विश्व कविता दिवसः जो कविता लेखेकै कारण मारिए



कविताबारे कवि र विद्वान्हरूका मत फरक फरक छन् । तर उनीहरू सबै कविताले भावनात्मक रूपमा मानिसहरू प्रभावित गर्ने र विचार सम्प्रेषण गर्ने सशक्त माध्यम भएकोमा सहमत छन् । तर कविहरूलाई पनि सत्तामा भएकाहरूले हत्यासम्म गरेका उदाहरणहरू थुप्रै छन् । प्रायः दमनकारी र अभिव्यक्ति स्वतन्त्रता मन नपराउने शासकहरूले आफ्ना विरोधीमाथि निर्मम सजाय दिने गरेका छन् । कविताको शक्तिले सत्तामा बसेका शक्तिशालीहरू पनि डराएर कविहरूमाथि भौतिक कारबाही गरेका र कविहरूको हत्यासम्म गरेका थुप्रै उदाहरणहरू छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

आज विश्व कविता दिवस मनाइँदै छ । दिवसका अवसरमा साहित्यिक समूह तथा संघ संस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँछन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सन् १९९९ मा हरेक वर्ष मार्च २१ मा विश्व कविता दिवस मनाउने निर्णय गरेको थियो । कवितामार्फत भाषिक विविधता प्रवद्र्धन गर्ने, लोपोन्मुख भाषाहरूको संरक्षण गर्ने र विश्वभरका कविहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

यस अवसरमा विश्वभर कविता वाचन, काव्य गोष्ठी, रचनात्मक कार्यशाला र विविध सांस्कृतिक कार्यक्रमहरू गर्ने गरिन्छ । कविताबारे कवि र विद्वान्हरूका मत फरक फरक छन् । तर उनीहरू सबै कविताले भावनात्मक रूपमा मानिसहरू प्रभावित गर्ने र विचार सम्प्रेषण गर्ने सशक्त माध्यम भएकोमा सहमत छन् । तर कविहरूलाई पनि सत्तामा भएकाहरूले हत्यासम्म गरेका उदाहरणहरू थुप्रै छन् ।

प्रायः दमनकारी र अभिव्यक्ति स्वतन्त्रता मन नपराउने शासकहरूले आफ्ना विरोधीमाथि निर्मम सजाय दिने गरेका छन् । कविताको शक्तिले सत्तामा बसेका शक्तिशालीहरू पनि डराएर कविहरूमाथि भौतिक कारबाही गरेका र कविहरूको हत्यासम्म गरेका थुप्रै उदाहरणहरू छन् । आज त्यस्ता केही कविहरूहरूलाई स्मरण गरौँ । उनीहरूका कविताहरू पढौँ ।

नेपालका कृष्ण सेन ‘इच्छुक’ ः जसलाई चरम यातना दिएर मारियो

नेपाली प्रगतिवादी कवि, पत्रकार, लेखक र राजनीतिक व्यक्तित्व कृष्णसेन इच्छुक जनपक्षीय पत्रकारिता, साहित्य र सामाजिक आन्दोलनका एक अग्रणी व्यक्ति थिए । विसं २०१३ मा भारतको देहरादुनमा जन्मिएका इच्छुकको पुख्र्यौली घर नेपालको प्युठान जिल्लामा रहेका इच्छुकले विद्यार्थी जीवनदेखि नै सामाजिक न्याय र समानताका पक्षमा सक्रिय लेखन सुरु गरेका थिए ।

नेपाली प्रगतिवादी कविताको एक प्रमुख कवि इच्छुक पत्रकारितामा पनि उत्तिकै सक्रिय थिए । उनी ‘युगबोध’ र ‘जनादेश’ जस्ता पत्रिकाहरूका सम्पादक थिए । शोकाञ्जली, इतिहासको यस घडीमा, बंदी र चन्द्रागिरि जस्ता कृतिहरू रचना गरेका उनका रचनामा गरिब, श्रमिक, किसान र सामाजिक शोषणविरुद्धको आवाज मुखरित भएर आउने गरेका छन् ।

प्रगतिशील विचारधाराका इच्छुक माओवादी आन्दोलनसँग जोडिएर अखिल नेपाल जनसांस्कृतिक संघको अध्यक्ष, प्रगतिशील लेखक संघका पार्षद्, र माओवादी क्षेत्रीय ब्युरोका सदस्यको भूमिकामा समेत रहे । यसैक्रममा विसं २०५९ जेठ ६ गते प्रहरीले गिरफ्तार गरेर काठमाडौँको महेन्द्र पुलिस क्लबमा लग्यो । त्यसपछि उनलाई हिरासतमा राखेर चरम यातना दिइयो । यातनाकै कारण २०५९ जेठ १३ गते उनको मृत्यु भयो । कवितामार्फत सत्ताविरुद्ध सशक्त अभिव्यक्ति दिँदै आएका इच्छुकको हत्याको घटनालाई नेपालको लोकतन्त्र संघर्षका कालो समयको रूपमा सम्झिइने गरिन्छ ।

