भूमिका श्रेष्ठ बनिन् सांसद बन्ने पहिलो पारलिंगी महिला



श्रेष्ठले लिंग परिवर्तन गरी महिलाको नाममा नागरिकता पाएकी हुन् । सन् २०१५ सालमा ‘अन्य’ भनि लिंग वर्णन गरिएको राहदानी लिएर विदेश भ्रमण गर्ने पहिलो नेपाली बनेकी भूमिका श्रेष्ठ देशमा समलिंगी र तेस्रो लिंगी लगायतकाहरूको हक अधिकारका लागि वकालत गर्दै आएकी छन्। २०७७ सालमा सरकारले तेस्रो लिंगी भूमिका श्रेष्ठको नाम र लिंग परिवर्तन गर्न स्वीकृति दिएको दिएको थियो ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट तेस्रो लिंगी भूमिका श्रेष्ठलाई संसद्मा पु¥याएको छ । यससँगै नेपालको नीति निर्माणको सर्वाेच्च अंग संघीय संसद्मा पहिलोपटक तेस्रो लिंगी महिलाको प्रतिनिधित्व भएको छ । यसअघि तेस्रो लिंगी समुदायबाट पहिलो संविधानसभामा सुनिलबाबु पन्त चुनिएका थिए । पन्त तेस्रो लिंगी पुरुष हुन् । भूमिकालाई रास्वपाले भने आदिवासी जनजाति क्लष्टरबाट आयोगमा सिफारिस गरेको थियो ।

श्रेष्ठले लिंग परिवर्तन गरी महिलाको नाममा नागरिकता पाएकी हुन् । सन् २०१५ सालमा ‘अन्य’ भनि लिंग वर्णन गरिएको राहदानी लिएर विदेश भ्रमण गर्ने पहिलो नेपाली बनेकी भूमिका श्रेष्ठ देशमा समलिंगी र तेस्रो लिंगी लगायतकाहरूको हक अधिकारका लागि वकालत गर्दै आएकी छन्। २०७७ सालमा सरकारले तेस्रो लिंगी भूमिका श्रेष्ठको नाम र लिंग परिवर्तन गर्न स्वीकृति दिएको दिएको थियो ।

जन्मको बेला पुरुष ठानिएकी भूमिकाले कैलाश श्रेष्ठको नामबाट २०६२ सालमा लिंगको विवरणमा पुरुष राखेर काठमाडौँबाट नागरिकता लिएकी थिइन् । तेस्रो लिंगको विवरण राखेर नागरिकता नपाइने त्यसबेलाको व्यवस्थाविरुद्ध सर्वाेच्चमा रिट दायर भएको थियो । अदालतको आदेशका आधारमा गृह मन्त्रालयले महिला र पुरुषबाहेक अन्य व्यक्तिलाई पनि नागरिकता उपलब्ध गराउन परिपत्र पठाएको थियो । त्यसपछि भूमिकाले नाम र लिंग परिवर्तन गर्दै अन्यबाट महिलाको नागरिकता लिएकी थिइन् ।

२२ वर्षअघि १७ वर्षको उम्मेरमा ‘ब्लु डाइमन्ड सोसाइटी’मा संलग्न भएकी श्रेष्ठले उक्त संस्थामार्फत आफ्नो समुदायको हकअधिकारका लागि आवाज उठाउँदै आएकी छन् । श्रेष्ठ सन् २००८ मा नेपाली काँग्रेसको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेकी थिइन् । यसपटक रास्वपामा आबद्ध भएकी उनलाई पार्टीले समानुपातिकबाट सांसद बनाएको हो ।

११ वर्षको हुँदा आफू अरुभन्दा फरक छु भन्ने थाहा पाएको बताउने श्रेष्ठ सुरुमा आफ्नो पहिचान स्वकार्न आफैँलाई गाह्रो भएको बताउँछिन् । परिवारले पनि आफूलाई साथ दिएकोले सफल भएको उनले बताउने गरेकी छिन् । श्रेष्ठलाई अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार २०२२ पनि प्राप्त गरेकी थिइन् ।

अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कार आफ्नो जीवन नै जोखिममा राखेर आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउनका लागि उल्लेखनीय साहस, आँट र नेतृत्वको प्रदर्शन गर्ने महिलाहरूलाई प्रदान गर्दै आएको छ । उक्त पुरस्कार सन् २०२१ मा एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनले पाएकी थिइन् ।

‘भूमिकाको महिला कोटाबाट संसद् प्रवेशले बहस माग गर्छ’ 

तेस्रो लिंगी समुदायको अधिकारको लागि अभियान चलाउँदै आएका संविधानसभा सदस्य सुनिलबाबु पन्तले भूमिकाको संसद् प्रवेशको खबरले ऐतिहासिक क्षण सिर्जना भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक पेजमा आफ्नो धारणा सार्वजनिक गर्दै संविधानसभामा एसियाकै पहिलो समलिङ्गी सभासद्का रूपमा आफू सहभागी भएको र अब उक्त समुदायबाट अर्को प्रतिनिधि संसद्मा पुग्नु सकारात्मक र स्वागतयोग्य विकास भएको बताएका छन् ।

‘भूमिका योग्य, सक्रिय र लामो समयदेखि समुदायको आवाज उठाउँदै आएकी अभियन्ता हुनुहुन्छ । त्यसका लागि उहाँलाई बधाई र सफल कार्यकालको शुभकामना,’ उनले भनेका छन् । यसका साथै भूमिकाको संसद्मा सहभागीता हुँदा महिला कोटाबाट भएकोमा भने उनले अन्य समूहबाटै सहभागिता हुनुपर्ने धारणा राखेका छन् । उनले भूमिकाको संसद् प्रवेशले ‘महिला को हुन् ?’ भन्ने बहस पनि माग गरेको धारणा छ ।

पन्तको उक्त स्टाटसको सम्पादित अंश 

‘उहाँ (भूमिका) जन्मँदा छोराको रूपमा जन्म दर्ता भयो । प्रारम्भिक नागरिकतामा पनि ‘पुरुष’ उल्लेख थियो । पछि उहाँले नागरिकतामा तेस्रो लिंगी (अन्य) पहिचान प्राप्त गर्नुभयो र अन्तर्राष्ट्रिय यात्रामा पनि ‘तेस्रो लिंगी’ पहिचानसहित यात्रा गर्ने पहिलो नेपाली बन्नुभयो । तर पछिल्ला वर्षहरूमा उहाँले आफूलाई ‘म तेस्रा लिङ्गी होइन बरु पूर्ण महिला हँु’ भनेर महिला पहिचान गर्नु थाल्नु भयो र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडको सहयोगमा मन्त्रीपरिषद्को निर्णयद्वारा नागरिकता संशोधन गरी ‘महिला’को नागरिकता लिन सफल हुनुभयो ।

यही कारणले उहाँ अहिले संसद्मा महिला कोटाबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ । उहाँले रास्वपाको चुनावी अभियानमा भने आफूलाई तेस्रो लिङ्गी नै भनेर चुनाव प्रचार गर्नु भएको पाइएको छ । त्यसकारण भूमिका श्रेष्ठ सांसद बन्नु व्यक्तिगत रूपमा गौरवको विषय हो । तर यसले केही महत्वपूर्ण सार्वजनिक प्रश्नहरू पनि उठाएको छ ।

महिला को हुन् ? जन्मँदै–हुर्कँदै महिला भएका व्यक्ति ? वा छोरा जन्मेका तर पछि आफूलाई महिला घोषणा गर्ने व्यक्ति ?

यदि जन्मँदा छोरा भएका धेरै व्यक्तिहरू महिलाको पहिचान लिएर संसद्, सरकारी सेवा, सेना, खेलकुद जस्ता क्षेत्रमा महिला कोटाबाट प्रतिनिधित्व गर्न थाले भने त्यसको दीर्घकालीन प्रभाव के हुन्छ ?

तेस्रो लिंगी (वा पारलिंगी) पहिचान भएका व्यक्तिहरूले महिलाको ठाउँ लिने कि आफ्नै प्रतिनिधित्वको ठाउँ बनाउने ?

आफ्नै पहिचानको प्रतिनिधित्व किन नगर्ने ?

यदि भूमिका श्रेष्ठजस्ता व्यक्तिहरू वास्तवमै लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधि हुन् भने उनीहरूले महिलाको कोटाबाट होइन, तेस्रो लिंगी समुदायको प्रतिनिधित्वबाट संसद्मा जानु हुँदैन र ? यसरी महिला (वा पुरुष)को पहिचान नभई आफ्नै लैङ्गिक पहिचान लिएर गएको भए यसले समुदायको स्वतन्त्र राजनीतिक पहिचान निर्माण गर्न मद्दत गथ्र्यो । साथै, तेस्रो लिंगी व्यक्तिहरूको विशेष अधिकार र नीतिगत सवाल संसद्मा स्पष्ट रूपमा उठ्न सक्थ्यो साथै महिलाको प्रतिनिधित्व र लैङ्गिक अल्पसंख्यक प्रतिनिधित्वबीच अनावश्यक टकराव हुने थिएन प्रतिनिधित्व र अधिकारलाई लिएर ।

आज हाम्रो समुदायभित्र दुई धार देखिन्छ । पहिलो धार, हामी महिला वा पुरुषभन्दा फरक तृतीय प्रकृति हौँ, नागरिकतामा ‘अन्य’ उल्लेख हुनु उचित हुन्छ भन्ने । दोस्रो धार, हामी वास्तवमा महिला वा पुरुष नै हौँ, जन्मको शरीर गलत भएको मात्रै हो, हाम्रो आत्मा वा अनुभूति जे छ तेसैको आधारमा नागरिकता पाउनु पर्छ भन्ने । यसमा नयाँ हाङ्गा पनि पलाएको छ जस्ले भन्छ हामी त ‘लैङ्गिक तरल व्यक्तिहरू हौँ, हाम्रो लैङ्गिक पहिचान परिवर्तन भैरहन्छ । अब भने यी दुई दर्शनबीचको द्वन्द्व केवल समुदायभित्र सीमित रहने छैन । भूमिका श्रेष्ठको संसद् प्रवेशसँगै यो बहस अब राष्ट्रिय संसद्सम्म पुगेको छ ।

यो विषय अत्यन्त संवेदनशील छ । कसैको व्यक्तिगत पहिचानमाथि आक्रमण गर्नु, गालीगलौज गर्नु, वा फरक विचार राख्नेलाई ‘ट्रान्सफोविक’ भन्दै बहिष्कार गर्नु समाधान होइन । वास्तवमा आवश्यक कुरा भनेको खुला, तथ्यमा आधारित र सम्मानजनक बहस हो । यो बहसमा संसद्, नीति निर्माण तह, मानव अधिकार क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, राज्यका सबै निकाय, सेना, पुलिस, लोक सेवा, खेलकुद, नागरिक समाज, सञ्चार क्षेत्र सबै सहभागी हुनुपर्छ ।

अन्तिम कुरा भूमिका श्रेष्ठको सांसद बन्ने यात्रा स्वागतयोग्य छ । तर यसले एउटा ठूलो वैचारिक बहसलाई राष्ट्रिय मञ्चमा ल्याएको छ । भूमिकाले ‘आफूले सोचेको जस्तो’ व्यक्तिगत पहिचान र व्यक्तिगत अधिकारको कुरा गरेर मात्र हुँदैन । समग्र महिला, पुरुष, तेस्रो लिङ्गी, समग्र समाज र राज्यको दीर्घकालीन हितमा कुरा उठाउनु पर्ने हुन्छ । त्यसकारण प्रश्न केवल एउटा व्यक्तिको होइन—महिला को हुन् ? लैङ्गिक पहिचान कसरी निर्धारण हुन्छ ? र लैङ्गिक अल्पसंख्यक समुदायले आफ्नै राजनीतिक स्थान कसरी निर्माण गर्छ ? यी प्रश्नहरूको उत्तर खोज्ने जिम्मेवारी अब संसद्, राजनीतिक दल, नागरिक समाज र यो समुदाय सबैको साझा दायित्व बनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार