मध्यपूर्व तथा खाडीका १२ देशमा श्रम स्वीकृति स्थगित



मध्यपूर्व तथा खाडी क्षेत्रका १२ देशमा तत्काललाई श्रम स्वीकृति स्थगित गरिएको छ । पछिल्लो समय उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले ती क्षेत्रका देशहरूमा वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको हो ।

श्रम स्वीकृति स्थगित गरिएका देशहरुमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनन, टर्की र इसरायल रहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित विभाग तथा मातहतका कार्यालयबाट प्रदान गरिने व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन निर्देशन दिएको जानकारी दिएको हो ।

सरकारले हालको परिस्थितिमा नेपाली कामदारको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै यो कदम चालिएको स्पष्ट पारेको छ । अवस्था सामान्य भएपछि पुनः निर्णय गरिने मन्त्रालयको भनाइ छ ।

उक्त निर्णयले मध्यपूर्व तथा खाडी क्षेत्रका साथै केही अन्य प्रभावित देशहरूमा जान चाहने कामदारहरू प्रभावित हुने भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार