वीरेन्द्रनगर ।
कर्णाली प्रदेशमा शुक्रबारदेखि परेको हिमपात र लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ । प्रदेशका उच्च हिमाली जिल्लाहरू डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालीकोटमा हिमपात भएको छ भने तल्लो भू–भागमा वर्षा जारी रहेको छ । यस्तै, सल्यान, जाजरकोट, रुकुम पश्चिम, दैलेख र सुर्खेत जिल्लामा भने भारी वर्षा भएको स्थानीयवासीले जनाएका छन् ।
हिमपात र वर्षासँगै चिसो बढेपछि जनजीवन कष्टकर बनेको हो । ग्रामीण तथा दुर्गम क्षेत्रका बासिन्दाहरू आवतजावतमा समस्या भोगिरहेका छन् भने केही स्थानमा सडक तथा हवाई सेवा समेत प्रभावित भएको जनाइएको छ । विशेषगरी उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण दैनिक गतिविधि प्रभावित भएका छन् ।
तर, लामो समयदेखिको खडेरीका कारण समस्यामा परेका किसानहरूका लागि भने यो वर्षा राहतका रूपमा आएको छ । सिँचाइको अभाव भएका क्षेत्रमा खेतीपाती सुरु गर्न सहज भएको छ भने आकाशे पानीको अभावमा सुक्दै गएका बालीहरू पुनः सप्रिने आशा बढेको किसानहरूले बताएका छन् ।
कृषि विज्ञहरूका अनुसार यो वर्षा गहुँ, जौ लगायतका हिउँदे बालीका लागि लाभदायक हुने देखिएको छ । साथै, माटोमा चिस्यान कायम रहँदा आगामी रोपाइँका लागि समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । मौसमविद्हरूले अझ केही दिन देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।
आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहन र मौसमको अद्यावधिक जानकारी लिन पनि उनीहरूले सर्वसाधारणलाई सुझाव दिएका छन् ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका अधिकांश उच्च क्षेत्रमा हिमपात भएको नाम्खा–६ का वडाअध्यक्ष पाल्जोर तामाङले बताए । उनका अनुसार न्यालु, नारा, लाप्चा क्षेत्रमा धेरै हिमपात भएको छ । लिमीमा पनि हिउँ परेको उनले बताए ।
सिमकोट गाउँपालिका–५ की किसान नानी रोकायाले वर्षाले किसानलाई निक्कै राहत भएको बताइन् । उनले भनिन्, ‘यतिबेलाको वर्षाले खनजोत गर्न सहज बनाएको छ, जौ, उवा र गहुँ जस्ता जेठासीबालीलाई राहत पुगेको छ । त्यसैगरी फलफूलका बोट बिरुवा लगाउन पनि सजिलो भएको छ ।’
यता कालीकोटको पहाडी क्षेत्रमा हिमपात हुन थालेपछि चिसो बढेको छ । डाँडामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको रास्कोट–२ का जंगबहादुर खड्काले बताए । लेकाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेकाले बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू समस्यामा परेको उनको भनाइ छ । कतिपय स्थानमा हिउँसँगै पानी र असिना पर्दा गहुँ बालीमा क्षति पुगेको उनको भनाइ छ ।
असिनाले बेमौसमी तरकारीमा क्षति
हावाहुरीसहित परेको असिना पानीले सल्यानमा तरकारी तथा अन्नबालीमा क्षति गरेको छ । असिनाले कपुरकोट क्षेत्रमा बेमौसमी तरकारी खेती, गहुँ र जौमा ठूलो क्षति गरेको कपुरकोट गाउँपालिका–५ खाली निवासी कृषक भीष्म बुढाले बताए । उनका अनुसार खेतीका लागि तयार गरेको टमाटरको बेर्ना असिनाले नष्ट गरिदिएको छ ।
दुई प्याकेट बीउबाट तयार गरेको बेर्ना असिनाले सखाप पार्नुका साथै लगाइएको गहुँ र जौँ बालीमा पनि करिब ५० प्रतिशत क्षति पुगेको छ ।
साविक रिम क्षेत्रमा अधिकांश किसानको तरकारी ब्याड तथा गहुँ, जौ लगायतका हिउँदे बालीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
कपुरकोट–५ का पूर्ववडाध्यक्ष तथा किसान यामकुमार बस्नेतले बाली भित्र्याउने बेलामा आएको असिनाले गहुँ, जौ सखाप पारिदिएको हो । अब उत्पादन घट्ने भन्दै किसानहरू चिन्तित बनेको उनी बताउँछन् । तर जिल्लाभर कति क्षति भयो भन्ने पूर्ण विवरण संकलन भइरहेको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्