नदी संरक्षणका अभियन्ता मेघ आलेले नदी जोगाउने विषय राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा अनिवार्य रूपमा समेट्नुपर्ने बताएका छन् । माइतीघर मण्डलामा आठ दिनसम्म रिले अनशन बसेका आलेले दलहरूलाई सचेत गराउने उद्देश्यले आफू अनशनमा बसेको बताए ।
अनशनको अन्तिम दिन सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्राकृतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु शीर्ष राजनीतिक नेतृत्वको मूल दायित्व भएको तर्क गरे ।
‘नीति बनाउने काम दलहरूले नै गर्छन्, र त्यसकै आधारमा हाम्रो भविष्य तय हुन्छ,’ उनले भने, ‘नदी हाम्रो सभ्यता हो, तर मानिसले आफ्नै स्वार्थअनुकूल यसलाई नष्ट गर्न खोजिरहेको छ ।’
उनले दलीय शक्तिको आडमा नदीजन्य पदार्थको उत्खनन, चुरे दोहन तथा जलविद्युत्लगायतका आयोजनाले नदीको मूल प्रवाह रोकिँदा प्राकृतिक लय बिग्रँदै गएको बताए । जननिर्वाचित प्रतिनिधिहरूले प्राकृतिक सम्पदा नष्ट गर्ने होइन, संरक्षण गर्ने भूमिकामा उभिनुपर्ने उनको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्