समर्थकलाई गाडीबाटै बालेनको अभिवादन



कोहलपुर (बाँके) ।

आइतबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ चुनावी अभियानअन्तर्गत पश्चिम आउने सूचना बाहिरियो । पहिलोपटक रास्वपा नेताबाटै बालेन चुनावी अभियानका क्रममा बाँके, बर्दिया हुँदै कैलाली जाने जानकारी गराइयो । बालेन पश्चिम आउने सूचना बाहिरिएसँगै विशेषगरी सामाजिक सञ्जालमा व्यापक उत्साह देखिएको थियो । बालेनको पूर्वघोषित कार्यक्रम थियो, सोमबार बिहान ८ः३० बजे काठमाडौँबाट नेपालगन्ज विमानस्थल ओर्लिने ।

बाँके क्षेत्र नम्बर २ को सचिवालयमा जाने । बागेश्वरी मन्दिर दर्शन गर्ने, त्यसपछि कोहलपुर र सम्झना चोकमा नेता कार्यकर्ता भेट्ने । बाँकेबाट बर्दिया पुगेपछि पनि बालेनको सेड्युल पूर्वनिर्धारित थियो । त्यसपछि कैलाली पुग्ने बताइएको थियो । तर, काठमाडौँ महानगरको नगरप्रमुखबाट राजीनामा दिएर चुनावी अभियानका देशदौडाहा गरिरहेका बालेनको पश्चिम यात्राका लागि मौसम बाधक बनिदियो । सोमबार बिहानैदेखि बाँकेसहितका जिल्लामा मौसम बदली भयो ।

बाक्लो हुस्सुका कारण हवाई यात्राका लागि ‘भिजिबिलिटी समस्या’का कारण उनी समयमै काठमाडौँबाट नेपालगन्ज आउन सकेनन् । उनलाई स्वागत गर्न बिहानैदेखि समर्थकहरू नेपालगन्ज विमानस्थल पुगेका थिए । बिहान १० बजेपछि मौसम खुल्यो । रास्वपा नेता, कार्यकर्ता र समर्थकहरूको व्यग्र प्रतीक्षापछि मात्रै दिउँसो २ः०० बजे बालेन नेपालगन्ज अवतरण गरेका थिए । विमानस्थलमा पार्टी नेता, कार्यकर्ता र समर्थकहरूले बालेनको भव्य स्वागत गरे ।

उनलाई स्वागत गर्न बाँके निर्वाचन क्षेत्र नम्बर ३ का रास्वपा उम्मेदवार तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारसहित बाँके र बर्दियाका रास्वपा उम्मेदवारसहितका नेता समेत विमानस्थल पुगेका थिए । हजारौँको सङ्ख्यामा आएका समर्थकका कारण बालेन विमानस्थलबाट बाहिर निस्किन हम्मेहम्मे भएको थियो । बालेनको स्वागतका लागि विमानस्थल पुगेका केही समर्थकहरू उनीहरू चढेको गाडीबाट खसेका थिए । सो क्रममा एकजना युवा घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी दीपक पालतीका अनुसार ती युवाको नेपालगन्जस्थित केयर सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ । मुखमा समेत सामान्य चोट देखिएको सूचना अधिकारी पालतीले जानकारी दिए । घाइते युवा भेट्न समानुपातिक उम्मेदवार डाक्टर वकार अहमद र बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सुरेशकुमार चौधरी समेत पुगेका थिए ।

मौसम खराबीका कारण ढिलो मात्रै नेपालगन्ज आएका बालेन पार्टी कार्यालय समेत पुग्न पाएनन् । उनको बागेश्वरी मन्दिर दर्शन गर्ने कार्यक्रम समेत स्थगित भयो । रास्वपा लुम्बिनी प्रदेशका सहमहामन्त्री एवं संगठन विभाग प्रमुख सिएम उपाध्याय सुरक्षाका कारण देखाई नेपालगन्ज र कोहलपुरमा तय भएको सचिवालयमा भेटघाट कार्यक्रम समेत प्रशासनबाट अनुमति नपाएकाले हुन नसकेको गुनासो गर्छन् ।

उनका अनुसार प्रशासनले अनुमति नदिएकै कारण बालेन भेट्न आएका र घण्टौँसम्म पर्खाइमा रहेका पार्टी सदस्य तथा शुभचिन्तक दुखी भएका छन् । नेपालगन्जपछि उनको कार्यक्रम थियो, कोहलपुर ११ स्थित बाँके क्षेत्र नम्बर १ को सम्पर्क कार्यालयमा नेता कार्यकर्ता भेटघाट गर्ने। कोहलपुरमा बिहानैदेखि उनको प्रतीक्षामा हजारौँ समर्थक गोलपार्कस्थित कार्यालयमा घण्टौँसम्म कुरेका थिए ।

त्यहाँ पुगेका युवा, महिला तथा पुरुषले बालेन साहको तस्बिर अंकित प्ले कार्ड बोकेका थिए । प्ले कार्डमा ‘अबकी बार, बालेन सरकार’ लेखिएको थियो । बाक्लो उपस्थिति र सुरक्षा जोखिमकै कारण बालेन क्षेत्र नम्बर १ को कार्यालयमा जानु त कहाँ, गाडीबाट ओर्लिन समेत पाएनन्। राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर सभापति राजेन्द्र श्रेष्ठ सुरक्षा निकायले सुरक्षा चुनौती देखाएका कारण बालेन सम्पर्क कार्यालयमा आउन नसकेको बताउँछन् ।

नेपालगन्जमा हजारौँ समर्थक आएको र एक जना घाइते समेत भएपछि बाँकेका एसपीकै कमाण्डमा सुरक्षाकर्मी खटिएका थिए । कोहलपुरमा समेत न्युरोडदेखि कार्यालयसम्म मानिस र सवारीसाधन पार्किङ गरेका कारण प्रहरीले सुरक्षा संवेदनशिलताको कारण देखाएर ओर्लिनै नपाएको श्रेष्ठले बताए । ‘बालेन साहलाई भेट्न हजारौँ नागरिक आउनु भएको थियो । उहाँहरू लामो समय कुर्नुभयो । सुरक्षा चुनौतीकै कारण गाडीबाट ओर्लिन सक्ने अवस्था भएन । गाडीबाट समर्थकसँग हात हल्लाएर जानु भयो,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।

बालेनलाई हेर्नका लागि यत्तिको सङ्ख्यामा मानिस आउलान् भन्ने आफूहरूले आकलन नै नगरेको उनको भनाइ छ । कोहलपुर केही समय मात्रै झुल्किएर बालेन बाँके क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय सम्झनाचोक गएका थिए । त्यहाँको कार्यालयमा उनले केही समय बिताए । त्यहाँ उनलाई समर्थकले न्यानो स्वागत गरेका थिए । उनले त्यहाँ सम्पर्क कार्यालयको उद्घाटन गरे ।

उनले उम्मेदवार र कार्यकर्ताहरूलाई सक्रिय रूपमा चुनावी अभियानमा लाग्न आग्रह गरे । त्यसपछि उनी बर्दियाको बाँसगढी पुगेका छन् । बालेन मंगलबार बर्दियामा केही कार्यक्रम सकाएर कैलाली जाने कार्यक्रम छ । बालेनसँग उनको कोर टिमका ५ जना, सचिवालय टिमका १४ जना गरी १९ जनाको टिम रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार