मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकता छ : परराष्ट्र मन्त्रालय



नेपाल सरकारले मध्यपूर्वी देशहरूमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै विकसित पछिल्लो घटनाक्रमपछि त्यहाँ रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राखिएको जानकारी दिएको हो ।

मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले मन्त्रालयले संकट व्यवस्थापनका लागि मध्यपूर्वस्थित नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई समेटेर ह्वाट्सएप ग्रुप बनाएको जानकारी दिए ।

उक्त ग्रुपमार्फत प्रत्येक देशको ताजा सुरक्षा अवस्था, सरकारी निर्णय, सम्भावित जोखिम तथा नेपाली नागरिकले भोगिरहेका समस्या सम्बन्धी अद्यावधिक जानकारी आदान–प्रदान भइरहेको सहसचिव खड्काले जानकारी दिएका छन् ।

सम्भावित उद्धारको तयारीस्वरूप मन्त्रालयले कन्सुलर सेवा विभागलाई मध्यपूर्वमा रहेका नेपाली नागरिकले आफ्नो विवरण दर्ता गर्न मिल्ने अनलाइन रजिस्ट्रेसन प्लेटफर्म विकास गर्न निर्देशन दिएको जानकारी दिइएको छ । जसका लागि मोबाइल एप पनि विकास गरिरहेको र कन्सुलर पहुँच सुदृढ गर्न २४ सै घण्टा सञ्चालन हुने कन्सुलर रेस्पोन्स हटलाइनको व्यवस्था गर्न पनि मन्त्रालयले तयारी अघि बढाएको जनाएको छ ।

यसैगरी परराष्ट्र सचिवको संयोजकत्वमा सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला संस्थाका प्रतिनिधि रहने बहु–सरोकारवाला आपतकालीन उद्धार टोली गठन प्रक्रिया सुरु गरिएको जानकारी दिइएको छ ।

मध्यपूर्वका विभिन्न मुलुकमा हाल करिब १७ लाख २९ हजार दुई ८८ नेपाली नागरिक रहेका जानकारी दिए । उनले इरानमा १० जना नेपाली रहेकोमा ४ जना नेपाल फर्किसकेका र ६ जना इरानमै रहेका जानकारी दिए ।

त्यस्तै इजरायलमा करिब ६ हजार पाँच सय, इजिप्टमा पाँच सय, ओमनमा २५ हजार, कतारमा तीन लाख ५७ हजार नौ सय १३, कुवेतमा एक लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार आठ सय ६५, संयुक्त अरब इमिरेट्मा करिब सात लाख, लेबनानमा एक हजार पाँच सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार