काठमाडौँ ।
राष्ट्रियसभाका १८ जना सदस्य चयनका लागि भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । आगामी २० फागुनबाट रिक्त हुन लागेका १९ मध्ये १८ पदका लागि भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनले क्लिनस्विप जित हासिल गरेको हो । यसअघि नै गठबन्धनबाट एकजना निर्विरोध निर्वाचित भइसकेका छन् । एकजना मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । चुनावमा नेपाली काँग्रेस, एमाले र जसपा नेपालबीच चुनावी गठबन्धन भएको थियो ।
गठबन्धनबाट काँग्रेसले ९, एमालेले ८ र जसपाले १ स्थान र नेपाली कम्युनिस्ट पार्टीले १८ स्थानमा उम्मेदवारी दिएका थिए । १८ सदस्यका लागि ४४ जना प्रतिस्पर्धामा होमिएका थिए । सबैभन्दा धेरै मधेश प्रदेशमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा १÷१ जना गरी ४ सिटका लागि भएको निर्वाचनमा नेकपा एमालेकी रेखा झा, नेपाली काँग्रेसका रञ्जित कर्ण र धमेन्द्र पासवान तथा जसपा नेपालका महन्थ ठाकुर विजयी भएका हुन् ।
अन्य समूहबाट जसपा नेपालका नेता महन्थ ठाकुरले ७ हजार ७२५ मत ल्याई विजयी हुँदा प्रतिद्वन्द्वी नेकपाका लक्ष्मण पौडेलले १ हजार ८०५ मत ल्याए । महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झाले ७ हजार २ सय २२ मत ल्याएर विजयी भएकी छन् भने उनको प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार शमीकुमारी अग्रवालले १ हजार ९४४ मत ल्याएकी थिइन् । जसपा नेपालकी चन्द्रकला देवी साहले ३२२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । अल्पसंख्यक क्लस्टरमा काँग्रेसका रञ्जित कर्ण विजयी भए ।
उनले ८ हजार ९३ मत पाए भने उनका प्रतिद्वन्द्वी नेकपाका रामनन्दन प्रसादले १ हजार ३६१ मत पाएका हुन् । जसपा नेपालका शैलेसकुमार चौधरीले ३७९ मतभार प्राप्त गरेका थिए । ७ हजार ९०४ मत प्राप्त गर्दै दलित क्लस्टरमा नेपाली काँग्रेसका धर्मेन्द्र पासवान विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपाका शम्भु पासवान हजारीले १ हजार ३७६ मत र जसपा नेपालका चमेली देवी दासले ३७९ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
कोशी प्रदेशबाट ‘अन्य’ समूहबाट चुनिने एक सिटमा काँग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । कोशी प्रदेश महिलातर्फ नेकपा एमालेकी रोशनी मेचे र दलित समूहतर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका हुन् । सात हजार १७३ मत प्राप्त गर्दै गठबन्धनकी मेचेले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नमिता न्यौपानेलाई पराजित गरिन् । न्यौपानेले दुई हजार २६८ मतभार ल्याइन् । यसैगरी दलिततर्फ नेकपा (एमाले)का पोर्तेलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खेमराज नेपालीलाई पराजित गरेका हुन् ।
गठबन्धनका विजयी पोर्तेलले सात हजार ४२३ मतभार नेकपाका सुन्दासले दुई हजार ३७ मतभार ल्याएका हुन् । कर्णाली प्रदेशबाट महिला १ र अन्य समूहबाट १ गरी २ सिटका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसका ललितजंग शाही र एमालेबाट मीनासिंह रखाल विजयी भएका छन् । अन्य कलस्टरबाट गठबन्धनका उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता ललितजंग शाही र महिलातर्फ नेकपा एमाले नेतृ मिनासिंह रखाल निर्वाचित भएका हुन् ।
उनीहरूसँग नेकपाका दुवै उम्मेदवार पराजित भएका छन् । निर्वाचित शाहीले कूल ३ हजार २७८ मतभार प्राप्त गर्दा पराजित नेकपाका बुद्धिप्रसाद शर्माले १ हजार ६३९ मत प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । उनका अनुसार महिलातर्फ निर्वाचित रखालले ३ हजार १४५ मत र नेकपाका महिलातर्फका उम्मेदवार अन्जु महतराले १ हजार ७१४ मतभार प्राप्त गरिन् ।
सुदूरपश्चिममा महिला र अन्य समूहका १÷१ सिटमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारद्वय नेकपा एमालेका लीलाकुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् । अन्य समूहबाट निर्वाचित खातीले ३ हजार ९ सय ६९ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत पाएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए ।
महिलातर्फ ३ हजार ९८४ मत प्राप्त गरेर नेकपा एमालेकी भण्डारी विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गरिन् । लुम्बिनीमा महिला १, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १ र अन्य समूहबाट १ गरी ३ सिटका लागि भएको निर्वाचनमा पनि नेकपाका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
महिलातर्फ नेकपा एमालेकी रामकुमारी झाँक्री, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका बासुदेव घिमिरे र अन्यतर्फ नेपाली काँग्रेसकै चन्द्रप्रसाद केसी निर्वाचित भएका हुन् । ६ हजार ३०३ मतभार प्राप्त गरी विजयी भएकी झाँक्रीले नेपाली कम्युनिस्ट पार्टीकी दुुर्गाकुमारी भण्डारीलाई पराजित गरिन् । भण्डारीले १ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन् । राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १६८ मत पाइन् ।
यस्तै अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट निर्वाचित नेकपा काँग्रेसका घिमिरेले ६ हजार ३२२ मतभार प्राप्त गरी विजयी भए भने उनका निटकतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका सर्जन विकले १ हजार ६०१ मतभार प्राप्त गरेका थिए । यसैगरी, अन्य समूहबाट विजयी केसीले ५ हजार ९७७ मतभार प्राप्तका थिए भने उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका वृहस्पती अधिकारीले १ हजार ८३२ मतभार प्राप्त गरेका थिए । राष्ट्रिय जनमोर्चाको तर्फबाट खुला समूहमा बोमबहादुर खत्री पनि चुनावी मैदानमा उत्रिएका थिए ।
बागमती प्रदेशमा महिला १ र अन्य समूहबाट १ गरी दुई सिटका लागि भएको निर्वाचनमा गठबन्धनबाट एमालेका प्रेमप्रसाद दंगाल र नेपाली काँग्रेसकी गीता देवकोटा विजयी भएका हुन् । अन्यतर्फ विजयी दंगालले ६ हजार २०५ मतभार र पराजित नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मतभार पाए । नेमकिपाका विक्रम ढुकुछुले १९७ मतभार पाएको निर्वाचन समितिले जनाएको छ ।
महिलातर्फ विजयी गठबन्धनकी देवकोटाले कूल ६ हजार २३९ मतभार प्राप्त गर्दा नेकपाका उम्मेदवार सरोजकुमारी झाले २ हजार ५२२ मतभार र नेमकिपाकी कविता महर्जनले १९७ मतभार पाइन् । गण्डकी प्रदेशमा पनि महिला १ र अन्य समूहको १ गरी २ सिटका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसका जगत तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा विजयी भएका छन् ।
अन्य क्लष्टरबाट नेपाली काँग्रेसका जगतले ५ हजार ३३ मतभार पाएका छन् भने अन्यमा नेकपाका कपिल लामाले ९४१ मतभार प्राप्त गरे । महिलातर्फ विजयी भएकी एमालेकी सम्झनाले ५ हजार १४ मतभार प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीकी गोमा घिमिरे ९४१ मतभार प्राप्त गरिन्। यस्तै निर्वाचनमा एकल प्रतिस्पर्धा गरेका जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभार पाएका छन् भने सोही पार्टीकी लक्ष्मी सापकोटाले पनि समान मत पाइन् ।
राप्रपादेखि गोपी हमालसम्मले गरे बहिस्कार
देशभर कूल १७ सिटका लागि आइतबार भएको राष्ट्रिसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव बहिस्कार गरेको छ । देशभरका सात प्रदेशमध्ये सदस्य रहेका प्रदेशमा राप्रपाले चुनाव बहिस्कार गरेको हो । निर्वाचन बहिस्कार गर्नेमा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार बनेर जितेका समेत छन् । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४ जना सहभागी भएनन् ।
निर्वाचनमा सहभागी नहुनेमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाकी सांसद खेमा विष्ट, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र जानकी गाउँपालिकी उपाध्यक्ष लालमती देबी कठरिया रहेका छन् । धनगढीका हमाल स्वतन्त्र मेयर हुन् भने जोशिपुरकी चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)की उपाध्यक्ष हुन् ।
राष्ट्रियसभाको निर्वाचनमा कोशीमा १४ जना अनुपस्थित भएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार कोशीमा पालिकातर्फ ९ जना र प्रदेशसभाबाट ४ जना मतदानमा अनुपस्थित भएका छन् । कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य रहेका छन् । सभामुखबाहेक अन्य सदस्य मतदानमा सहभागी भएनन् । कोशी प्रदेशमा राप्रपाका ५ जना छन् । संसदीय दलका नेतासमेत रहेका भक्ती सिटौला राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
उनीबाहेक ४ जना प्रदेशसभा सदस्य मत हाल्न नआएको पूर्वसंसदीय दलका नेता भक्ति सिटौलाले बताए । राप्रपाबाट विजयी भएका राप्रपाका एकजना पालिका अध्यक्ष र २ जना उपाध्यक्षले समेत मतदान गरेनन् । यस्तै गण्डकी प्रदेशमा स्याङ्जाको वालिङ नगरपालिकाकी उपमेयर कविता तिवारी विदेश भएका कारण उनी पनि अनुपस्थित भइन् ।
प्रदेशतर्फ राप्रपाका २ सांसद मतदानमा सहभागी भएनन् । स्थानीय तहबाट ३ जना र प्रदेश तर्फबाट २ जनाले मत हालेनन् । स्थानीय तहमा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छन् । मधेश प्रदेशमा भने २२ मत खसेन । पालिका प्रमुख र उपप्रमुखतर्फ २६४ मध्ये २४२ र प्रदेशसभामा सदस्यमध्ये ९९ मत खसेको छ ।
कर्णाली प्रदेशसभाकी सांसद सन्तोषी शाहीले राष्ट्रियसभा निर्वाचन बहिस्कार गरेकी छन् । दुई पदका लागि आइतबार कर्णालीमा भएको मतदानमा उनी सहभागी नभएकी हुन् । शाही राप्रपाबाट समानुपातिक प्रदेशसभा सांसद हुन् । आइतबार भएको मतदानमा ९५.६८ प्रतिशत मत खसेको थियो ।
राष्ट्रियसभामा फेरियो शक्ति सन्तुलन
राष्ट्रियसभाको वर्तमान शक्ति सन्तुलन बदलिएको छ । काँग्रेस दोस्रो शक्तिबाट पहिलोमा उक्लिएको छ भने पहिलो शक्ति रहेको नेपाली कम्युनिस्ट पार्टी आठ सिट गुमाउँदै दोस्रो शक्तिमा झरेको छ । तेस्रो शक्तिमा एमाले नै रहेको छ । राष्ट्रियसभामा दुई वर्षका बीचमा एकतिहाई सदस्यको निर्वाचन हुने गर्छ । रिक्त १९ पदमध्ये एक मनोनीत र एक निर्विरोध भएको १ बाहेक आइतबार १७ स्थानका लागि निर्वाचन भएको थियो । निर्वाचनमा काँग्रेस र एमाले गठबन्धनले एकलौटी जित निकालेका छन् ।
दुई दलको गठबन्धनमा काँग्रेसले ९, एमालेले ८ र जसपालाई १ सिट दिइएको थियो । दुई दलीय गठबन्धनले १७ वटै सिटमा जिते निकालेपछि काँग्रेस २५ सिटसहित राष्ट्रियसभामा ठूलो शक्ति बनेको छ । यसपटकको निर्वाचनमा काँग्रेसको कुनै पनि सांसदको पद रिक्त भएको थिएन । हाल कायम रहेको १६ मा ९ सांसद थपिएका छन् ।
एमालेको १० मध्ये ८ जनाको पदावधि सकिएको थियो । पदावधि सकिनेमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसी रहेका थिए । एमालेबाट निर्वाचित हुने पनि ८ जना नै छन् । यस हिसाबले एमाले हाल कायम रहेकै १० सिट जोगाउन सफल भएको छ ।
तत्कालीन माओवादी केन्द्रको १७ र एकीकृत समाजवादीको ८ सहित दुई दल एकीकरणपछि बनेको नेकपाको कूल सांसद २५ रहेका थिए । त्यसमध्ये पदावधि सकिएका ८ जना नै उसले गुमाएको छ । नेकपाबाट गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेल्वासे, जगप्रसाद शर्मा, तामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसालको पदावधि सकिएको थियो । तत्कालीन जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट पदावधि सकिएका एक÷एक जना थिए ।
यी दुई दल पनि एकीकरण भइसकेको छ । एकीकृत जसपा, नेपालको राष्ट्रियसभामा चार सांसद थिए । जसमा मृगेन्द्रकुमार सिंह र शेखरकुमार सिंहको पदावधि सकिएको छ । गठबन्धन गर्दा जसपाले एक सिट पाएको थियो । जसमा पार्टीको संरक्षक महन्थ ठाकुर निर्वाचित भएका छन् । काँग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने वामदेव गौतमको पनि पदावधि सकिएको छ । पदावधि सकिएका सबै सांसदहरूको औपचारिक बिदाइ आगामी फागुन २१ गतेदेखि हुनेछ ।









प्रतिक्रिया दिनुहोस्