यो देशको राष्ट्रियता बचाउने हो, देश बचाउने हो भने र लोकतन्त्रलाई बचाउने हो भने नेकपा एमालेलाई भोट हाल्नैपर्छ । सूर्यवाहक उम्मेदवारहरूलाई मतदान गर्नुपर्छ । मेरो आग्रह छ मतदाताहरूलाई सूर्य ढकाललाई हेरेर भोट नहाल्नुहोस् । राष्ट्रलाई भोट हाल्नुहोस् । बाँकेको हरेक विकासमा हामी जोडिएका छौँ ।
सूर्यप्रसाद ढकाल, बाँके निर्वाचन क्षेत्र नम्बर २ एमालेका उम्मेदवार
निर्वाचनको तयारी कसरी भइरहेको छ ?
निर्वाचनको समय नजिकिँदै छ । विभिन्न कमिटी निर्वाचनमा होमिएका छन् । ३० वटै वडाका वडा कमिटी लागिरहेका छन् । २७५ टोलमै हामी पुग्ने गरेर लागिरहेका छौँ । यस्तै नेकपा एमालेसँग आबद्ध जनवर्गीय संगठनसमेत परिचालित भएका छन् । यस्तै जनताको बीचमा घरदैलोसमेत चलिरहेको छ ।
घरदैलोमा मतदाताहरूको अभिमत कस्तो पाउनु भएको छ ?
नेपालमा भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो । त्यसले नेपालको राजनीतिक अवस्था नै बिथोलियो । संसद् विघटन भयो, नयाँ सरकार बनाइयो । निर्वाचनसम्मको अवस्थासम्म आइपुग्दा थुप्रै प्रश्न र अनिश्चय बाँकी नै छ । अहिले हामी चुनावी अभियानको क्रममा जाँदा आम मतदाताहरूले नेकपा एमाले भनेको राष्ट्रवादी पार्टी रैछ भनिरहेका छन् । राष्ट्रको चिन्ता नेकपा एमालेका नेताबाहेक अरुले गर्दैनन् । त्यसैले राष्ट्रियता बलियो बनाउने हो भने नेकपा एमालेलाई मतदान गर्नुपर्छ भन्नेमा हुनुहुन्छ ।
विगतमा निर्वाचनमा जुन उत्साह हुन्थ्यो, त्यो उत्साह मतदाताहरूमा देखिँदैन, घरदैलोमा के पाउनु भयो ?
अहिलेको सरकार अलोकप्रिय सरकार हो । असंवैधानिक रूपमा बनाइएको सरकार हो । यो सरकारप्रति कसैको पनि विश्वास छैन । अर्कातिर यो जनताको सरकार पनि होइन । यसले जुन ढंगको विश्वास आर्जन गर्नु पर्ने थियो, मतादाताहरूको । त्यो विश्वास आर्जन गर्न नसकेका कारण पनि अहिले निर्वाचनको जुन उत्साह हुनु पर्ने हो । त्यो हामीले पनि देखेका छैनौँ । २०४८ सालदेखि अहिलेसम्म जति निर्वाचन भए । यति धेरै निरासा मैले देखेको थिइनँ । उम्मेदवारहरूमा समेत उत्साह छैन । मतदाताहरूमा समेत उत्साह देखिँदैन । समग्रतामा भन्नुपर्दा फागुन २१ को निर्वाचनप्रति जनतालाई विश्वासपनि छैन । यति हुँदाहुँदै यो निर्वाचन विगतको भन्दा फरक पनि छैन । त्यो यसकारण छ कि राष्ट्र रहने कि नरहने भन्ने विषयको लडाइँ छ । नेपाली जनताबाट निर्वाचनहरूले शासन चलाउने कि विदेशीहरूको इसाराबाट चल्नेले देश चलाउने भन्ने बीचको लडाइँ भएका कारणले जनतामा सचेतना पनि सोहीअनुसार देखिएको मैले पाएको छु । यसपटक जनता र देशप्रति जवाफदेही हुने नेतालाई भोट हाल्नुपर्छ भन्ने मनोविज्ञान छ मतदाताहरूको ।
तपाईँ यसअघि पनि निर्वाचित भइसक्नु भएको छ, केही काम भएका होलान्, केही काम अधुरा होलान् विगतका बाचा पूरा गर्नु र नयाँ पनि गर्छु भनेर मतदाताहरूलाई कसरी विश्वस्त पार्नुहुन्छ ?
