नन्दराम जैशी । सुर्खेत ।
भोलि फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका सबै निर्वाचन बुथ तयारी अवस्थामा छन् । निर्वाचनको सम्पूर्ण अन्तिम तयारी पूरा भएपछि कर्णालीका दुई हजार ३७८ वटै निर्वाचन बुथ चुनाव गराउन तयारी अवस्थामा रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार सबै निर्वाचन बुथमा बिहीबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुने अपेक्षा गरिएको छ ।
कर्णालीका १० जिल्लामा ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र गरी कूल दुई हजार ३७८ वटा निर्वाचन बुथ निर्धारण गरिएको छ । सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मीको टोली सुरक्षित रूपमा पुगिसकेको छ । आवश्यक मतपत्र, मतपेटिका, मतदान अधिकृतका सामग्री तथा अन्य प्राविधिक सामग्रीहरू पनि सुरक्षित रूपमा ढुवानी गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाइएको छ ।
प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले मतदान प्रक्रिया सहज, व्यवस्थित र पारदर्शी बनाउन आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइएको जानकारी दिए । उनका अनुसार सुरक्षासहित निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास लिइएको छ । संयुक्त सुरक्षा गस्ती, मतदान केन्द्रको स्थलगत निरीक्षण तथा संवेदनशील क्षेत्र पहिचान गरी रणनीति योजना कार्यान्वयनमा ल्याइएको उनले बताए ।
सबै मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतलगायत कर्मचारीले सरोकारवाला निकायसँग सर्वदलीय, सर्वपक्षीय बैठक बस्ने काम जारी राखेका छन् भने निर्वाचन सामग्रीको सुरक्षा व्यवस्थासमेत कडा गरिएको छ । सुरक्षाको दृष्टिले कर्णालीका ३५९ मतदानस्थल अतिसंवेदनशील, ४२२ संवेदनशील र १६० सामान्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार एक हजार ४५५ मतदान केन्द्रमध्ये ४४६ अतिसंवेदनशील, ६९७ संवेदनशील र २८४ सामान्य रहेका छन् । प्रदेशमा ५२५ मतदानस्थलमा एक मात्र मतदान केन्द्र, ३५३ स्थलमा दुई, ४९ स्थलमा तीन, १२ स्थलमा चार, एक–एक स्थलमा पाँच र ६ वटा केन्द्र रहेका छन् । १८ अस्थायी मतदानस्थल पनि कायम गरिएको छ ।
कर्णालीमा यस पटक कूल १० लाख ३७ हजार २५० मतदाता रहेका छन् । तीमध्ये पाँच लाख २७ हजार ६८६ पुरुष, पाँच लाख ९ हजार ३६१ महिला र अन्य तीन जना छन् । गत २०७९ को निर्वाचनको तुलनामा एक लाख २८ हजार ८१७ मतदाता थपिएका हुन् । जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता सुर्खेतमा दुई लाख ४८ हजार ९४३ रहेका छन् भने सबैभन्दा कम डोल्पामा २४ हजार ११५ छन् ।
दैलेखमा एक लाख ६१ हजार २०४, जाजरकोटमा एक लाख ७० हजार ९१, सल्यानमा एक लाख ६२ हजार ४४९, रुकुम पश्चिममा एक लाख ६ हजार ६६०, कालीकोटमा ८४ हजार ६४६, जुम्लामा ७१ हजार ७३९, मुगुमा ३६ हजार ६१ र हुम्लामा ३४ हजार ३२७ मतदाता रहेका छन् ।
कर्णालीमा १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
सुर्खेत र दैलेखमा दुई–दुई तथा अन्य आठ जिल्लामा एक–एक निर्वाचन क्षेत्र कायम गरिएको छ । ५४ गाउँपालिका र २५ नगरपालिका रहेको कर्णालीमा भोलिको मतदानलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन सबै निकाय सक्रिय रहेका छन् ।
हेलिमार्फत पुग्यो निर्वाचन सामग्री
भौगोलिक विकटताका कारण हुम्लाका चार र डोल्पा का २३ मतदानस्थल तथा केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री हेलिकप्टरमार्फत पठाइएको छ । अन्य अधिकांश स्थानमा स्थलमार्ग हुँदै सवारीसाधनबाट सामग्री ढुवानी गरिएको छ । हुम्लाको नाम्खा गाउँपालिका–४ चाला र वडा नं–६ लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत कर्मचारी र सामग्री पु¥याइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले जानकारी दिए ।
ती चार मतदान केन्द्रमा खटिएका १०२ कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई पैदल आवतजावत असहज हुने भएकाले हेलिकप्टर प्रयोग गरिएको हो । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार आयोगको स्वीकृतिपछि नाम्खा गाउँपालिकाका चार मतदान केन्द्रमा मतपत्रलगायत सामग्री ढुवानी सम्पन्न भएको छ । लिमी क्षेत्रका हल्जी, जाङ, तील र चाला मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरेको छ । ती केन्द्रमा क्रमश ः २९३, २४७, १३२ र १५९ मतदाता रहेका छन् ।
यस्तै डोल्पाका २३ मतदान केन्द्रमा पनि हेलिकप्टरमार्फत कर्मचारी र सामग्री पु¥याइएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन् । जिल्लाभर ७० मतदान केन्द्रमा ३८३ कर्मचारी खटाइएको उनले बताइन् । डोल्पामा कूल २४ हजार ११५ मतदाता रहेका छन् । हुम्ला र डोल्पामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ ।
मौनअवधिको पालना गर्न अनुरोध
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौनअवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । फागुन १८ गते राति १२ः०० बजेपश्चात् सुरु भएको मौनअवधिमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पालना गर्न कर्णाली प्रदेशका जिल्लास्थित जिल्ला प्रशासन कार्यालयलेहरूले अनुरोध गरेका छन् । दलका उम्मेदवार र भ्रातृ संगठनलगायत सम्बन्धित सबैलाई आग्रह गरिएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित, मितव्ययी र पारदर्शी बनाउन र आचारसंहिताविपरीत गतिविधि नगर्न अनुरोध गरिएको निर्वाचन आचारसंहित अनुगमन अधिकृत एवं जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जानकारी दिए ।
सो अवधिमा निर्वाचन प्रचासप्रसारलगायत सभा, सम्मेलन, गोष्ठी, अन्तक्र्रिया, कार्यशाला नगर्न र मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दलका उम्मेदवारका प्रचार सामग्री हटाउन पनि अनुरोध गरिएको छ ।
कुनै पनि विधि, प्रक्रिया एवं माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुनेलगायत सातबुँदे आचारण पालन गर्न पनि आग्रह गरिएको निर्वाचन अनुगमन अधिकृत कार्कीले बताए । उनका अनुसार निर्वाचन प्रसारप्रसारमा अवाञ्छित गतिविधि भएको पाइएको छैन । तर यसबारे सर्तकता अपनाइएको छ ।
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा खटाइएको जानकारी दिए ।
उनका अनुसार मतदानस्थलमा पुगेका मतदान अधिकृतको टोलीले सोमबार निर्वाचनसम्बन्धी सूचना टाँस गरेको छ । प्रदेशका नौ जिल्लाका प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्रमा १७ लाख १६ हजार ६६० मतदाता रहेका भट्टले जानकारी दिए । उनका अनुसार प्रदेशभरि एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्