बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजार प्रालीमा ल्याइएका तरकारीहरू बिक्री हुन नसक्दा सडेर फाल्नुपरेको भन्दै किसानहरूले असन्तुष्टि जनाएका छन्। देशका विभिन्न जिल्लाबाट थोक बिक्रीका लागि ल्याइएका तरकारी ग्राहक अभावका कारण कुहिएर नष्ट भएका हुन् ।
किसानका काउली, मुला, फूलगोभी लगायतका तरकारी बिक्री हुन नसकेको गुनासो छ।बुटवल उपमहानगरपालिका–६ मा रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ लगायत अन्य हाटबजारमा समेत बिक्री गर्न नपाउँदा तरकारी सुकेर तथा कुहिएर नष्ट हुने अवस्था आएको किसानहरूले बताएका छन्।
किसानहरूले बजारमा व्यापारीहरूको सिन्डिकेटका कारण नयाँ किसानहरूले आफ्नो उत्पादन बिक्री गर्न नपाएको आरोप लगाएका छन्। बजार व्यवस्थापनको कमजोरी र पहुँच अभावले आफूहरू प्रत्यक्ष रूपमा मारमा परेको उनीहरूको भनाइ छ। उत्पादन गरेर बजारसम्म ल्याए पनि उचित बिक्रीको वातावरण नहुँदा ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको किसानहरूले बताएका छन्।
नेपाल किसान महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष रीता केसीले बुटवलस्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रमा व्यापारीहरूको सिन्डिकेटका कारण स्वदेशी कृषि उपजको बिक्री वितरणमा समस्या उत्पन्न भएको आरोप लगाइन्। उनका अनुसार भारतीय तरकारी तथा फलफूलले सहजै बजार पाउने तर स्वदेशी उत्पादनले स्थान नपाउने अवस्था दुःखद र चिन्ताजनक हो।
उनले बुटवल कृषि उपज थोक बजार केन्द्रको पुनः टेन्डर प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै किसानका लागि छुट्याइएका सटरहरू व्यापारीहरूले कब्जा गरेको आरोप लगाइन्। विभिन्न जिल्लाबाट ल्याइएका तरकारीहरू बजारमा स्थान नपाएको पनि उनले बताइन्।








प्रतिक्रिया दिनुहोस्