‘मतदाताले मलाई न्याय गर्छन् भन्नेमा विश्वस्त छु’



आसन्न निर्वाचनको उत्साह छ । तर जनतामा नैराश्यता छाएको छ । उम्मेदवारप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । म धेरै निर्वाचनमा सक्रिय रूपमा लागेको छु । अहिलेसम्म गरेर दुईपटक त उम्मेदवार नै छु । मतदाताहरूमा विगतको भन्दा जागरण आएको मैले पाएको छु । अहिलेको मतदाताहरूले उम्मेदवारलाई प्रश्न गर्नुहुन्छ । उहाँहरूको भनाइ छ, हामी निर्वाचनमा जिताउँछौँ, जितिसकेपछि तपाईँहरूले के काम गर्नुहुन्छ भन्ने उहाँहरूको प्रश्न छ ।

         नारायणप्रसाद गौडेल, बाँके निर्वाचन क्षेत्र नम्बर १ नेपाली काँग्रेसका उम्मेदवार

निर्वाचनको तयारी कस्तो चलिरहेको छ ?

निर्वाचन नजिकिँदैछ । हाम्रो व्यस्ततासमेत बढिरहेको छ । अहिले मैले जनता भेटघाटलाई निरन्तरता दिइरहेको छु । जनताहरूलाई भेटेर आफ्ना कुरा राखिरहेको छु । साथै आफूलाई विजयी गराउनको लागि मत माग्ने काम गरिरहेको छु ।

आसन्न निर्वाचनको उत्साह कस्तो देख्नु भएको छ ?

आसन्न निर्वाचनको उत्साह छ । तर जनतामा नैराश्यता छाएको छ । उम्मेदवारप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । म धेरै निर्वाचनमा सक्रिय रूपमा लागेको छु । अहिलेसम्म गरेर दुईपटक त उम्मेदवार नै छु । मतदाताहरूमा विगतको भन्दा जागरण आएको मैले पाएको छु । अहिलेको मतदाताहरूले उम्मेदवारलाई प्रश्न गर्नुहुन्छ । उहाँहरूको भनाइ छ, हामी निर्वाचनमा जिताउँछौँ, जितिसकेपछि तपाईँहरूले के काम गर्नुहुन्छ भन्ने उहाँहरूको प्रश्न छ ।

उम्मेदवार हुँदा दैलोमा आउने र जितेपछि गाउँ नफर्किने गरेको उहाँहरूले दुःखेसो गर्नु हुन्छ । मैले यसो गर्छु भन्छन्, उसो गर्छु भन्छन्, तर एउटै पनि काम हुँदैनन् भन्नुहुन्छ । उहाँहरूले भ्रष्टाचार धेरै भयो । सुशासन कायम भएन । विकास भएन भन्नु भएको छ । मतदाताहरूलाई जसलाई भोट हाले पनि त्यस्तै हो भन्ने बुझाइ रहेको छ । मतदाता धेरै पढेलेखेका र बढेका छन् । आफ्नो विवेक प्रयोग गर्नुहुन्छ भन्ने मेरो बुझाइ रहेको छ ।

मतदाताको प्रश्नमा तपाईँको प्रतिउत्तर कस्तो रह्यो ?

म हिजो पनि तपाईँकै घरआँगनमा थिएँ । म भुइँमान्छे हुँ । मैले यहाँका समस्या बुझेको छु । मैले जितेर गएँ भने सम्पूर्ण समस्या समाधान गर्छु । बाँके क्षेत्र नम्बर १ को समृद्धि र विकासमा हातेमालो गर्छु भनेको छु । म विकास गर्छु । अनि जनताकहाँ काम र विकास ल्याएर आउँछु । जनतालाई मैले यथार्थ कुरा राखेको छु ।

चुनावी मैदानमा हुनुहुन्छ । कस्तो छ अवस्था, चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

मलाई जहाँसम्म लाग्छ, बाँके क्षेत्र नम्बर १ का जनताको मप्रति विश्वास र भरोसा छ । त्यो भरोसा मतदाताहरूले मतमा परिणत गर्नेमा म विश्वस्त छु । मैले विगतमा कुनै राजकीय पद लिएको छैन । भुइँमान्छे हुँ । उहाँहरूसँगै जोडिएर काम गरेको छु । उहाँहरूले मलाई न्याय गर्नेमा विश्वस्त छु । मलाई लाग्छ म चुनाव जसरी पनि जित्छु ।

तपाईँका चुनाव जित्ने आधारहरू के के छन् बताइदिनुहोस् न ?

एकदमै राम्रो प्रश्न गर्नुभयो । म क्षेत्र नम्बर १ का कुनाकन्दरामा पुगेको छु । त्यहाँका समस्या मलाई राम्रोसँग थाहा छ । म लामो समयदेखि राजनीतिलाई पेसा होइन सेवा हो भनेर हिँडेको छु । विभिन्न कालखण्डमा जनताको सेवाको लागि आफ्नो सम्पूर्ण जीवन नै समर्पित गरेको छु ।
मलाई एउटा विश्वास के छ भन्दा नेपाली काँग्रेससँग आस्था राख्ने मात्रै होइन इतर विचारधारामा सक्रिय नेता कार्यकर्ताहरूले समेत मलाई रुचाउनु हुन्छ । उहाँहरू निष्पक्ष र तटस्थ र इमान्दारिताका साथ काम गर्ने मान्छे हो भनेर भनिरहनु भएको छ । निस्कलंक छवि मेरो चुनाव जित्ने आधार हो ।

तपाईँ चुनावमा होमिरहँदा तपाईँका एजेण्डा र प्रतिबद्धता के के छन् ?

स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी तथा पर्यटन मेरा प्रमुख एजेण्डा हुन् । बाँके क्षेत्र नम्बर १ मा तीन कुरामा हामीले राम्रोसँग अध्ययन गरेका छौँ । नरैनापुर कृषिको प्रचुर सम्भावना भएको क्षेत्र हो । त्यहाँका बहुसंख्यक नागरिक कृषि पेसामा आबद्ध छन् । त्यहाँको कृषि आधुनिकीकरणको स्पष्ट योजना मसँग छ । राप्ती सोनारी र कृषि र पर्यटनको सम्भावना भएको क्षेत्र हो । यहाँ राष्ट्रिय निकुञ्ज छ । सिक्टा सिँचाइलाई प्रयोग गर्न सकिन्छ । विभिन्न धार्मिक पर्यटक स्थलहरूलाई प्रचार प्रसार गर्न आवश्यक छ ।

राप्ती नदीको दोहन रोक्ने र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणको स्पष्ट खाका बोकेर म मतदाताहरूसँग गएको छु । ऐन संशोधनमा म काम गर्नेछु । यसैगरी, समृद्ध कोहलपुरको खाका कारेको छु । कोहलपुर नयाँ सहर हो । तीन प्रदेशको केन्द्रविन्दु हो । यहाँ स्वास्थ्य र शिक्षाको हब बनाउन सकिन्छ । समन्नुत कोहलपुर बनाउन आवश्यक छ । निर्वाचन क्षेत्रका ३० वटा वडाको विकासको लागि सक्रिय रहनेछु । यी हुन् मेरा जित्ने आधार छन् ।

घरदैलो गर्दा मतदाताहरूबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ, के भन्छन् मतदाताहरू ?

एकदमै राम्रो रेस्पोन्स त मतदाताहरूबाट आइरहेको छ । उहाँहरूको प्रतिक्रियाले मलाई थप हौसला प्रदान गरेको छ । तपाईँ हामीलाई चाहिने मान्छे हो भन्नु भएको छ । तपाईँलाई भोट दिन्छौँ भन्नु भएको छ । हामीले विश्लेषण गर्दा बाँके क्षेत्र नम्बर १ का जनताप्रति मेरो विश्वास छ ।
जनता मालिक हुन्, हामी सेवक हो । त्यसैले हामीले चुनावको नतिजा कुर्नुपर्छ । म अरुको कुरा गर्दिनँ । सादगी नेताहरूको विचारलाई आत्मसात् गरेर आएको छु । म अहिलेसम्मकै बेदागी, सादगी र भुइँमान्छे उम्मेदवार हुँ । त्यसैले जनताको साथ मलाई छ ।

अन्त्यमा, सम्पूर्ण मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?

खासगरी बाँके १ का सम्पूर्ण मतदाताहरूलाई म के भन्न चाहन्छु भन्दाखेरी तपाईँहरूले मलाई जुन आशा र भरोसा मान्नु भएको छ । तपाईँको विश्वासमा कहिल्यै घात गर्दिनँ । तपाईँहरूको नेता होइन, सेवक भएर काम गर्नेछु । एकपटक मलाई अवसर दिनुहोस् । तपाईँहरूको शिर झुकाउने छैन । अन्त्यमा सम्पूर्णलाई मलाई भोट गर्न अनुरोध गर्दछु ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार