बुटवल ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी रुपन्देहीले ३१औँ जनयुद्ध दिवसको अवसर पारेर निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । पहिलोपटक निर्वाचनमा भाग लिएको यो पार्टीले जनयुद्धका सपना पूरा गर्ने गरी निर्वाचन लक्षित प्रतिबद्धता तथा घोषणापत्र सार्वजनिक गरेको हो ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी पार्टीका पोलिटब्यूरो सदस्य तथा निर्वाचन परिचालन रुपन्देही संयोजक बसन्त श्रेष्ठ, केन्द्रीय सदस्य शरद वली र रुपन्देहीबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूले संयुक्त रूपमा निर्वाचन घोषणापत्र सार्वजनिक गरेका थिए । भ्रष्टाचार मुक्त समाज, सुशासन कायम, विकासका एजेन्डासहित संविधानको पुर्नलेखन प्रत्यक्ष निर्वाचनबाट प्रणालीबाट कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने लगायतका थुप्रै एजेण्डा घोषणापत्रमा उल्लेख गरिएको छ ।
चुनावी घोषणापत्रमा भ्रष्टाचार नियन्त्रणलाई कडाइका साथ अघि बढाउने, भ्रष्टाचारका आरोपीहरूलाई छानबिन गरी दोषी भेटिएमा उनीहरूले भ्रष्टाचार गरेर थुपारेको सम्पत्ति राष्ट्रियकरण गर्ने, गम्भीर भ्रष्टाचार र मानवता विरोधी अपराधमा कडा कारबाही गरिने उल्लेख छ । यस्तै सहकारी पीडितको बचत फिर्ता गराउने, मिटरब्याज नियन्त्रण गर्ने तथा सरकारी कार्यालयमा हुने ढिलासुस्ती, घुसखोरी र बिचौलियाको अन्त्य गर्ने घोषणापत्रमा प्रतिबद्धता जनाइएको छ ।
त्यस्तै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित समयमै मल, बीउ, सिँचाइ सुविधा उपलब्ध गराई किसानलाई प्रत्यक्ष बजारसम्मको पहुँच सुनिश्चित गरिने, पर्यटनको प्रचुरमा मात्रामा विकास गर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, खेलकुद क्षेत्रमा लगानी बढाउने, सामुदायिक विद्यालय सुदृढ गरी सीपमूलक तथा आईटी शिक्षालाई विस्तार गर्ने योजना चुनावी घोषाणापत्रमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्