तम्घासबाट बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको परीक्षण सुरु



नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको परीक्षण सुरु गरेको छ । उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका‐२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेसनसम्मको प्रसारण लाइनमा विद्युत् परीक्षण र विद्युत् प्रवाह थालिएको प्राधिकरणले जनाएको छ ।

उक्त प्रसारणलाइनमा दुई दिनसम्म परीक्षण गरेपछि मात्र नियमित सञ्चालन गरिने तयारी गरिएको विद्युत् प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिएका छन् ।

प्राधिकरणका अनुसार यस आयोजनाको निर्माण चार अर्ब ५० करोड भन्दा बढी लागतमा सम्पन्न भएको हो । कपिलवस्तुको मोतिपुर सवस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई भएर बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार