काठमाडौँ ।
यसवर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन् । ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’, ‘परान’ र ‘आबाट आमा’ ले उक्त आँकडा पार गर्न सफल भएका हुन् । गत बैशाखमा प्रदर्शनमा आएको विपिन कार्की र मिरूना मगर स्टारर ‘ऊनको स्वीटर’ ले ११ करोड ४१ लाख रूपैयाँ ग्रस कमाएको थियो ।
नवीन चौहान निर्देशित यो फिल्म हालै युट्युबमा समेत सार्वजनिक भइसकेको छ । युट्युबमा पनि यसले दर्शकको निकै माया पाइरहेको छ ।
त्यसपछि असोजमा रिलिज सुयोग गुरूङ निर्देशित ‘जेरी अन टप’ ले १२ करोड रूपैयाँभन्दा माथिको व्यापार गर्दै आफूलाई सफल फिल्मको सूचीमा उभ्यायो । अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत फिल्मले १२ करोड २५ लाख रूपैयाँभन्दा माथिको ग्रस कमाइ गरेको थियो ।
कात्तिकमा प्रदर्शनमा आएको नीर शाह अभिनीत ‘परान’ ले यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्मको स्थान बनाएको छ । दीपक आचार्य निर्देशित यो फिल्मले १७ करोड ८४ लाख ग्रस कमाइ ग¥यो । यो फिल्मको टिकट बिक्री सङ्ख्या ६ लाख ३३ हजार बढी छ । यसैबीच पल शाह, विपना थापा, प्रदीप रावत लगायतको अभिनय रहेको फिल्म ‘आबाट आमा’ ले पनि नेपालमा १० करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको छ ।
माघ १६ गतेदेखि प्रदर्शनमा आएको चन्द्र पन्त निर्देशित फिल्मले गत शनिबारसम्म बक्स अफिसमा ८ करोड ३१ लाख रूपैयाँ ग्रस कमाएको थियो । बुधबार बेलुकासम्मको कमाइ १० करोड ५ लाख रूपैयाँ पुगेको निर्माण पक्षले जनाएको छ । यो फिल्म शुक्रबारदेखि चौथो सातामा प्रदर्शनरत छ । आधिकारिक बक्स अफिस कमाइ भने सोमबार सार्वजनिक हुनेछ ।
‘चमेलीको पोइ’ पूर्वनिर्धारित मितिमा नआउने
फिल्म ‘चमेलीको पोइ’ पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म रामनवमी अर्थात चैत १३ देखि प्रदर्शन गर्ने तयारी थियो । तर देशको वर्तमान राजनीतिक अवस्था तथा निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै प्रदर्शन स्थगित गरिएको बिहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मको नयाँ प्रदर्शन मिति छिट्टै तय गरिने जनाइएको छ । प्रेस रिलिजसँगै जारी निर्माता रामनारायण उपाध्यायको भिडिओ सन्देशमा निर्देशक बोहराको टिमले अत्यन्तै मिहिनेतका साथ समयमै फिल्म निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त गरिएको छ । साथै, फिल्म प्रदर्शनका लागि आफूहरू शान्तिपूर्ण वातावरणको पर्खाइमा रहेको उल्लेख गरिएको छ ।
यो फिल्ममा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरूङ, सुनिता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरीलगायतको अभिनय छ ।
निर्देशक बोहराकै कथा रहेको फिल्ममा शिवम अधिकारीको पटकथा, शेरबहादुर तामाङको छायांकन छ । फिल्मको निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय छन् । उदयविक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता हुन् भने सह–निर्मातामा प्रदीपपकुमार सापकोटा, यमप्रसाद ओली र सुदिप कुँवर छन् । ‘चमेलीको पोइ’ को वितरण आरआर फिल्मस्ले गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्