धरान। धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ । यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका खेलाडी मात्र होइन, पोखरा, काठमाडौँ र साथै यहाँ देश तथा विदेशी खेलाडीसमेत आउन थालेका छन् । यसले धरानमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले बताए ।

उनका अनुसार हाल यहाँ इङल्यान्ड, इटाली, फ्रान्स, अस्ट्रेलिया, सिङ्गापुर र युकेबाट पर्यटकहरू गल्फ खेल्न धरान आउने गरेका छन् । “धरान गल्फ क्लबमा ८० जना सदस्य छौँ । हाल दैनिक एक सयभन्दा बढी खेलाडी विभिन्न स्थानबाट गल्फ खेल्न आउने गरेका छन् । सन् १९६२ मा स्थापना भएको यो गल्फ कोर्सले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न पनि महत्त्वपूर्ण योगदान दिँदै आएको छ”, अध्यक्ष राईले बताए ।
सुनसरी गल्फ सङ्घका अध्यक्ष तथा सिङ्गल ह्यान्डिक्याप खेलाडी जितेन्द्र राईले विगतमा गल्फबारे जानकारीको अभावका कारण खेलाडीको सङ्ख्या कम रहे पनि पछिल्लो समय आकर्षण बढ्दै गएको बताए । “गल्फ खेल्न सजिलो छैन, सिक्न समय लाग्छ, तर यो ‘जिरो इन्जुरी’ खेल भएकाले अहिले धेरैको चासो बढेको छ”,उनले भने ।
अध्यक्ष राईका अनुसार धरान गल्फ कोर्स नेपालमै उत्कृष्ट खेलाडी उत्पादन गर्ने अग्रणी संस्था बन्दै गएको छ । नेपालमा गल्फ कोर्स सीमित छन् । पूर्वी नेपालमा धरानमै मात्र रहेको यो गल्फ कोर्सलाई ‘पूर्वको गहना’ का रूपमा लिइन्छ । यहाँ न्यूनतम शुल्कमा गल्फ खेलाइँदै आएको बताउँदै राईले गल्फको विकासका लागि सरकारले ध्यान आवश्यक रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्