भोजपुर ।
रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।
गाउँपालिकाभित्र रहेका लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी गर्न इच्छुक युवालाई लक्षित गरी ४५ दिनको निःशुल्क विशेष तयारी कक्षा सुरु गरेको हो । स्थानीय तहबाटै लोक सेवा तथा शिक्षक सेवासम्बन्धी जागरण फैलाएर सक्षम र राष्ट्रप्रति उत्तरदायी कर्मचारी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिए ।
उनका अनुसार युवापुस्तामा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्दै उनीहरूलाई सक्षम, सबल र आत्मनिर्भर बनाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको हो । “अध्ययनरत तथा आवश्यक योग्यता पुगेका विद्यार्थीलाई लक्षित गरेर लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरिरहेका छौँ,” अध्यक्ष राईले भने, “युवालाई रोजगारीसँगै दिगो जीविकोपार्जनका आधारमा जोड्ने लक्ष्य हाम्रो हो ।
तयारी कक्षाले सरकारी सेवामा प्रवेश गर्ने अवसर सिर्जना गर्ने विश्वास लिएका छौँ ।”स्थानीय तहले सञ्चालन गरेको यस्तो कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाबाट गएर भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई प्राथमिकतामा राख्दै सोही क्याम्पस परिसरमा कक्षा सञ्चालन भइरहेको छ ।
हाल उक्त तयारी कक्षामा ५० विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीहरूले स्थानीय सरकारबाट प्राप्त सहयोगले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । नियमित कक्षा, नमुना प्रश्न पत्र अभ्यास, समूह छलफल तथा मार्गदर्शनमार्फत तयारीलाई प्रभावकारी बनाइँदै आएको छ ।गाउँपालिकाले आगामी दिनमा आवश्यकता र उपलब्धिका आधारमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । ग्रामीण क्षेत्रमै प्रतिस्पर्धात्मक परीक्षा तयारीको अवसर उपलब्ध गराइएपछि विद्यार्थी र अभिभावक खुसी भएका छन् । रासस









प्रतिक्रिया दिनुहोस्