रबार मैले फोन गरेको थिए । शनिबार ११।०० बजेको समाचारपछि घरमा आफ्नो आवाज सुन्न पाउँदा मलाई साह्रै नै खुसी लागेको थियो । नयाँ साथीहरुसँग परिचय गर्दा उनीहरुले मेरो नाम रेडियोमा धेरै सुनिन्थ्यो भन्ने गर्दछन् मलाई साह्रै नै खुसी लाग्छ ।
हरेक आइतबार बेलुकी ८।०० बजेको अंग्रेजी समाचारपछि वरिष्ठ गीतकार दाजु किरण खरेलले चलाउनु हुने संगीत सौगात कार्यक्रममा पनि मेरो नाम आइरहने गर्दथ्यो । हरेक शनिबार नौ बजेको समाचारपछि प्रशारण हुने सुन्दर सुशिल संगीत कार्यक्रम दामोदर अधिकारी दाजु र धन लामा दिदीले चलाउने गर्नु हुन्थ्यो त्यसमा मैले पठाएको सामग्री आइरहन्थ्यो । सरकारी जागिर खान थालेपछि दिउँसोमा अनुरोध नेपाली संगीत कार्यक्रम सुन्न म खाजा खाने क्यान्टीनमा गएर खाजा खादै सुन्दथे मेरो नाम आउँदा साह्रै नै खुसी लाग्ने गर्दथ्यो । अनुरोध नेपाली संगीतमा बिरगंज गहवाको कुर्बान हवारीको नाम धेरै बज्ने गर्दथ्यो । कुर्बान हवारीसँग म फेसबुकमा साथी बनेको छु । रेशमकोठी बिरगँजबाट श्रीकुमार बस्नेतको नाम पनि धेरै आउने गर्दथ्यो । उ मेरो पत्रमित्र थियो । रेडियोनेपालमा गीतिकथा पनि प्रशारण हुने गर्दथ्यो । मैले पठाएको कथालाई गीतिकथा कार्यक्रममा मनुका कुँवरले प्रशारण गरिदिनु भएको थियो । बिम्ब प्रतिबिम्ब कार्यक्रममा मैले पठाएको मुक्तकलाई पनि मनुका कुँवरले सुनाइदिनु भएको थियो । रेडियोनेपालमा शनिबार दिउँसो बाह्र बजेपछि इन्द्रधनुष कार्यक्रम पाण्डव सुनुवार दाइले चलाउनु हुन्थ्यो मैले पठाएको चुट्किला उहाँले सुनाइदिनु हुन्थ्यो । बबिता खनालले कार्यक्रम राजधानीको सन्देश र राजीखुशी चलाउने गर्नुहुन्थ्यो मैले पठाएको भावनालाई उहाँले सुनाइदिने गर्नुहुन्थ्यो । रेडियोनेपालमा हरेक शनिबार दिउँसो कार्यक्रम सुन्नुस् सुनाउनुस् आउने गर्दथ्यो । त्यो कार्यक्रममा मैले दुईपटक भाग लिएको थिए । कार्यक्रम चन्दा बिष्टले चलाउने गर्नुहुन्थ्यो । रेडियोनेपालमा पहिला पहिला बेलुकाको छ बजेपछि ग्रामिण कार्यक्रम आउने गर्दथ्यो । शनिबार दिउँसो गोरखा गीतिसन्देश कार्यक्रम आउने गर्दथ्यो । मैले पठाएको पत्र रुपा बिमल दिदी र माधव घिमिरे दाजुले गोरखा गीति सन्देशमा सुनाइदिने गर्नु हुन्थ्यो ।
रेडियोनेपालमा हरेक शनिबार बिहानको १०।०० बजेपछि याकसंसार कार्यक्रम प्रशारण हुने गर्दथ्यो । याकसंसार कार्यक्रम राधाकृष्ण काफ्ले दाजु, पत्रकार दाजु निरोध पाण्डे र बेन्जु सरोजले चलाउने गर्नु हुन्थ्यो मेरो मुक्तक र चुट्किला पनि याक ंसंसार कार्यक्रममा प्रशारण हुन्थ्यो । हरेक मंगलबार रातको ९।०० बजेको समाचारपछि त्रिवेणी कार्यक्रम सुर्यकुमारी पन्त दिदीले चलाउने गर्नु हुन्थ्यो मैले पठाएको छोटा छोटा कविता पनि उहाँले सुनाइदिनु हुन्थ्यो । सावु गदालले पनि मैले पठाएको मुक्तक र कविता सुनाउने गर्नुहुन्थ्यो । हरेक शनिबार रातको ९।