शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा २०७४ सालदेखि सञ्चालन हुँदै आएको ‘उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता’को आठौँ संस्करणको फाइनल खेल आज हुँदैछ । कोहलपुर–११ स्थित कोहलपुर क्रिकेट मैदानमा । उपाधिका लागि दुई चिरप्रतिद्वन्द्वी बाल शिक्षा माध्यमिक विद्यालय भरैया र त्रिभुवन माध्यमिक विद्यालय भिड्दैछन् । हरेक वर्ष कोहलपुरमा हुने उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिताका दुई सफल टोली यसपटक ह्याट्रिक जितको खोजीमा हुनेछन् ।
आठौँ संस्करणको फाइलनमा पुगेको बाल शिक्षा मावि सातौँ संस्करणको विजेता हो । सातौँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता २०८१ मा फाइनलमा लक्ष्मी माविलाई हराउँदै बाल शिक्षाले उपाधि जितेको थियो । बाल शिक्षालाई उपाधि रक्षाको चुनौती छ । सेमिफाइनमा साविक उपविजेता लक्ष्मी माविलाई सहजै जितेको बाल शिक्षाका लागि उपाधिका लागि चुनौती बन्नेछ त्रिभुवन मावि ।
पहिलो संस्करणदेखि लगातार प्रतियोगतिामा सहभागिता जनाउँदै आएको त्रिभुवन यो प्रतियोगिताको सबैभन्दा धेरै सफलमध्ये एक हो । त्रिभुवन माविले यसअघि दुईपटक उपाधि जितिसकेको छ । त्यसो त २०७४ सालमा पहिलो पटक आयोजना भएको पहिलो उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिताको उपविजेता हो त्रिभुवन । पहिलो संस्करणको उपाधि भने जनज्योति माध्यमिक विद्यालयले जितेको थियो ।
२०७८ सालदेखि मात्रै उपमेयर कप छात्रा क्रिकेटमा सहभागिता जनाउन थालेको बाल शिक्षा त्यसयता हरेक संस्करणमा फाइनल खेल्दै आएको छ । बाल शिक्षाले चौथो उपमेयर कप छात्रा क्रिकेटमा तेस्रो स्थान हासिल गरेको थियो । अन्तरमाध्यमिक विद्यालयस्तरीय उपमेयर कप छात्रा क्रिकेट प्रतियोगीता २०७९ को विजेता हो, त्रिभुवन मावि । त्यतिबेला त्रिभुवनले सगरमाथा ज्ञानपुञ्जलाई हराएर उपाधि जितेको थियो । आठौँ संस्करणको सेमिफाइनलमा त्रिभुवन मावि सगरमाथालाई हराएर फाइनल प्रवेश गरेको हो ।
२०८० सालमा सम्पन्न छैटौँ उपमेयर कप अन्तरमावि अन्डर १९ छात्रा क्रिकेटमा बाल शिक्षा र त्रिभुवन मावि पहिलोपटक उपाधिका लागि भिडेका थिए । त्यतिबेला त्रिभुवन मावि विजेता बन्यो, बाल शिक्षाले उपविजेतामै चित्त बुझाएको थियो । आठौँ संस्करणमा दुवै टोली दोस्रोपटक फाइनल खेल्दैछन् । जारी प्रतियोगितामा दुवै टोली अपराजित छन् । समूह चरण, क्वाटर फाइनल र सेमिफाइनका तीनै खेल जितेका दुवै टोलीको प्रमुख लक्ष्य चौथो खेल जित्दै उपाधि चुम्ने हुनेछ ।
जारी प्रतियोगिताको पहिलो खेलमा बाल शिक्षाले कोहलपुर बागेश्वरीलाई हराएको थियो । दोस्रो खेलमा ग्रीनपीस इङ्लिस मेडियम स्कुलसँग २ विकेटको जित निकाल्यो । सेमिफाइनलमा लक्ष्मी माविलाई हराउँदै बाल शिक्षा माविले ६६ रनको विशाल जित निकाल्दै फाइनल प्रवेश गरेको हो । त्रिभुवन माविले पहिलो खेलमा दीपज्योति विद्या सदनलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा त्रिभुवन माविले पञ्चमुखी इङ्लिस मेडियम स्कुललाई १६ रनले हराएको थियो ।
तेस्रो खेलमा भने त्रिभुवनले सगरमाथा ज्ञान पुञ्जलाई ६ विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो । दुवै स्कुल उत्कृष्ट छन् । बाल शिक्षा माविकी कप्तान सम्झना पुन अहिलेसम्मको खेल सहजै जितेको र फाइनलमा समेत जित्ने गरी खेल्ने बताउँछिन् । उनका अनुसार टिमको मुख्य लक्ष्य नै उपाधि रक्षा गर्ने हुनेछ । उता त्रिभुवन मावि पनिले आफूले उपाधि जित्ने दाबी गरेको छ ।
कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमला क्षेत्रीले प्रतियोगिता भव्य रूपमा सञ्चालन भइरहेको बताए । उनका अनुसार फाइनल खेल पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनेछ । कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिता माघ ४ गतेदेखि सुरु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्