वर्षौँदेखि सञ्चार सेवाबाट वञ्चित भुलभुले क्षेत्र



जुम्ला ।

जिल्लाको सीमाक्षेत्र भुलभुले तथा आसपासका बस्तीहरूमा वर्षौँदेखि सञ्चार सेवा अवरुद्ध हुँदा जुम्ला र मुगुका स्थानीयवासी तथा पर्यटकहरू मारमा परेका छन् । मोबाइल तथा टेलिफोन सेवा नहुँदा दैनिक जीवनयापनदेखि आपत्कालीन अवस्थासम्म समस्या हुने गरेको स्थानीयले बताएका छन् । भुलभुले क्षेत्र हुँदै राराताल जाने आन्तरिक तथा बाह्य पर्यटकहरू समेत सञ्चार सम्पर्कबाट वञ्चित भइरहेका छन् ।

पर्यटनको मुख्य आकर्षण मानिने राराताल भ्रमणका क्रममा पर्यटकहरूले आफन्तसँग सम्पर्क गर्न नपाउनुका साथै आवश्यक सूचना आदानप्रदानमा कठिनाइ भोग्दै आएका छन् । स्थानीयवासीका अनुसार पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि समस्या समाधान हुन सकेको छैन ।

सञ्चार पूर्वाधारको अभावले स्वास्थ्य, शिक्षा तथा सुरक्षाजस्ता आधारभूत सेवामा समेत प्रत्यक्ष असर परेको स्थानीय गोपाल बुडाको गुनासो छ । सम्बन्धित निकायले दुर्गम भौगोलिक अवस्था तथा प्राविधिक चुनौतीका कारण सेवा विस्तारमा ढिलाइ गरेको उनको भनाइ छ । सञ्चार सेवा सहज नहुँदा भुलभुले क्षेत्रका बासिन्दा वर्षौँदेखि राज्यको आधारभूत सेवाबाट वञ्चित रहँदै आएका छन् ।

जसले उनीहरूको जीवनस्तरमा गम्भीर प्रभाव पारेको छ । कनकासुन्दरी गाउँपालिका–१ नम्बर वडामा पर्ने भुलभुले आन्तरिक तथा बाह्य पर्यटकको बास बस्ने बजार क्षेत्र पनि हो । मुगुको राराताल पुग्ने मार्गमा पर्ने यो महत्वपूर्ण स्थानमा फोन नेटवर्क नियमित रूपमा नचल्दा पर्यटक र स्थानीय व्यवसायी दुवै प्रभावित हुने गरेका छन् ।

कनकासुन्दरी गाउँपालिका–१ अन्तर्गत मोर्फान गाउँको डाँडामा रहेको टावर प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा भुलभुले क्षेत्रमा सञ्चार सेवा अवरुद्धजस्तै भएको स्थानीयको गुनासो छ । विशेषगरी रारातालतर्फ जाने पर्यटकहरू बाटोमा विश्रामका लागि भुलभुलेमै बस्ने गरे पनि सञ्चार अभावले अलपत्र पर्ने अवस्था देखिएको छ ।

कहिलेकाहीँ मात्र सिग्नल आउने भए पनि नियमित नभएकाले पर्यटक र व्यवसायी दुवैलाई समस्या परेको हो । त्यो क्षेत्रमा नाग्म मुगु गमगढी सडक हुँदै नेपाल प्राधिकरणको नेशनलग्रीड र नेपाल टेलिकमको एनटी फाइबर लिज लाइन मुगुको सदरमुकाम गमगढी पुगेको छ । तर त्यहाँका स्थानीय बासिन्दाले नेशनलग्रीडको विजुली बाल्न पाएका छैनन् भने एनटी फाइबर इन्टरनेट पनि सञ्चालन गर्न पाएका छैनन् ।

पर्यटकसँग सम्पर्क गर्न सकस

स्थानीय होटल व्यवसायी गोविन्द भण्डारीका अनुसार नेटवर्क नियमित नहुँदा पर्यटकसँग सम्पर्क गर्न सकस हुने गरेको छ । ‘भुलभुलेमा पर्यटकहरू आइरहन्छन् । तर फोन नलाग्दा सम्पर्क गर्न गाह्रो हुने गरेको छ, आकाशमा बालद लाग्यो र पानी प¥यो भने सधैँ नेटवर्क जाने समस्या छ,’ उनले भने, ‘नियमित फोन सेवा हुँदैन, टाढा डाँडामा टेलिफोन टावर छन् । ती टेलिफोन टावर सोलार प्रणालीमार्फत सञ्चालन छन् । कतिपय टावरमा वषौँदेखिका पुराना सोलार ब्याट्री छन् । चार्ज नै टिक्दैनन् । यसले गर्दा आकाशमा बादल र पानी पर्नेबित्तिकै नेटवर्क जाने समस्या वषौँदेखि झेल्दै आएका छौँ ।’

कनकासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भिमबहादुर भण्डारीले भुलभुले क्षेत्रमा फोरजी सेवासहितको टावर अत्यावश्यक भए पनि स्थानीय तहको स्रोतले मात्र सम्भव नहुने बताए । संघीय सरकारको ध्यान अझै पुग्न नसकेको उनको गुनासो छ । नेटवर्क समस्याबारे सम्बन्धित निकायमा बारम्बार जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन ।

विकट तथा पर्यटकीय क्षेत्रमा सञ्चार सुविधा नहुँदा आकस्मिक अवस्थामा पर्यटकले सहयोग माग्न समेत कठिन हुने गरेको छ । यसले पर्यटक सुरक्षामाथि समेत प्रश्न उठाएको छ । भुलभुले जुम्लाको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक हो । राराताल जाने क्रममा सवारीसाधन बिग्रिएमा वा अन्य कारणले यात्रुहरू यही क्षेत्रमा बास बस्ने गर्छन् । त्यसैले यहाँ भरपर्दो सञ्चार सुविधा विस्तार गर्न राज्यले शीघ्र पहल गर्नुपर्ने स्थानीयको माग छ ।

नेपाल टेलिकम जुम्लाका प्रमुख पारस पुजाराका अनुसार त्यो भुलभुले क्षेत्र आसपासका बस्तीमा नियमित रूपमा टेलिफोन नेटवर्क नहुने समस्या आएको छ । तर त्यो क्षेत्रका टावरमा बिजुली पुगेको उनको भनाइ छ । ‘सोलार प्रणालीमार्फत सञ्चालन हुने भएकाले बादल र पानी पर्दा ब्याट्री चार्ज नहुने र नियमित नेटवर्क नआउने भएको हो,’ उनले भने, ‘यो समस्यालाई टेलिफोन केन्द्रीय कार्यालयमा जानकारी गरिएको छ । त्यहाँबाट प्राविधिक टोली आएर अध्ययन गर्ने र समस्या समाधान गर्नेछौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार