कालिका मन्दिर जंगलको छेउमा अवस्थित छ । प्राकृतिक वातावरणको बीचमा रहेको यस मन्दिरले शान्त र गम्भीर धार्मिक अनुभूति दिने गर्छ । विगतमा यो क्षेत्र पूर्ण रूपमा जंगलले ढाकिएको थियो । समयसँगै बस्ती विस्तार भए पनि मन्दिर वरपरको वातावरण अझै पनि प्राकृतिक स्वरूपमै रहेको देखिन्छ । जंगल नजिकै रहेकाले कहिलेकाहीँ जंगली जनावरको आवतजावत हुने गरेको स्थानीयहरू बताउँछन् । यसले मन्दिर क्षेत्रलाई संवेदनशील बनाएको छ र संरक्षणको आवश्यकता पनि बढाएको छ ।
सुबाष रेग्मी । बढैयाताल (बर्दिया) ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ९ मुनाल बस्तीस्थित कालिका मन्दिर स्थानीय आस्था विश्वास र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको धार्मिक स्थल हो । कुनै भव्य संरचना वा ठूलो पर्यटकीय पूर्वाधार नभए पनि यस मन्दिरको ऐतिहासिक र सामाजिक महत्व बर्दिया जिल्लाका लागि विशेष स्थानमा रहेको छ । यही मन्दिरको नामबाटै साविकको गाउँ विकास समितिको नामाकरण गरिएको तथ्यले यसको ऐतिहासिक हैसियतलाई पुष्टि गर्छ । यस क्षेत्रको सामाजिक र प्रशासनिक पहिचान निर्माणमा कालिका मन्दिरको भूमिका महत्वपूर्ण रहेको स्थानीयहरूको भनाइ छ ।
स्थानीयवासीहरूका अनुसार कालिका मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई यस क्षेत्रको सामूहिक स्मृति र इतिहाससँग जोडिएको स्थान हो । कुनै समय यो क्षेत्र दुर्गम थियो जंगलले घेरिएको थियो र सीमित बस्ती मात्र रहेको थियो । त्यही परिवेशमा स्थापना भएको यो मन्दिरले विस्तारै बस्ती विस्तारसँगै आफ्नो अस्तित्व कायम राख्दै आएको देखिन्छ । मन्दिरको ठोस लिखित इतिहास नभए पनि पुस्तौँदेखि यहाँ पूजा अर्चना हुँदै आएको स्थानीय वृद्धवृद्धाहरू बताउँछन् ।
मन्दिर स्थापना भएको ठ्याक्कै मिति वा प्रमाणित दस्ताबेज उपलब्ध छैन । तर स्थानीय पुजारी र पुराना बासिन्दाका अनुसार यो मन्दिर धेरै वर्ष अघिदेखि नै त्यही स्थानमा रहेको हो । देवी कालिकालाई शक्ति रक्षा र साहसको प्रतीकका रूपमा पूजा गर्ने परम्परा यहाँ लामो समयदेखि चलिआएको छ । स्थानीय समुदायले रोग विपत्ति र कठिन समयमा देवीको आराधना गर्ने विश्वास राख्दै आएका छन् ।
कालिका मन्दिर जंगलको छेउमा अवस्थित छ । प्राकृतिक वातावरणको बीचमा रहेको यस मन्दिरले शान्त र गम्भीर धार्मिक अनुभूति दिने गर्छ । विगतमा यो क्षेत्र पूर्ण रूपमा जंगलले ढाकिएको थियो । समयसँगै बस्ती विस्तार भए पनि मन्दिर वरपरको वातावरण अझै पनि प्राकृतिक स्वरूपमै रहेको देखिन्छ । जंगल नजिकै रहेकाले कहिलेकाहीँ जंगली जनावरको आवतजावत हुने गरेको स्थानीयहरू बताउँछन् । यसले मन्दिर क्षेत्रलाई संवेदनशील बनाएको छ र संरक्षणको आवश्यकता पनि बढाएको छ ।
यो मन्दिर कुनै ठूलो धार्मिक पर्यटकीय गन्तव्य भने होइन । यहाँ ठूला संरचना व्यवस्थित होटल वा पर्यटकलक्षित सेवा सुविधा छैनन् । मन्दिर मुख्यतया स्थानीय समुदायको आस्थामा आधारित छ नवरात्रि दशैँ, औँसी, पूर्णिमाजस्ता अवसरमा स्थानीय भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिन्छ । बाहिरी जिल्लाबाट पनि सीमित मात्रामा दर्शनार्थी आउने गरेका छन् तर मन्दिरको पहिचान मूलतः स्थानीय धार्मिक केन्द्रकै रूपमा रहेको छ ।
समयक्रममा कालिका मन्दिर क्षेत्र वरपर केही विकास निर्माणका कामहरू भएको देखिन्छ । पहिलेको तुलनामा सडक पहुँच सुधारिएको छ, जसका कारण मन्दिरसम्म पुग्न सहज भएको छ । मन्दिर परिसरको सरसफाइ घेराबार र सामान्य संरचनात्मक सुधार स्थानीयकै पहलमा गरिएको छ । यद्यपि अझै पनि आधारभूत पूर्वाधारको अभाव देखिन्छ । व्यवस्थित धर्मशाला सूचना बोर्डजस्ता संरचनाहरू पर्याप्त छैनन् ।
मन्दिरको संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको छ । नियमित पूजा व्यवस्थापन सरसफाइ र धार्मिक गतिविधि स्थानीयकै सहयोग र सहभागितामा सञ्चालन हुँदै आएको छ । सरकारी वा संस्थागत सहयोग सीमित भए पनि समुदायको सक्रियताले मन्दिर जोगिँदै आएको देखिन्छ । स्थानीयहरूका अनुसार मन्दिर कुनै आम्दानीको स्रोत होइन र नाफामूलक उद्देश्य पनि राखिएको छैन । यो स्थान पूर्ण रूपमा धार्मिक आस्थामा आधारित भएकाले यसको मौलिकता जोगाउनु सबैको साझा दायित्व भएको उनीहरू बताउँछन् ।
धार्मिक हिसाबले कालिका मन्दिरले समुदायमा सामाजिक एकता र सहकार्यको भावना विकास गर्न सहयोग पु¥याएको छ । सामूहिक पूजा भाकल र प्रसाद वितरणजस्ता गतिविधिले आपसी सम्बन्ध मजबुत बनाएको स्थानीयको अनुभव छ । मन्दिर केवल पूजा गर्ने स्थान मात्र नभई सामाजिक भेटघाट र सांस्कृतिक निरन्तरताको केन्द्रका रूपमा पनि रहेको छ । मन्दिरको दीर्घकालीन संरक्षणका लागि विभिन्न चुनौतीहरू देखिएका छन् ।
जंगल नजिकै रहेकाले प्राकृतिक जोखिमको सम्भावना रहन्छ । अव्यवस्थित विकास र दीर्घकालीन संरक्षण योजनाको अभाव पनि समस्या बनेको छ । नयाँ पुस्तामा धार्मिक र सांस्कृतिक चेतना निरन्तर कायम राख्नु अर्को चुनौतीका रूपमा देखिएको छ । स्थानीयवासीहरूले ठूलो पर्यटकीय स्थल बनाउनेभन्दा पनि मन्दिरको मौलिकता जोगाउँदै आधारभूत संरचना सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । स्थानीय तह र सरोकारवाला निकायबाट न्यूनतम सहयोग र संरक्षण योजना आवश्यक रहेको उनीहरूको धारणा छ ।
कालिका मन्दिर बढैयाताल ९ मुनाल बस्तीको धार्मिक स्थल मात्र नभई स्थानीय इतिहास संस्कृति र पहिचानको प्रतीक हो । विकास र आधुनिकताको नाममा यसको मौलिक स्वरूप नबिगारी संरक्षण गर्नु आजको आवश्यकता बनेको छ । स्थानीय समुदायको सहभागिता र सन्तुलित विकासको अवधारणा अपनाउन सके यो मन्दिर आगामी पुस्तासम्म आस्थाको केन्द्रका रूपमा जीवित रहने विश्वास गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्