इच्छुकको कविता ः प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ

हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि¥याउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।

ओ शासक, प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरंकुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।

उठाइरहन्छौँ हामी तिम्राविरुद्ध संघर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्राविरुद्ध विद्रोहका मुठीहरू
ओ, अत्याचारका पहरेदारहरू !
अन्तिम जीत हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ ।

इतिहासको यस घडीमा
यसबेला केही निस्तेज शिरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई
झन् ठाडो देख्न चाहिरहेछु

यसबेला केही दुर्बल मुठीहरू फुकेर
विनीत भावले जुम्लेहात जोडिरहेछन्
म तिम्रो बज्र मुठीलाई
झन् सबल देख्न चाहिरहेछु

यसबेला केही थकित पाइलाहरू गलेर
माझ बिसौनीमै बास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरूलाई
झन् अग्रसर देख्न चाहिरहेछु

यसबेला केही कर्णकटु स्वरहरू काँपेर
प्रशस्ति वाचन गरिरहेछन्
म तिम्रो प्रखर वाणीमा
युगको हुंकार सुन्न चाहिरहेछु

व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए मेरो युगको तरुण नायक !
यसबेला मैले कविता लेखूँ–नलेखूँ केही फरक पर्दैन
तर तिम्रो आँधी–बेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस संक्रमणशील घडीमा
भोको पेटमा ऊर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्र पुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेँदीमा रातै लालीगुराँस
तिमी भने यो फँेदीमै अलमलिनु हुन्न ।

चिलीका पाब्लो नेरुदाः राजनीतिक हत्या भएको आशंकामा अनुसन्धान जारी

चिलीका प्रसिद्ध कवि पाब्लो नेरुदा सरल भाषामा गहिरो तथा संवेदनशील कविता लेख्थे । उनका कवितामा प्रेम, प्रकृति, राजनीति, सामाजिक न्याय र मानवतावादमा केन्द्रित भावको प्रधानता छ । सानो उमेरमै कवितामा आफ्नो पहिचान बनाएका उनको पहिलो प्रकाशन १३ वर्षको उमेरमै भएको थियो । २० वर्ष नपुग्दै उनको पहिलो अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको ‘ट्वेन्टी लभ पोयम एण्ड अ सङ अफ डिस्पेयर’ प्रकाशित भएको थियो ।

उक्त कृति संग्रह विश्वभर दुई करोडभन्दा बढी प्रति बिक्री भइसकेको बताइन्छ । उनले बर्मामा कन्सुलरको रूपमा काम गरेका थिए । बर्मामा रहँदा राजनीतिक चेतना विकास गरे र युरोपमा त्यही पदमा खटिएका बेला उनको कम्युनिष्ट विचारधारासँग निकटता सार्वजनिक भयो । उनी आफ्नो जीवनभर राजनीतिक रूपमा सक्रिय रहिरहे । त्यहीबीचमा चिलीमा सेनाको तानाशाही शासन सुरु भयो ।

नेरुदाले उक्त साशनको चर्काे विरोध गरे । तर, सन् १९७३ मा ६९ वर्षको उमेरमा उनको निधन भयो । त्यतिबेला उनको मृत्युको कारण प्रोस्टेट क्यान्सर देखाइएको थियो । तर पछिल्ला वर्षहरूमा भएका अध्ययनले उनलाई विष खुवाएर मारिएको आशंकालाई बल पुर्याएको छ ।अन्तर्राष्ट्रिय विज्ञहरूले गरेको फरेन्सिक जाँचले पाब्लोलाई सैन्य शासकले मन्द विषय दिएको देखिएको छ । उनको मृत्यु भएको ५३ वर्षपछि पनि उनको मृत्युबारे अनुसन्धान हुँदैछ ।

स्पेनका फेडेरिको गार्सिया लोर्का ः फासिस्ट सेनाले मारेका कवि

फेडेरिको गार्सिया लोर्का स्पेनका प्रमुख कवि र नाटककार हुन् । लोर्का २०औँ शताब्दीको साहित्यमा गहिरो छाप छाडेका साहित्यकार हुन् । सन् १९०० मा जन्मेका उनी विशेषगरी कविता, लघुकथा र नाटकमार्फत सामाजिक असमानता, प्रेम, राष्ट्रियता र व्यक्तिगत स्वतन्त्रताको विषयमा लेख्थे साहित्यकार थिए ।

लोर्काको राजनीतिक रूपमा अस्थिर समयमा कविता लेखिरहेका थिए । स्पेनमा गृहयुद्ध सुरु हुनुअघि उनी प्रजातान्त्रिक विचार र सांस्कृतिक स्वतन्त्रताका समर्थक थिए । १९३६ मा ३६ वर्षको उमेरमा फासिस्ट सैन्यकर्मीहरूले उनलाई गिरफ्तार गरे र तुरुन्तै हत्या गरे । लोर्काको हत्या केवल व्यक्तिगत कारणका लागि नभई, राजनीतिक विचार र कला साहित्यमार्फत उनको अभिव्यक्तिका कारण भएको मानिन्छ । लोर्काको मृत्युले स्पेन र विश्व साहित्यलाई तरंगित पारेको थियो । उनी आज पनि साहित्य र सामाजिक स्वतन्त्रताको प्रतीकको रूपमा सम्झिइन्छन् ।