बाँके क्षेत्र नम्बर १ मा मभन्दा अघि जोजति निर्वाचित हुनुभयो । उहाँहरूप्रति मेरो उच्च सम्मान छ । अहिलेको बाँके १ आउन सबै निर्वाचित जनप्रतिनिधिहरूको भूमिका छ । मेरो हकमा भन्नुहुन्छ भने म २ वर्ष चार महिना यहाँको निर्वाचित सांसद रहेँ । मलाई जनताले पाँच वर्ष काम गर्ने अवसर दिनुभएको थियो । दुर्भाग्य भनौँ, प्रतिनिधिसभा रहन सकेन् । मैले विगतमा जेजति बाचा गरेको थिएँ । त्यो सबै पूरा गरेँ त भन्दिनँ । मैले भनेको थिएँ, खल्लाझगडिया र विसम्बरपुरमा तटबन्धका लागि पैसा हाल्छु । यदि त्यहाँ तटबन्ध नगरेको भए नरैनापुरका ६ वटै वडा र राप्ती सोनारीका ६ र ७ को आधाभन्दा बढी भाग डुबानमा हुन्थ्यो ।
त्यसमा धेरै राम्रो काम भएको छ । हुलाकी राजमार्गमा बाँकी ६ वटा पुल छन् । अहिले तीन वटामा काम भइरहेको छ । क्षेत्र नम्बर १ का युवाहरूलाई रोजगारीमा जोड्नको निम्ति काम भइरहेको छ । बैजापुर औद्योगिक ग्राम बनिरहेको छ । बाँके निकुञ्जका कारण ओहोरदोहोर गर्न समस्या भएको क्षेत्रहरू अगैया कचनापुर हुँदै कम्दी जोड्ने बाटोलाई पैसा हाल्छु भनेको थिएँ, त्यो बाटोको काम बनिरहेको छ । कोहलपुरमा बाँके राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाउने र कोहलपुरको पर्यटकीय क्षेत्र बनाउने भनेर चप्परगौडी, खड्कवार हुँदै सल्यानको घुइयाबारी जोड्ने सडकलाई पैसा हाल्छु भनेको थिएँ, १८ करोडको काम बनिरहेको छ । चौराहादेखि चप्परगौडीसम्मको दक्षिणमा रहेको वनमा जैविक पार्क निर्माण भइरहेको छ । यस्ता अनगिन्ती कामहरू भएका छन् ।
निर्वाचन नजिकिँदैछ, आफूले चुनाव जित्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
मैले सुरुमै भनिहालेँ, यो देशको राष्ट्रियता बचाउने हो, देश बचाउने हो भने र लोकतन्त्रलाई बचाउने हो भने नेकपा एमालेलाई भोट हाल्नैपर्छ । सूर्यवाहक उम्मेदवारहरूलाई मतदान गर्नुपर्छ । मेरो आग्रह छ मतदाताहरूलाई सूर्य ढकाललाई हेरेर भोट नहाल्नुहोस् । राष्ट्रलाई भोट हाल्नुहोस् । विधिको शासन र विकासको गतिलाई अगाडि शक्ति बनेको नेकपा एमाले मात्रै हो । बाँकेकै कुरा गर्ने हो भने पनि हुलाकी राजमार्ग, राप्ती सोनारी र नरैनापुरमा बिजुली लिने, राप्ती नदीको तटबन्ध निर्माणमा भूमिका खेल्ने नेकपा एमाले हो । कोहलपुरको आधुनिक बसपार्कदेखि क्रिकेट मैदानमा लगानी हामीले गरेको हो । बाँकेको हरेक विकासमा हामी जोडिएका छौँ ।
अन्त्यमा, यसपटक पनि मतदाताले तपाईँलाई भोट दिएर जिताए भने के के काम गर्नुहुन्छ ?
जनताले मलाई मतदान गरेर जिताउनुभयो भने नरैनापुर गाउँपालिकाको जीवनस्तर माथि उठाउँछु । पूर्वाधार निर्माण गर्छु । शैक्षिक, स्वास्थ्य क्षेत्र सुधार गर्छु । राप्ती तटबन्धनका लागि १२ अर्ब छुट्याइएको छ । त्यसलाई कार्यान्वयन गर्नेछु । राप्ती सोनारीमा रहेका भित्री सडकहरूलाई कालोपत्रे गर्ने योजना रहेको छ । सम्पूर्ण घरमा खानेपानी र बिजुली पु¥याउनेछु । क्रिकेट मैदानलाई पूर्णता दिन्छु । भ्यूटावर र बसपार्कलाई थप आधुनिकीकरण गर्छु । ‘एक वडा, एक खेल मैदान’का लागि पहल गर्नेछु । इमान्दारहरूलाई मतदान गर्न अपिल गर्न चाहन्छु ।









प्रतिक्रिया दिनुहोस्