धुवाँकोट महाशीला : पोखरा पुग्ने पर्यटकका लागि अर्को आकर्षक गन्तव्य



शरण बिक्रम मल्ल,  लुँखु माझ्घर्, पर्वत

संघिय नेपालको प्रदेश नं. ४, धौलागिरी अँचलको पर्वत जिल्लामा अवस्थित समुन्द्रको सतहबाट ५४० मिटर देखि २२२६ मिटरका शिखर वोकेको अञ्जुली आकारको पूर्व दक्षिण र पश्चिम पाटा फर्किएको एउटा अति रमणीय गाउँ छ । यसलाई पहिला धुवाँकोट भनेर वोलाइन्थ्यो भने पछिल्लो समयमा आएर पर्वत जिल्लाको लुँखु देउराली गाविस पहिचान बोकेर  चिनियो । अहिले महाशीला गाउँपालिकाको वडा नम्वर पाँचमा परिवर्तन भएको छ । प्रकृतिले कालिगढी  भरेको यो गाउँ दुर्लभ र आकर्षणको भण्डारनै छ भन्दा अतिशयोक्ति नहोला । यसैको पूर्वी पाटो लगभग पश्चिम फर्केको घमाईलो र रमाईलो गाउँमा समुन्द्रको सतहबाट करीव १४०० मिटरमा पृथ्वीको उपरी सतहमा भीभकाय शीला अवस्थित छ । यो १०५० फीट गोलाकार र १२० फीट उचाई रहेको संसारकै सवैभन्दा ठूलो ढुँगो भएको अनुमान गरिएको छ । यसैलाई महाशीला भनेर चिनिन्छ । हुनत लामालामा पहराहरु जसको एकपाटा पहाडमा टाँसिएका यो भन्दा विशाल हुन पनि सक्लान तर यो जसरी पृथ्वी सतहमा उभिएर वसेको छ यसलाई चारैतिरवाट परिक्रमा गरी अवलोकन गर्न सकिन्छ, यो आफैमा अदभूत छ ।

महाशीलासँग जोडिएका कथाहरु

महाशिलालाई सवै भन्दा ठूलो भएकोले “माल ढुंगा” पछि दुरीनाप्ने मापांकनको चलनसंगै यसको एक फन्को मार्न एकमाईल हिडेझै समय लाग्ने हुँदा एकमील हुदै “मेल ढुंगा” नामले वोलाईन थालियो पनि भनिन्छ । महादेव शिवले सवैदुष्टहरुलाई नाशगर्ने उद्धेश्यले स्वयं आफ्नो पृय वाहन नन्दीको रुपमा विशालकाय रुपधारण गरेर आई सवै दुष्टहरुलाई नाश गरेछन तर यस युद्धमा नन्दीको एउटा सिंग भाँचिएछ । झट्ट हेर्दा एक सिङ नभएको वसाह जस्तो पनि देखिन्छ । यसैले महाशीलालाई एकसिंग नभएको नन्दीको कल्पना गर्न सकिन्छ । त्यसपछि त्यस रुपलाई शिलाको रुपमा छाडी जसले प्रसादीको रुपमा दुध शखर पानी चावालराखी खीर पकाउन अग्नीमा राखी यो शिलालाई परिक्रमा गरी पुजा–आर्चना गर्दछ, शीलालाई अर्पण गरेको खीर आफूले पनि ग्रहण गर्दछ र अरुलाई पनि बाँड्दछ भने त्यसको मनो काँक्षा अवश्व पुरा हुनेछ भनी महादेव शिव अन्तरध्यान भएको हो भन्ने किंव दन्ती सुन्न पाईन्छ ।

यो साक्षत देवादीदेवा महादेव शिवको रुपहो भन्ने विश्वास सर्वसाधारणमा रहेको छ । एउटा भाँडामा प्रसादीको लागि दुध, जल, शखर, चावाल राखी खीर पकाउन अग्नीमा राखी महाशिलाको परिक्रमा गरी सक्दा खीर पाकी सक्ने हुँदा महाशीला प्रति मानिसको आस्था वढिरहेको पाईन्छ । विशाल कायको यस शिलाको एक पटक परिक्रमा गर्नलाई आ(आफ्नो गती अनुसार १० मिनट देखी २५ मिनटसम्म लाग्न  सक्द्छ ।

महाशिलासँग जोडिएको एउटा आश्चर्य

पछील्लो समय १० वर्ष मात्र  भयो होला, महाशिलाको पुजाआजाको लागि जव तपस्वी श्री पं रमाकान्त उपाध्यायलाई राख्ने सल्लाह भयो । तर त्यहाँ पिउने पानी नहुँदा यसको समस्या कसरी समाधान गर्ने भन्ने चिन्ताले सवैलाइ सतायो । सोच्दासोच्दै पुजारीलाई पदास्थापन गर्ने तय भएको वालचतुर्दशीको दिन पनि आईपुग्यो ।

एक फन्को घुमाउन ७०० हात भन्दा वेशी लामो तोरण लाग्ने भएकोले गाउँलेले मिली तोरण वाटे, वरपीपल, पाती, लालुपाते फुलहरु तोरणमा उन्दा एकजानाले वोक्न सक्ने कुरा भएन । तामदान वनाई त्यसमा तोरण हाली चारजनाले वोकी वाजा–गाजाकासाथ महाशीलामा पुग्दा त्यहाँ आश्चर्य देखियो । महाशिलाको पींधवाट निर्मल जल वगिरहेको थियो ।

यो देखे पछि सवैले महाशिलाको कर्तलध्वनिले जयजयकार गरे । झण्डै ७० वर्ष अगाडि जतिवेला तीनै तपस्वी वालतपस्वीको रुपमा महाशिलामा रहँदा महाशीलाको फेंदमा जल यसरीनै वगीरहन्थ्यो जव उनी त्यहाँवाट हिडे महाशिलाको नित्यपुजा हुन छोड्यो, पानी सुकेर गयो । फेरी गाउँलेहरुले महाशिलाको पुजाआजा गर्ने निधो गरे पानी पलाएर आयो ।

पुनः आफ्नो पुजाआज हुने भए पछी महादेव प्रसन्न भएर पानी दिएको जनविश्वास छ ।  यसैले महाशिला साक्षत महादेवको प्रतिमुर्ती भएको कुरा यसभेकका वासिन्दाहरुभित्र विश्वास अझ वलियो भएको छ । यीनको दर्शन मात्रले पनि कल्याण हुने जनविश्वास छ ।

ग्रामिण पर्यटनको अभिवृद्धिमा महाशिला

साविक लुँखु गाविसको ६ वडाहरु समुद्र सतहबाट ५४० मिटर देखि २२२६ मिटरको उचाई बीचको चिसापानी खाडी–गोर्ल्याङ क्षेत्रमा पर्दछ । चिर्दी र सेती खोलाको शीर यही क्षेत्र हो । सेती खोला जसलाई पैयुँखोला पनि भनिन्छ यसको मुहान लुँखुको गोपेनी भन्ने ठाउँ  हो । यस चिसापानी खाडी–गोर्ल्याङ क्षेत्रमा कुर्घा, पाङ्गराङ्ग, वाच्छा, विहादी जस्ता उर्वरफाँट र सेती९पैयुा० खोला किनारमा वेसी र कम भिराला पाखाहरु रहेका छन् । कुर्घा, पाङ्गराङ्ग, वाच्छा, भोक्सीङ्ग, वालाकोट, होश्राङ्गदी, उराम, वाहाकी वर्राचौर, रानीपानी, शालीग्राम वेहुलीबास, हुवासका २ वडा सरौखोलाका ५ वडा र भोर्लेका १ वडा पर्दछन् । यो क्षेत्रमा सिंचाइको राम्रो व्यवस्था र खेती योग्य उर्वर भूमि रहेको छ ।

यस क्षेत्रमा ऐतिहासिक महत्वको पैयुँकोट, धुँवाकोट, गोली हान्ने ढुँगा, धुवाँकोटे फलामखानी देविस्थान तामाखानी, भोकसि तामाखानी, चिर्दी तामाखानी रहनुका साथै लुँखु शीरमा चीसापानी काली र पुछारमा शक्तिपीठ गुफा, गंगाधर गुफा रहेका छन् । उद्गमस्थान लुँखुगाउँ भै सेती खोलाको रुपमा पर्वत, गुल्मी र श्याँजा जिल्ला जोडिएको ठाउँमा गै काली गण्डकीमा समागमन हुँदा महाशालिग्राम रहेको सेतीवेणी प्रसिद्ध तीर्थस्थलको रुपमा परिणत भएको छ । यसरी पबित्र सेतीबेणी तिर्थस्थल र लुँखु(धुँवाकोट को गहिरो नाता जोडिएको छ ।

कालीगण्डकी ए जलविद्युत परियोजनाले यसलाई अति रमणीय पनि वनाएको छ । यी प्राकृतिक सम्पत्तीहरुलाई एकीकृत रुपमा प्रचार प्रसार गर्न सकिएमा पर्वत जिल्लाको आर्थिक वृद्धिमा अकल्पनीय योगदान पुर्याउने छ ।