नाइजेरियाका केन सारो विवा ः फाँसी दिइएका कवि

नाइजेरियाका लेखक, पत्रकार र मानवअधिकार अभियन्ता केन सारो विवा विशेषगरी आफ्नो जातीय समूह ओगोनी र नाइजेरियाको दक्षिणी तेल क्षेत्रमा पर्यावरणीय र सामाजिक अन्यायविरुद्धको आन्दोलनमा सक्रिय थिए । विवाले तेल कम्पनीहरू र सरकारद्वारा ओगोनी भूमिमा भइरहेको विनाशकारी तेल उत्खनन र प्रदूषणका विरुद्ध आवाज उठाइरहेका थिए । उनको लेखन, भाषण र आन्दोलनले विश्वव्यापी ध्यान खिचिरहेको थियो । तर यसले नाइजेरियाको सैन्य सरकारले त्यसलाई पचाएन ।

सैन्य सरकारले सन् १९९५ मा अन्य ८ जना ओगोनी अधिकारकर्मीहरूसहित विवालाई झूटा आरोपमा मृत्यु दण्ड दिइयो । उनलाई निष्पक्ष परीक्षणबिना फाँसी दिइएको थियो । उनको मृत्युले विश्वभर ठूलो निन्दा र विरोध उत्पन्न ग¥यो र मानवअधिकार संरक्षणमा महत्वपूर्ण चेतना जगायो । उनको लेखन र आन्दोलन आज पनि सामाजिक न्याय, पर्यावरणीय अधिकार, र लेखक साहित्यकारको साहसको प्रतीकको रूपमा सम्झिइन्छ ।

रूसका ओसिप मेन्डेल्स्टम ः स्टालिनविरोधी भनेर मारिएका कवि

रूसका प्रमुख कविमध्ये एक ओसिप मेन्डेल्स्टम २०औँ शताब्दीको आधुनिक रूसी साहित्यका एक महत्वपूर्ण व्यक्तित्व हुन् । प्रगतिशील र राजनीतिक रूपले संवेदनशील कविको परिचय बनाएका उनका कवितामा रूसी परम्परा, व्यक्तिगत भावना र सामाजिक–राजनीतिक विषयको सम्मीश्रण पाइन्छ ।

अमेमिस्ट कविता आन्दोलनका अग्रणी कविहरूमध्ये एक मेन्डेल्स्टमले आफ्नो कवितामार्फत् जोसेफ स्टालिन र उनको सरकारको आलोचना गरेका थिए । १९३४ मा उनले स्टालिनविरोधी कविता लेखेपछि उनलाई गिरफ्तार गरियो । त्यसपछि प्रहरी हिरासतमा राखिएर चरम यातना दिइयो र १९३८ मा तुर्कमेनिस्तानको श्रमशिविरमा उनको मृत्यु भयो ।

सोभियतमा कविहरूको हत्या गरिएको रात

१९ अगस्त १९५२ मा सोभियत युनियनमा एउटा यस्तो घटना घट्यो, जहाँ एकैरात १३ जना यहूदी साहित्यकार, कवि, लेखक, र बौद्धिक व्यक्तिहरूलाई गिरफ्तार गरेर फाँसी दिइएको थियो । सोभियत युनियन हाल रुसको मस्कोमा भएको उक्त घटनामा मारिएकाहरूलाई ‘सञ्चारविरोधी’ र ‘राष्ट्रविरोधी’ आरोपमा दोषी ठहर गरिएको थियो ।

पक्राउ परेकाहरूमा कवि, लेखक र पत्रकारहरूलाई झूटा प्रमाण र अत्यधिक राजनीतिक दबाबमा दोषी ठहर गरिएको थियो । उक्त घटनामा मारिने कविहरूमा पेरेज मार्किश, डभिड हफस्टिन, इजिक फेजर, लेब केभिको, डेभिड बर्गेल्शनलगायत थिए । यो घटना सोभियत युनियनमा सांस्कृतिक र साहित्यिक दमनको प्रतीकको रूपमा दर्ज छ । पछि सोभियत युनियनको पतनपछि उनीहरूलाई ‘पोस्टह्युमस’ रिहाइ र सम्मान दिइएको थियो ।

गाजामा मारिएका कविहरू

सन् २०२३ पछि गाजामा इजरायली आक्रमणबाट पनि प्रसिद्ध कविहरू मारिएका छन् । जसमा ‘इफ आइ मस्ट डाइ’ जस्ता कविता लेख्ने रेफात अलारिर, ‘आइ ग्रान्ट यु रेफ्युजी’ जस्तो कविता लेख्ने हिवा अबु नदा र सलिम अल नफरजस्ता कविहरू प्रमुख छन् । त्यसमध्ये अलारिरलाई निशानामा पारेर मारिएको थियो भने नदा एयरस्ट्राइकमा परेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार