उनले भनिन्, ‘मलाई कुनै शासकीय आंकाक्षा बोकेर लाभको पदको लालसा दिएर प्रधानमन्त्री भएको होइन । बिथोलिएको संवैधानिक अवस्थालाई ट्रयाकमा ल्याउन र देशलाई संकटबाट बचाउन विषम परिस्थितिमा जिम्मेवारी लिएको हो ।’

काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभामा पहिलोपटक सम्बोधन गरेकी छन् । आइतबारबाट सुरु भएको राष्ट्रियसभा (उन्नाइसौँ अधिवेशन)को पाँचौँ बैठकमा कार्कीले प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गरेकी हुन् । कार्कीले सम्बोधनको सुरुमै भनेकी थिइन्, ‘यो मेरो पहिलोपल्ट हो । जीवनमा पहिलोपटक यस्तो मौका पनि आयो । परिस्थितिले ल्याएको हो, रहरले पनि आएको होइन । परिस्थतिले बाध्य बनायो म आएँ । सायद अब जीवनमा यस्तो मौका आउँदैन होला ।’
राष्ट्रियसभामा देशको प्रधानमन्त्रीको रूपमा सम्बोधन गर्न पाउँदा आफूूलाई खुसी लागेको कार्कीको भनाइ थियो । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा ऐतिहासिक क्षणको साक्षीका रूपमा बहुमल्य जिम्मेवारी बोध भएको उनले बताइन् । उनले भर्खरै सम्पन्न राष्ट्रियसभा निर्वाचनमा निर्वाचित हुने सदस्यहरूलाई बधाई ज्ञापन गर्दै उपलब्धिमूलक कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन् ।
वर्तमान सरकारले पाएको स्वच्छ र भयरहित वातावरणमा चुनाव सम्पन्न गरेर निर्वाचित संसद्लाई अधिकार सुम्पन सरकार आतुर रहेको समेत उनले बताइन् । उनले भनिन्, ‘मलाई कुनै शासकीय आंकाक्षा बोकेर लाभको पदको लालसा दिएर प्रधानमन्त्री भएको होइन । बिथोलिएको संवैधानिक अवस्थालाई ट्रयाकमा ल्याउन र देशलाई संकटबाट बचाउन विषम परिस्थितिमा जिम्मेवारी लिएको हो ।’
शासकहरूमा देखिएको युवा आकांक्षाको बेवास्ता, मुलुकमा व्याप्त भ्रष्टाचार, राज्य सञ्चालनमा देखिएको संवेदनहिनता विरुद्धको चेतनाको प्रतिविम्बको रूपमा भदौ २३ मा जेनजी विद्रोह भएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । संविधानको मर्म र भावनाबमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी, त्यसबाट सिर्जित असन्तुष्टि, अभाव र उपेक्षाका कारण जेनजी आन्दोलनको जन्म भएको कुरालाई सबैले स्वीकार गर्नुपर्ने कार्कीले बताइन् ।
उक्त आन्दोलन वर्तमान संविधानले परिकल्पना गरेको संघीय गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक अधिकार र सुशासन लगायतका लोकतान्त्रिक मूल्य मान्यताबाट चुक्नुको परिणाम रहेको समेत बताइन् । ‘जेनजी विद्रोह यस्तो ऐना हो । जसमा हाम्रा शासकीय त्रुटि र चरणगत कमजोरीहरू देखिएका छन् । सूचना प्रविधिमा भएको चमत्कारिक परिवर्तनका बारेमा जानकार नेपाली युवा पुस्ताले राज्यका निकायमा समान पहुँच, रोजगारी र गुणस्तरीय जीवनको आकांक्षा राखेको थियो ।
ती आकांक्षा केवल युवाका मात्रै नभएर नेपालको आर्थिक विकास र रुपान्तरणमा अनिवार्य शर्त हुन्,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो ।वर्तमान सरकारले जेनजी आन्दोलनमा मृत्युवरण गरेका योद्धाहरूलाई सहिद घोषणा गरी सम्बन्धित परिवारलाई राहत समेत प्रदान गरेको र घाइतेहरूको उपचार तथा उनीहरूको जीविकालाई प्राथमिकता दिएर काम गरेको उनले सम्बोधनको क्रममा बताइन् । यस्तै जेनजी आन्दोलनका माग सम्बोधन गर्न सरकारसहित दुवै पक्षबीच ऐतिहासिक सम्झौता भएको प्रधानमन्त्री कार्कीले दाबी गरिन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको र सरकार त्यसमा केन्द्रित रहेको उनले बताइन् । उनले सुनाइन्, ‘आन्दोलनको क्रममा लुटिएका हतियार अधिकांश बरामद भई सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । राजनीतिक दल चुनावमा सहभागी हुने भएका छन् । जनता पनि प्रतिनिधि चुन्न आतुर छन् ।’ जेनजी आन्दोलनमा युवाहरूले उठाएको मूल मुद्दा नै भ्रष्टाचाररहित समाज, सुशासन र सदाचार भएको उनको भनाइ थियो । मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र अन्यायजस्ता संरचनात्मक कारणहरूको निवारणको लागि सबै निकाय एकजुट भएर लाग्न ढिला नगर्न समेत उनले आह्वान गरिन् ।









प्रतिक्रिया दिनुहोस्