०० बजेपछि सवा नौ बजे कार्यक्रममा मैले पठाएको कविता सरिता भट्ट दिदीले सुनाइदिने गर्नुहुन्थ्यो । उहाँ रेडियोनेपालको जागिर छाडेर अमेरिका गएर बस्नु भएको थियो तर अहिले उहाँ हामी माझ हुनुहुन्न । राधाकृष्ण काफ्ले दाजु पनि रेडियोनेपालको जागिर छाडेर अमेरिका गएर बस्नुभएको छ । संगीतकार दाजु राम थापा, गायीका तारा थापा, चन्दा बिष्ट, रिता तिमल्सिना, गायक सिताराम ताजपुरिया, गायक रामकृष्ण ढकाल, दिपक के।सी।, गीतकार शंकर प्रेरणा, गायक प्रदिपराज पाण्डे, बेदबहादुर कुँवर, गायीका यशोदा पराजुली, राजन क्षेत्री, उद्धवसिंह चन्दरा, गायीका दिदी मिरा राणा, गायीका दिदी सावित्री शाहले मेरो नाम फर्माइस गीत कार्यक्रममा सुनाइदिने गर्नुहुन्थ्यो । म भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सरुवा भएर गएपछि २०५४ सालमा तारा थापा र मिरा राणा दिदीहरुले चलाउनु हुने पुष्पाञ्जली कार्यक्रममा भाग लिन पाएको थिएँ । पुष्पाञ्जली कार्यक्रम शनिबार दिउँसो प्रशारण हुने गर्दथ्यो र आफूले घरमा बसेर आफ्नो आवाज सुन्न पाउदथे ।
रेडियोनेपालमा मेरो नाम धेरैले सुनेर मलाई चिठी हुलाकबाट पठाउने गर्दथे । चिठीको जवाफ पठाउन मलाई साह्रै नै कठिनाइ पर्दथ्यो । कवि नवराज लम्सालले चलाउनु हुने मधुवन कार्यक्रममा पनि मैले बेला बेलामा फोन गरेर कविता मुक्तक सुनाउने गर्दथे । मधुवन कार्यक्रम शुक्रबारको दिन बिहानको दश बजेदेखि एघार बजेसम्म एक घण्टा प्रशारण हुन्थ्यो । एकपटक बासुदेव मुनाल दाजु, पाण्डव सुनुवार दाजु र कल्पना घिमिरे दिदीले रेडियोनेपालले एक न एक दिन अरुण भाइलाई सम्मान गर्नेछ भन्नु भएको थियो । प्रत्येक साल चैत २० गतेका दिन रेडियोनेपालको वार्षिकोत्सव हुने गर्दछ । हरेक वर्ष मलाई निमन्त्रणा आउने गर्दछ र पुग्ने गर्दछु । सरकारी जागिर खादा म दिउँसो खाजा खाने समयमा बेला बेलामा रेडियोनेपाल पुग्ने गर्दथे । ताराप्रसाद वस्तीले मझेरी कार्यक्रम चलाउने गर्नु हुन्थ्यो । धन लामा दिदी र इश्वर थापा दाजुले रंगतरंग कार्यक्रम चलाउने गर्नु हुन्थ्यो मेरो लघुकथा, मुक्तक, कविता बेला बेलामा सुनाइदिनु हुन्थ्यो । नरेश अर्याल दाजुले पनि रंगतरंग कार्यक्रमा मैले पठाएको रचना प्रशारण गर्नु हुन्थ्यो । सुरुमा मैले रेडियोनेपालबाट आफ्नो रचनाको पारिश्रमिक पैतिस रुपैँया बुझेको थिएँ । पारिश्रमिक लिन जादा मलाई मिरा राणा र सावित्री शाह दिदीहरुले सघाउनु् भएको थियो । उषा लोहनी दिदीले हालसालै २०८२ माघ महिनामा जीवनयात्रा कार्यक्रमको लागि मलाई फोन गरेर मेरो साहित्यिक क्षेत्रको बारेमा कुराकानी गर्नुभएको थियो । रेडियोनेपाललाई मैले कहिल्यै पनि बिर्सन सक्दिन ।









प्रतिक्रिया दिनुहोस्