कैलाली ।
धनगढीको एसपिएस कलेज (सुदूर पश्चिमाञ्चल एकेडेमी) र सुदूरपश्चिम प्रादेशिक क्रिकेट टिमबीच तीन वर्ष मुख्य प्रायोजन रहने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा एसपिए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीबीच हस्ताक्षर भएको छ ।
सम्झौतापछि प्रतिक्रिया दिँदै एसपिए कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिमको क्रिकेट विकासका लागि मुख्य प्रायोजन गरेको बताए । ‘यो साझेदारीमार्फत सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलको विकास, प्रवद्र्धन, व्यवस्थापन तथा खेलाडी उत्पादनका कार्यक्रमहरूलाई सुदृढ बनाउने लक्ष्य राखेका छौँ ।’
प्रबन्ध निर्देशक शाहीले भने, ‘सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँगको यो सहकार्यले नेपाली क्रिकेटको भविष्यलाई थप सशक्त बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिएका छौँ ।’ सम्झौताले सुदूरपश्चिमका प्रतिभावान् खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त हुने र प्रदेशका खेलाडीहरूलाई राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बताए ।
‘प्रदेशस्तरीय क्रिकेटका विभिन्न गतिविधिहरू सञ्चालनका लागि तीन वर्षका लागि एसपिएले आवश्यक आर्थिक सहयोग प्रदान गर्ने भएका कारण यो प्रदेशलाई क्रिकेटमय बनाउन यसले मदत मिलेको छ ।’ संघका अध्यक्ष जोशीले भने, ‘आगामी दिनमा पनि क्रिकेटको ग्रासरुटका गतिविधिहरू सँगै नयाँ खेलाडी उत्पादन तिर पनि हामी लाग्छौँ ।’
सम्झौताअनुसार सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिता खेल्ने महिला तथा पुरुष खेलाडीहरूले एसपिए कलेजमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न पाउने छन् । यस्तै, प्रदेशका जिल्लाहरूको प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतियोगिता खेल्ने खेलाडीहरूले ५० प्रतिशत छात्रवृत्ति सुविधा पाउने छन् । यसले आर्थिक अभावका कारण कुनै पनि प्रतिभाशाली खेलाडीहरूले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको पनि अन्त्य भएको छ ।









प्रतिक्रिया दिनुहोस्