काठमाडौँ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि बाटो खुलेको छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र न्यायाधीश अच्युत कुइकेलको संयुक्त इजलासले एन्फा निर्वाचनसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै यसअघि पुस २८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गर्दै निर्वाचनको बाटो खुला गरेको हो ।
यसअघि पाटन अदालतले जारी गरेको दुई अल्पाकालिन अन्तरिम आदेशलाई खारेज गर्दै नयाँ निर्णय गरेपछि एन्फाको निर्वाचनको बाटो खुला गरेको हो । पुस १६ गतेको एन्फा कार्यसमिति बैठकले माघ २८ गते झापामा एन्फाको चुनावी साधारणसभा गर्ने निर्णय गरेको थियो । तर अदालती झमेलामा फसेपछि तोकिएको समयमा भने निर्वाचन नहुने यसअघि नै पक्का भइसकेको थियो ।
यसअघि पाटन उच्च अदालतले अन्तरिम अल्पकालीन आदेश जारी गर्दै एन्फालाई माघ ६ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो । त्यसपछि एन्फा आफैँ भ्याकेट निवेदन लिएर अदालत गए पनि अदालतले निवेदन दर्ता गरेको थिएन । अदालतको अल्पकालीन आदेशपछि एन्फा निर्वाचन समितिले अर्को सूचना नआएसम्मका लागि एन्फाको निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको थियो ।
प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा एन्फा निर्वाचनको विषयमा निर्वाचन आयोगमा उजुरीसमेत परेको थियो ।
निर्वाचनका लागि बाटो खुलेपछि अब एन्फा निर्वाचन समितिले एन्फा निर्वाचनको प्रक्रियाको नयाँ कार्यतालिका सार्वजनिक गरेर काम अघि बढाउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
यद्यपि यस विषयमा तहगत निर्वाचन गर्नुपर्ने हो वा होइन भन्ने अन्तिम आदेशको भने आइसकेको छैन । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भएको अवस्थामा एन्फाको निर्वाचन तत्काल हुने सम्भावना भने कम छ । अब प्रतिनिधिसभाको निर्वाचनपछि नै एन्फा कार्यसमितिका लागि पनि निर्वाचन हुने सम्भावना छ ।









प्रतिक्रिया दिनुहोस्