सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार हुनका लागि सल्यानबाट एकल सिफारिस भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ एमाले सल्यानले शाहलाई उम्मेदवार सिफारिस गरेको हो । एमाले सल्यानका अध्यक्ष भीमबहादुर सेनले शाहलाई उम्मेदवार बनाउन सबैको समर्थन भएपछि सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिए ।
उनका अनुसार जिल्ला कमिटीको आठौँ पूर्ण बैठकबाट शाहलाई प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । २०७४ को आम निर्वाचनमा प्रदेशसभा सांसद बनेका शाह २०७९ को निर्वाचनमा भने प्रदेशसभामा पराजित भएका थिए । पार्टीको पोलिटब्युरो सदस्य रहेका शाह पछि प्रदेश अध्यक्ष बनेका थिए ।
जाजरकोटबाट पाँच उम्मेदवार सिफारिस
नेकपा (एमाले) जिल्ला कमिटी जाजरकोटले आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कमिटीको आठौँ बैठकबाट सर्वसम्मत रूपमा पुरुष र महिलातर्फका उम्मेदवारको नाम केन्द्रमा पठाउने निर्णय गरिएको पार्टीका कार्यबाहक अध्यक्ष विश्वबिक्रम शाहले बताए । बैठकले पुरुषतर्फ निरजप्रसाद आचार्य, डम्मरबहादुर सिंह, नारायण घर्ती र गणेश थापाको नाम सिफारिस गरेको छ ।
यस्तै महिलातर्फ कौशिला खत्रीको नाम सिफारिस गरिएको छ । पार्टीभित्र व्यापक छलफलपछि योग्य र संगठनप्रति प्रतिबद्ध व्यक्तिहरूको नाम सिफारिस गरिएको पार्टी जिल्ला कार्यबाहक अध्यक्ष शाहले बताए । ‘पार्टीको नीति, विचार र संगठन मजबुत बनाउने क्षमता भएका नेताहरूलाई सिफारिस गरिएको छ,’ उनले भने ‘जाजरकोटमा एमालेप्रति जनताको भरोसा अझै बलियो छ, निर्वाचनमा त्यसको सकारात्मक परिणाम देखिनेछ ।’
सिफारिस प्रक्रियामा समावेश सबै नेताहरूले पार्टी निर्णयलाई सम्मान गर्दै निर्वाचन तयारीमा जुट्ने उनले बताए । ‘कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम निर्णय केन्द्रले गर्छ,’ उनले भने, ‘तर जाजरकोटबाट बलियो र एकताबद्ध सन्देश पठाइएको छ ।’
सुर्खेतबाट उम्मेदवार सिफारिस
नेकपा एमाले सुर्खेतले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका लागि उम्मेदवार सिफारिस गरेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर–१ बाट ध्रुवकुमार शाही र २ बाट कुलमणि देवकोटाको नाम एकल सिफारिस गरेको हो । एमाले निर्वाचन क्षेत्र समन्वय समितिको शनिवार बसेको पूर्ण बैठकले शाही र देवकोटाको नाममा सर्वसम्मत सिफारिस गरेको प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।
क्षेत्र नम्बर १ बाट सिफारिस शाही एमाले प्रदेश कमिटीका सचिव हुन् । उनी २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए भने २०७९ सालमा पराजित भएका थिए । यही क्षेत्रबाट नेपाली काँग्रेसका कार्यवाहक सभापतिसमेत रहेका पूर्णबहादुर खड्का सिफारिस भएका छन् । काँग्रेसले खड्कालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जीतबहादुर राना यही क्षेत्रबाट उम्मेदवार सिफारिस छन् ।
सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवारमा सिफारिस देवकोटा हाल एमाले सुर्खेतका अध्यक्ष छन् । क्षेत्र नम्बर २ मा काँग्रेसले पूर्वसांसद हृदयराम थानी र युवा नेता नारायण कोइरालासहित ६ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले झकबहादुर मल्ललाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।








प्रतिक्रिया दिनुहोस्