निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड



काठमाडौँ ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र मानव अधिकारमैत्री निर्वाचन बनाउनुपर्ने बताए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले आज यहाँ आयोजना गरेको ‘निर्वाचनमा मानवअधिकार र राजनीतिक दलको भूमिका’ विषयक छलफलमा उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष मगरले भयरहित वातावरणमा निर्वाचन हुने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमनलाई जोड दिइरहेको बताए । उनले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने भन्दै त्यसमा सहयोग गर्न आग्रह गरे । कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेताहरूले निर्वाचनमा मानवअधिकारको अवस्था अनुगमनलाई आयोगले थप प्रभावकारी बनाउनुपर्ने र निर्वाचनका सम्बन्धमा आयोगबाट यसअघि भएका सिफारिस कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । आयोगले विगतमा पनि निर्वाचनमा मानवअधिकारको अवस्था अनुगमन गरी नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलाई सुझाव तथा सिफारिसहरू गर्दै आएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार