आजदेखि पीएम कप पुरुष राष्ट्रिय क्रिकेट



काठमाडौँ ।

प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै आज शनिबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगिताको विजेताले नगद १० लाख रूपैयाँँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रूपैयाँँ पुरस्कार पाउनेछन् । प्रतियोगिता काठमाडौँको मुलपानी क्रिकेट मैदानसँगै मधेश प्रदेशका पर्सा र जनकपुरमा सञ्चालन हुनेछ । प्रतियोगिताका अधिकांश खेल, फाइनलसहित, मधेश प्रदेशमै हुनेछन् ।

क्यानले सार्वजनिक गरेको तालिकाअनुसार सुरुवाती केही खेल मात्र काठमाडौँस्थित तल्लो र माथिल्लो मुलपानी मैदानमा खेलाइनेछ । सुरुमा त्रिवि क्रिकेट मैदानमा पनि खेल गर्ने योजना रहे पनि लिग–२ क्रिकेटका लागि मैदान स्तरोन्नति गर्नुपर्ने भएकाले त्यहाँका खेलहरू तल्लो मुलपानीमा सारिएको हो । प्रतियोगिता २०८३ साल वैशाख ४ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार