काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक योजना तयार पारी लागू गरेको छ । अनावश्यक घुइँचो हुँदाको अवस्थालाई मध्यनजर गर्दै सवारी आवागमन रुट तय गरी पार्किङको स्थान तोकेर प्रहरीले सुरक्षा योजना तयार पारी लागू गरेको हो ।
पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न कार्यालयले सुरक्षा योजना तयार पारी आजदेखि लागू गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको बताए ।
उनका अनुसार निश्चित ठाउँमा पार्किङको व्यवस्थासहित रुट पनि तोकिएको छ । उनले सिफल चौरमा दर्शानार्थीको सवारी, पासवाहक सवारीसाधन, सुरक्षाकर्मीका सवारीसाधनलाई पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।
गुहेश्वरी पारि तीर्थयात्री, दर्शानार्थीका सवारीसाधन, पशुपति विकास कोषको कार्यालय÷भण्डारखालमा पासवाहक सवारीसाधन, तिलगङ्गा आँखा अस्पताल र करिडोरमा तीर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारीसाधनलाई पार्किङको व्यवस्था गरिएको उनले बताए ।
त्यस्तै वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने सङ्घसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारीसाधन, प्रहरी वृत्त गौशालामा पासवाहक सवारीसाधन र सरकारी सवारीसाधन राख्ने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । विभिन्न नाका भई भित्रिने भक्तजनका सवारीसाधन छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको उनले बताए । उनका अनुसार अन्य जिल्लाबाट आउने भक्तजनको सुविधाका लागि निर्बाध आवतजावतको व्यवस्था मिलाउनाका साथै पार्किङ गर्ने ठाउँसमेत तोकिएको छ ।
प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार









प्रतिक्रिया दिनुहोस्