खासगरी रोजगारीका लागि पुगेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयले नेपाल सरकार र वैदेशिक रोजगारीमा रहेका आफन्तको टाउको दुखाइ भएको छ । आइतबार पनि संयुक्त अरब इमिरेट्स (युएई) र कतारका केही क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

काठमाडौँ ।
अमेरिका र इजरायलको योजनाबमोजिम इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिए पनि मध्यपूर्वको तनाव कसरी साम्य हुन्छ भन्ने त्रास कायमै छ । खामेनीसँगै इरानका रक्षामन्त्री र सेना प्रमुख पनि मारिएको इरानी सरकारी टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यमहरूले आइतबार पुष्टि गरेका छन् । इरानका सर्वोच्च नेता मारिएपछि इरानले खाडीका विभिन्न मुलुकमा आक्रमण जारी राखेकाले तनाव लम्बिन सक्ने अनुमान गरिएको छ ।
८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेतृत्वमा थिए । खामेनी मारिएपछि विश्व विभाजित भएको छ । अमेरिका, इजरायल र इरानको आक्रमणस्थल वरिपरिका मुलुकमा करिब १८ लाख नेपाली रोजगारीका लागि रहेकाले त्यहाँको असर नेपालसम्म परेको छ । खासगरी रोजगारीका लागि पुगेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयले नेपाल सरकार र वैदेशिक रोजगारीमा रहेका आफन्तको टाउको दुखाइ भएको छ ।
आइतबार पनि संयुक्त अरब इमिरेट्स (युएई) र कतारका केही क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । खाडीको तनाव लम्बिँदै गए नेपालको आन्तरिक श्रम बजारमा समेत दबाब पर्ने अर्थविद्हरू बताउँछन् । यसले अन्ततः विप्रेषणको भरमा टिकेको नेपाली अर्थतन्त्र धराशायी हुनसक्ने खतरा छ । एकातिर नेपालका युवाशक्ति द्वन्द्वको मारमा पर्नसक्ने र अर्कोतर्फ अर्थतन्त्र प्रभावित हुने जोखिमले नेपालका लागि संकट देखा परेको छ ।
आपत्कालीन उद्धार संयन्त्र गठन
मध्यपूवर्वमा तनाव बढ्दै गएको खण्डमा नेपालीलाई सुरक्षित राख्न सरकारले मुख्य सचिवको संयोजकत्वमा आपत्कालीन उद्धार समूह गठन प्रक्रिया अघि बढाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव अमृत राईको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्क्यू टिम’ बनाउने तयारी गरिएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै कन्सुलर सेवा विभागमार्फत २४सै घण्टा सञ्चालन हुने हटलाइन स्थापना गर्ने निर्णय सरकारले गरेको छ ।
मन्त्रालयका अनुसार हालको परिस्थितिमा नेपालीहरू भिसा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिँदा, काठमाडौँबाट उडान गरेपछि मध्यपूर्वी विमानस्थलमा अलपत्र पर्दा, ट्रान्जिटका क्रममा मध्यपूर्वका विमानस्थलमा रोकिँदा तथा गन्तव्य मुलुकमै रोजगारी वा बसोबास गरिरहेका नेपाली समस्यामा पर्नसक्ने सम्भावना छ ।
परराष्ट्र मन्त्रालयअन्तर्गत सेन्ट्रल एसिया, पश्चिम एसिया र अफ्रिका डिभिजनका प्रमुख तथा सहसचिव रामकाजी खड्काले तनावग्रस्त मुलुकमा रहेका नेपालीलाई सुरक्षित राख्न ती देशमा रहेका दूतावास र नियोगमार्फत निरन्तर समन्वय भइरहेको बताए । ‘सूचना आदानप्रदानलाई तीव्र बनाउन सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्पर्क राखिएको छ,’ खड्काले भने ।
१२ मुलुकमा श्रम स्वीकृति स्थगित
यसैबीच सरकारले मध्यपूर्व र खाडी क्षेत्रमा विकसित असहज परिस्थितिलाई मध्यनजर गर्दै ती देशहरूमा रोजगारीका लागि जाने नेपालीलाई दिइने श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको छ । श्रम स्वीकृति नलिएर कुनै पनि नेपाली वैदेशिक रोजगारीमा जान पाइँदैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार निर्णय सार्वजनिक गर्दै व्यक्तिगत र संस्थागत श्रम स्वीकृति अर्को निर्णय नहुँदासम्म रोक लगाइएको मातहतका निकायलाई जानकारी गराएको छ ।
सोही निर्णयअनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जान श्रम स्वीकृृति बन्द गरिएको छ । मन्त्रालयका अनुसार यो निर्णय फागुन १७ गतेदेखि लागू गरिएको छ ।
अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त
मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान तालिका पनि अस्तव्यस्त बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ती मुलुक जाने उडान स्थिगित हुँदा चार हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले काठमाडौँबाट खाडी क्षेत्रतर्फ जाने अधिकांश उडान रोकिएको जानकारी दिए । नेपाल एयरलाइन्स, कतार एयरवेज, एयर अरेयिबा, हिमालय एयरलाइन्सका धेरै यात्रु प्रभावित भएका छन् ।
युएईमा एक नेपाली मारिए
इरानबाट प्रहार गरिएको क्षेप्यास्त्र आक्रमणमा संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार उक्त हमलामा हालसम्म तीन जनाको ज्यान गएको छ । मृतकमध्ये एक नेपाली, एक पाकिस्तानी र एक बंगलादेशी नागरिक रहेका छन् । घटनामा ५८ जना घाइते भएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्