महायोगी स्वामी नारायणले दर्शन गरेको महाशिला

महाशिला साक्षत महादेवको प्रतिरुप मानिएकोले घरेलु धार्मीक तीर्थयात्री मात्र होइन मित्रराष्ट्र भारतका मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीहरुको लागि पनि थप आकर्षणको गन्तव्य तीर्थ स्थल मार्ग  हुनेछ । प्राकृतिक रुपमा मनोरम त छदैछ भारतीय महायोगी स्वामी नारायणको तपस्या स्थलको यात्रा हुँदा सेतीवेणीको महा–शालीग्रामको दर्शन, धुवाँकोटको महाशीलाको दर्शन, सहश्र धाराको स्नान हुदै मुक्तिनाथको स्नान दर्शन गरी संसारकै सवैभन्दा गहिरो गल्छी नीलगिरी हिमश्रृखलाको काखमा रुप्से छाँगाको नजिकआई १३ वर्षको उमेर देखि तपास्या गरी शिद्धिप्राप्त गरेको कुरा प्रचारमा ल्याउन जरुरी छ ।

भारतिय समाजमा सशक्त नारी शिक्षाको लागि, सती प्रथाको बिरुद्ध्, असाह्य तथा दिन दुखिका हितकोलागि, अहिंसाका पक्षमा पशुवलिका बिरुध्द्द र मानव कल्यणकारी कानुन द्वरा समाज निर्देशित हुन जरुरी छ भन्ने सवालमा महत्वपूर्ण योगदान दिएका अग्रणी अभियान्त स्वामी नारायणबाट माहत्मा गान्धिले प्रेरणा लिएका थिए । उत्तर प्रदेशको अयोद्द्याको नजिक  छपैयाको एक गाउँमा (सन् १९८१- १८३७)  स्वामी नारायण जन्मेका थिए । उनको नाममा निर्मित दिल्लीको अक्षरधाममा गै वर्षको एकपटक मुक्तिनाथको दर्शनको निम्ति स्वामी नारायणले शिद्धिप्राप्त गर्न हिडेको वाटो–कालिगण्डकी ए जलविद्युत परियोजनाको जलाशयको जलविहार, सेतीवेणीको स्नान र महाशालीग्रामको दर्शन, लुँखु देउराली धुवाँकोटको साक्षत महादेव–महाशिलाको दर्शनवाट प्राप्तहुने आनन्द र पूराहुने मनोकामना प्रचार गर्न सकेमा मात्र पनि यो वाटो भै हजारौको संख्यामा भारतीय तीर्थयात्रीले यात्रा गर्ने छन् ।

किराँतहरुको आराध्य देवता महाशिला

लुँखु धुँवाकोट ढुँगाको अनुपम संगमले भरिएको सुन्दर गाउँ हो । सुन्दर पहरा, रमाइला ओडारहरु,चट्टान माथी उम्रेर मनमोहक रुपमा फुल्ने लालिगुराँस्, विभिन्न लहराले जेलिएर  लस्कर लागी  उभिएका मनचिन्ते आकृतिका अनगन्ती ठुल्ठुला शिलाहरु देखे पछी लुँखु पुगेका खोटाङ हलेसिका युवा समाजसेवी राजनीतिकर्मि मेरा मित्र अमेम्वर राईले भने “लुँखु” भनेको किरात भाषामा ढुँगाको पर्वत हो, हाम्रा पुर्वजहरुले कुनै काल्खण्डमा यहाँ विचरण गरेको हुनु पर्दछ्, उनिहरुले ढुँगाको पर्वतले बनेको यो ठाउँ देखेपछी “लुँखु” भनेए नाम दिए होलान् ।

महाशिला हाम्रो पनि आराध्य देव हुन सक्छन । यसको प्रचार्-प्रसारको जरुरी छ । मैले संयोगले महाशिलाको दर्शन गरे आउँदा दिनमा लाखौँ किराँत आफ्नो आराध्य देवको दर्शन गर्न आउनेछन् ।

हामीले गर्नु पर्ने कुरा

यसको लागि पदयात्रीलाई पैदल मार्गको उचित प्रवन्ध, घोडा चढेनेलाई घोडाको प्रवन्ध, मोटरमा चढ्न चाहनेलाई, व्यवस्थित मोटरवाटाको प्रवन्ध, तीर्थ यात्री पाहुनाको लागी सुपथ र स्तरीय आश्रम र होटेल लजको व्यवस्था मिलाउन जरुरी हुन्छ । महाशीलालाई प्राकृकि रुपमा आकर्षक श्रृगार गरिनु आवश्यक पर्दछ । महाशीला प्रशिद्ध तीर्थस्थल वन्ने सम्भावना धेरै छ । अहिले देखिनै जिल्ला प्रशासनले पनि यसको महत्वलाई आफ्नो प्रकृयावाट सरकारलाई जानकारी दिन र स्थानीय जन साधारणहरुलाई प्रत्यक्ष र परोक्षरुपमा हुने लाभको वोध गराई समग्र ग्रामिण पर्यटकीय अभियानमा अभिमुख गराउनु जरुरी देखिनछ । अबका दिनमा गाउँपालिकाले योजनवद्ध किसिमले महाशिला लगायत आफ्ना प्राकृतिक सम्पदाको प्रचार प्रसार र बिकास सम्ब्रद्धनमा ध्यान पुर्याउन सक्दा पनि धेरै उपलब्धी हुनेछ ।

महाशिलाको महत्वलाई उजागर गर्न पहिलो प्रयास यहाँकै जन प्रतीनिधि, समाज सेवी बुद्धी जिविको जिम्मिवारिको रुपमा पर्दछ । पहिलो शुरुवात तत्कालीन सात गाबिस लुँखु देउराली, पाखापानी, बालाकोट्, कुर्घा, फलामखानी, भोक्सिङ, होस्राङ्दी र सह्रौंखोला समेतले लुँखु देउरालीमा महायज्ञ लगाए, त्यसबाट उठेको रकमबाट क्याम्पस स्थापना गरी क्याम्पसको नाम महाशिला राखेर महान सुरुवात गरे । शिक्षाको लागी नमुना गाउँ बनाउने स्ंकल्प लिएका छन ।

दोश्रो उपरोक्त गबिसहरुले हाल आएर एकजुट भै महाशिला गाउँ पालिका नाम दिएर दोश्रो दह्रो कदम अगाडी सारेका छन ।स्थानीय तहको निर्वाचन पछी महशिलालाई पर्यटकिय दर्शनीय बनाउन पहल गरी सकेको छ । महाशिला को ५ नम्वर वडाको रुपमा रहेको समग्र लुँखुलाई ईन्टरनेट को पहुँच भित्र गराउँने घोषणा गरिनु पनि यो युग अनुसार सकरात्मक पहल्को रुपम लिनु पर्दछ । गत साउन २०७४ मा पर्वतका सक्रिय साहित्यकार तथा महाशिला गाउँपालिकाका लेखापाल टुकनाथ रेग्मी बेलुरामको एकल लगानीमा १५ किलोग्राम तौलको घण्टा महशिलामा  स्थापना गरेर जनस्तरबाट पनि महाशिलालाई श्रृगार गर्ने असल सुरुवात भै सकेको छ र यो क्रम बढ्दै जानेछ ।

विविध संस्कृतीको संगम महशिला गाउँपालिका

महाशीला गाउँपालिका भुगोलले मात्र होईन सांस्कृतिक रुपमा पनि समृद्ध ठाउँ रहेको छ । लामे, दुक्तान्, लाम्तुन, बालाकोट्, अर्गाउँदी, भोक्सिङ, देउराली खोला जस्ता सुन्दर गुरुङ  गाउँवस्तीहरुको भेषभुषा संस्कृतीको सम्रक्षण र सम्वरधन गर्न सकेमा मानवरहित बन्न थालेको गाउँलाई पुनर्जीवन  मात्र होईन पश्चिमी देशका पर्यटकलाई आकर्षण गर्ने उदाहरणीय आदर्श गाउँमा रुपान्तरण गर्न सकिने छ ।

प्रकृतिको वरदान स्वरुप प्राप्त उपरोक्त संभावाना वोकेको यस भेकको विकासको लागि सकरात्मक सोच वनाई हातेमालो गरी अगाडि वढेमा भविष्यमा शिक्षा स्वास्थ्य, पर्यटनमा ठूलो फड्को मार्नुका साथै यसक्षेत्रमा वन, कृषि तथा पशु विज्ञानका क्षेत्रमा अन्वेषणात्मक अनुसंधान केन्द्रहरुको स्थापना हुने कुरामा समेत कुनै शंका छैन ।

महाशीला दर्शन लागि वैकल्पिक मार्गहरु

यातायातको सन्दर्भमा पोखरावाट पहिलो श्याँजा– नाउँडाँडा–सेतिदोभान–कार्कीनेटा हुदै लुँखुदेउराली, दोश्रो श्याँजा जिल्लाको हेलु–अर्जुनचौपारी हुँदै लुँखु देउराली, तेश्रो श्याँजाकै वालिङ पर्वत हुवास हुदै लुँखु देउराली र यसरीनै पर्वत जिल्लाको सदरमुकाम कुश्मा वजारवाट फलेवास–कुर्घा हुदै लुँखुदेउराली र अर्को कुश्मावाटै कार्कीनेटा भै लुँखुदेउराली पुग्ने वससेवा संचालित भैराखेका छन् । बुटवलबाट वालिङ हुवास भै महाशिला र त्यस्तै बुटवल मिर्मी काली गण्डकी ए जलबिधुतको लागि  निर्मित बिशाल  ७ किलोमिटर लामो जालाशय स्टिमर मार्ग हुँदै सेतीबेणी, तृवेनी हुँदै महाशिलाको दर्शन गर्न पुग्न सकिन्छ ।

तत्कालिन लुँखु देउराली गाविसका नवै वडाहरुलाई ग्रामिण मोटर सडकले जोडेको छ । साथै उत्तर र दक्षिणी भेकका प्रायस् सवै गाविसहरुवाट कच्ची मोटरबाटो आई नौवटा सडकहरुको यहाँ अदुभुत संगम वनेको छ । महाशीलाको दर्शन गर्न चारै तिरवाट आउन सुगम हुदै गएको छ । यसरी भौगोलिक रुपमा पर्वत जिल्लाको दक्षिण भेकको मध्य विन्दुको रुपमा रहेको लुँखुदेउरालीलाई पर्वत जिल्लाको सदरमुकाम कुश्मावाट फलेवास कुर्घा हुदै लुँखुदेउराली सरौंखोला, हुवास, त्रिवेणी सेतीवणी कालो पत्रे वनाउन सके यस भेकले आर्थिक उन्नतीमा फड्को मार्ने छ । आधुनिक विकासको पूर्वधारले पनि अब महाशिला गाउँपालिका केन्द्रविन्दु वन्ने प्रकृयामा अगाडि वढिरहेको छ ।

आर्थिक संकलनको पाटो

महाशीला मात्र होईन यसक्षेत्रमा रहेका चिसापानी देविस्थान, डहरे आदिलाई धौलागिरी, नीलगिरी, माछापुछ्रे समग्र धौलागिरी तथा लुम्विनी अञ्चलको मनोरम भ्यु पोइन्ट र प्याराग्लाइडिङ सेवाको विकास, निर्माण गर्न सकिनेछ । प्रशिद्ध धुँवाकोटको फलामखानीको पुनर्संचालन । लाली गुराँसको वगैचा मनी वसेर सूर्योदय र सूर्यास्तको चित्ताकर्षक दृष्यावलोकनको व्यवस्था, घरघरमा पाहुनाको लागी होमस्टे को व्यवस्था । कालीगण्डकी ए जलविद्युत परियोजनाको  ७ किलोमिटर लामो जलासयको स्टिमर–यात्रा, सेतीवेनीको पवित्र महा–शालिग्रामको दर्शनगर्दै महाशिलाको दर्शको लागि पदयात्रा, चिसापानी देविस्थानको पैदलयात्रा, त्यहाँ पुगेर गरिने दृश्यावलोकन, पौराणिक गोलीहान्ने ढुँगाको दर्शन र पारा–ग्लाइडिड्डले स्वर्गिय आनन्द प्रदान गर्नसकिनेछ ।

पोखरा प्याराग्लाइडिङ ब्यवसायको लागि साँगुरो भएको कुरा आइरहेको समयमा महाशिला गाउँपालिकाका लागी यी चुचुराहरु वरदान हुनेछन । पोखरावाट केवल ७० किलोमिटर पश्चिममा रहेको यस रोमाञ्चक धार्मिक, ऐतिहासिक, प्राकृतिक सम्पदाले भरीपूर्ण क्षेत्रले पोखरापुग्ने जोकोही पाहुनाहरुको निमित्त एउटा अर्को आकर्षक गन्तव्य स्थल वन्नेकुरा निर्विवाद छ । जसवाट सर्वसाधारणको आर्थिक स्थितिमा आमूल परिवर्तन हुनेछ । यसको निमित्त भोलिका दिनमा पैयुँकोट देखी धुवाँकोटसम्म र काली गण्डकिको जलाशाय देखी महाशिला हुँदै चिसापानी देबिस्थानको चुचुरासम्मको एकिकृत पर्यटकिय परियोजना बनाउन आवश्यक छ ।                  by nepal patra news

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १३ गते बिहीबार