आईसीसी टी २० विश्वकपः स्कटल्यान्डविरुद्ध सान्त्वना जितको खोजीमा नेपाल



कोहलपुर (बाँके) ।

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग भिड्दैछ । भारत र श्रीलंकामा जारी विश्वकपमा नेपाल समूह ‘सी’मा आफ्नो अन्तिम खेल खेल्दैछ । आज साँझ ७ः१५ मा भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले स्टकल्याण्डको सामना गर्दा पहिलो जितको खोजीमा हुनेछ । समूह ‘सी’मा अंकविहीन नेपाल सान्त्वना जित निकाल्दै विश्वकप यात्रा टुंग्याउने दाउमा हुनेछ ।

नेपालले समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो । आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध तारिफयोग्य खेल प्रदर्शन गरे पनि त्यसपछिका दुईवटा खेलमा नेपालले बिर्सनलायक खेल प्रदर्शन ग¥यो । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नवप्रवेशी इटलीविरुद्ध १० विकेटको लज्जास्पद हार व्यहो¥यो ।

आइतबार सुपर ८ को सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा नेपाल वेस्ट इन्डिजसँग स्तब्ध बन्यो । इंग्ल्याण्डविरुद्धको खेललाई छोडेर इटली र वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालको ब्याटिङ र बलिङ चल्न सकेन । तीनवटा खेलमा केही खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि टिमले भने आफ्नो लय समाउन सकेको छैन । इंग्ल्यान्डविरुद्ध लोकेश बमको ब्याटिङ र वेष्ट इन्डिजविरुद्ध दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीको साझेदारीलाई छोड्ने हो भने अन्य नेपाली खेलाडी विपक्षी टिमविरुद्ध निकै कमजोर देखिएका छन् ।

सुपर ८ मा पुग्ने प्रमुख लक्ष्यसहित भारत गएको नेपाली टोली आजको खेलमा स्कटल्यान्डलाई पराजित गर्न सकेन भने २०२६ को विश्वकपमा बिर्सनलायक यात्रा टुंग्याउँदै स्वदेश फर्किनेछ । त्यसैले आफ्नो अन्तिम खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ । स्कटल्यान्ड पनि सुपर ८ को सम्भावना जीवित राख्न नेपाललाई हराउनै पर्ने दबाबमा हुनेछ ।

हालसम्म खेलका तीन खेलमा १ जित र २ हारको नतिजासहित २ अंकसहित समूहको तेस्रो स्थानमा छ । समूह चरणको आफ्नो पहिलो खेलमा स्कटल्यान्डले इटलीलाई ७३ रनको विशाल अन्तरले पराजित गरेको थियो । इंग्ल्यान्ड र वेस्ट इन्डिजसँग भने स्कटल्यान्ड पराजित हुन पुग्यो । अहिलेसम्म समान तीन खेल खेलेका स्कटल्यान्ड र नेपाल चौथो खेल खेल्दा जसले जिते पनि अंकतालिकामा खासै ठूलो परिवर्तन भने हुने छैन ।

सुपर ८ को होडबाट बाहिरीसकेको नेपालले जितेमा उसले विश्वकप यात्राको सुखद् अन्त्य गर्नेछ । स्कटल्यान्डले जित्यो भने सुपर ८ को सम्भावना जीवितै राख्नेछ । समूह ‘सी’को अहिलेसम्मको समीकरण हेर्दा वेस्ट इन्डिज शीर्षस्थानमा छ । उसले अहिलेसम्म खेलेका तीनवटै खेल जितेको छ । वेस्ट इन्डिजको ६ अंक छ । आफ्नो समूहबाट वेस्ट इन्डिज सुपर ८ मा पुगिसकेको छ ।

इंग्ल्याण्ड ४ अंकसहित दोस्रो स्थानमा छ । उसले अहिलेसम्मका तीन खेलमा २ वटा खेलमा जितेको छ भने एउटा खेल हारेको छ । १ जित र २ हारसहित तेस्रो नम्बरमा रहेको स्कटल्यान्डको २ अंक छ । एक खेल जितेको इटलीको पनि २ अंक छ । तीनवटै खेल हारेको नेपाल भने अंकविहीन छ । स्कटल्यान्ड र नेपालबीचको खेलमा नेपाललाई जित्दै पर्ने दबाब छ ।

स्कटल्यान्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले नेपालले अन्तिम खेल जित्न लक्ष्यसहित खेल्ने बताएका छन् । खेलअघि आयोजित प्रि–म्याच प्रेस कन्फेरेन्समा बोल्दै पोथसले विगतका कमजोरीबाट सिक्दै नेपालले खेल जित्ने गरी खेल्ने उनको भनाइ थियो । नेपाल सुपर–८ मा पुग्न नसके पनि स्कटल्यान्डविरुद्ध जित निकाल्दै सकारात्मक सन्देशसहित प्रतियोगिता टुंग्याउने लक्ष्य रहेको उनले बताए ।

कोहलपुरमा लाइभ स्क्रिनिङ हुने

भारत र श्रीलंकमा जारी विश्वकपअन्तर्गत स्कटल्यान्ड र नेपालबीच हुने खेलको कोहलपुरमा लाइभ स्क्रिनिङ हुने भएको छ । आज साँझ ७ः१५ मा भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेलको कोहलपुरस्थित खुला मैदानमा लाइभ स्क्रिनिङ हुने भएको हो ।

विश्वकपको वल्र्डवाइज पार्टनर कोकोकोलाले कोहलपुरमा निःशुल्क खेल देखाउने भएको हो । खेल लाइभ हेर्नका लागि कुनै पनि दर्शकले कुनै शुल्क तिर्नुपर्ने छैन । दर्शकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै कोहलपुरमा उक्त खेल लाइभ देखाउन लागिएको कोकोकोलाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार