काठमाडौँ ।
देशभक्तिपूर्ण गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक भएको छ । राष्ट्रिय एकता, देशप्रतिको जिम्मेवारी र नागरिक चेतनालाई मुख्य विषय बनाइएको गीत सार्वजनिक भएको हो । गीतमा गायक तथा मोडल सविन खड्काको आवाज रहेको छ । गीतका रचनाकारसमेत खड्का नै हुन् । गीतको संगीत भने चर्चित संगीतकार बैकुण्ठ महतले तयार पारेका हुन् ।
गीतमा गायिका सुनितामी परियारले गायक खड्कालाई साथ दिएकी छन् । प्रेम र रोमान्सका गीतहरू बढी सिर्जना भइरहेको वर्तमान समयमा राष्ट्र र राष्ट्रियताको विषय उठान गर्नु कलाकारको दायित्व भएकोले देशभक्तिपूर्ण गीत सार्वजनिक गरिएको खड्काले बताए । उक्त गीत एसके इन्टरटेनमेन्ट नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा विभिन्न चर्चित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको छ । गीतको भिडियोमा गायक तथा कलाकार मोतिराज खनालसहित नबिना सिलवाल, कमल जिसी, मिना बेलबासे, आशा ढकाल, स्मारिका खड्का, डिबी पाण्डे, मणि अधिकारी, धुर्व बस्नेत, रोशन घिमिरे, हरि आचार्य, पुष्पा शाह, मुकुन्द घिमिरे, गणेश पाण्डे लगायत थुप्रै कलाकारहरूको उल्लेखनीय अभिनय देख्न सकिन्छ ।
‘द म्युजिक इरा’ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ सुरज भुसालले गरेका हुन् भने मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन् । भिडियो निर्देशन देवेन्द्र कुवँरले गरेका हुन् र सम्पादनको जिम्मा राजेश कुमारले सम्हालेका छन् । समाजमा बढ्दै गएको अराजकता र विभाजनको अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक गरिएको गायक सबिन खड्काको भनाइ छ ।
यसअघि उनले समसामयिक विषय समेटिएको लोकदोहोरी गीत ‘चालिस कटेसी’ बजारमा ल्याएका थिए । ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ उनको दोस्रो एल्बमका रूपमा प्रस्तुत गरिएको हो । गायनसँगै मोडलिङ र अभिनयमा समेत सक्रिय सबिन खड्काले विभिन्न तिज गीतहरूमा अभिनय गरेर आफूलाई सफल मोडलका रूपमा स्थापित गरिसकेका छन् ।
उनले टेलिसिरियल ‘छिमेकी’ मा समेत अभिनय गरेका छन् । राष्ट्रप्रेम, कला र सामाजिक चेतनालाई एकैसाथ बोकेको यस गीतले नेपाली संगीत क्षेत्रमा सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्