नेपालगन्ज (बाँके) ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले चालू आवको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार नेपालगन्जमा आयोजना गरेको अर्धवार्षिक समीक्षा तथा तथ्यांक साक्षरता कार्यक्रममार्फत चालू आवको हालसम्म भए गरेका काम र बजेट खर्चका बारेमा जानकारी गराएको छ ।
उपमहानगरपालिकाले चालू आर्थिक वर्षको हालसम्म पूँजीगततर्फ १० दशमलव ४३ प्रतिशत मात्र बजेट खर्च गरेको जनाएको छ । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख तेजेन्द्र रोकायले चालू आवको साउनदेखि माघ २७ गतेसम्मको अवधिमा १० दशमलव ४३ प्रतिशत पूँजीगत बजेट खर्च भएको जानकारी दिए ।
उनका अनुसार चालू आवका लागि पूँजीगततर्फ ६१ करोड ५६ लाख ८५ हजार ४५ रूपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म ६ करोड ४१ लाख ८८ हजार ६५४ रूपैयाँँ मात्र खर्च भएको हो । त्यसैगरी चालू बजेटतर्फ एक अर्ब २० करोड २२ लाख २३ हजार ४५० रूपैयाँ विनियोजितमध्ये हालसम्म ४७ करोड ७९ लाख ४१ ह्जार १५९ रूपैयाँ अर्थात् ३९ दशमलव ८४ प्रतिशत बजेत खर्च भएको छ ।
वित्तीय व्यवस्थातर्फ एक करोड रूपैयाँ विनियोजित बजेटमध्ये ४९ लाख ५० हजार ८८० रूपैयाँ खर्च भएको उनले जानकारी दिए । जुन खर्च ४९ दशमलव ५१ प्रतिशत हुन आउँछ । उपमहानगरले चालू आवका लागि एक अर्ब ८२ करोड ७९ लाख आठ हजार ४९५ रूपैयाँको बजेट विनियोजन गरेको थियो ।
जसमध्ये हालसम्म ५४ करोड ८० लाख ८० हजार ६९४ रूपैयाँ खर्च भएको छ । जुन कूल विनियोजित रकमको २९ दशमलव ९८ प्रतिशत हो । उनले नेपालगन्जका २३ वटै वडा कार्यालयबाट भएका वडागत बजेट र खर्च पनि प्रस्तुत गरेका थिए । २३ वटै वडालाई विनियोजित गरिएको रकम १९ करोड तीन लाख २६ हजार ६५० रूपैयाँमध्ये वडाहरूले हालसम्म तीन करोड ११ लाख ४१ हजार ८०९ रूपैयाँ खर्च गरेका जानकारी दिए । जुन कूल रकमको १६ दशमलव ६३ प्रतिशत हुन आउँछ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले कर्मचारीहरूलाई जनप्रतिनिधिको साथ र सहयोग लिएर द्रुत गतिमा काम गर्न निर्देशन दिएका थिए । उनले काम गर्ने दौरानमा जहाँ समस्या र अप्ठ्यारा आउँछन् त्यहाँ जनप्रतिनिधिसँग समन्वय गरेर अगाडि बढ्न सुझाव दिए । उनले अर्धवार्षिक समीक्षामा विगतका कामको मूल्यांकन गर्दै आगामी दिनको योजनाहरूलाई केही परिमार्जित गरेर कार्यान्वयन गरिने उल्लेख गरे ।
कामको गति बढिरहेको भए पनि यसलाई अझै तीव्र रूपमा अगाडि बढाउनु पर्ने भन्दै उनले कुनै गल्तीबिना काम गर्न पनि कर्मचारीहरूलाई सुझाव दिए । उनले सशर्त कार्यक्रमहरू कुनै पनि हालतमा फिर्ता गर्न नहुने भन्दै यदि फिर्ता भएमा कर्मचारीकै कमजोरी ठहरिने उल्लेख गरे ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्यसँग सम्बन्धित प्रस्तुतीकरण गरेको कार्यक्रममा सम्पूर्ण वडाका वडाध्यक्षहरू तथा विभिन्न महाशाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कर्मचारी तथा जनप्रतिनिधिहरूलाई तथ्यांकसम्बन्धी जानकारी दिनका लागि ‘आधिकारिक तथ्यांक, पारदर्शी शासन’ विषयमा तथ्यांकीय साक्षरता पनि प्रदान गरिएको थियो । तथ्यांक समन्वय कार्यालय दाङका तथ्यांक समन्वय अधिकारी पोमनारायण पौडेलले उक्त साक्षरताको सहजीकरण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्