झण्डाको दुरुपयोग नगर्न चेतावनी



गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग प्रचलित कानुनबमोजिम मात्र गर्न आग्रह गरेको छ ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी झण्डाको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झन्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ ।

त्यसैगरी मुलुकी अपराधसंहिता, २०७४ को दफा १५१ मा नेपालको राष्ट्रिय झन्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ वा अवस्थामा नेपालको राष्ट्रिय झन्डा प्रयोग गर्न नहुने व्यवस्था रहेको र सो को उल्लंघन भएमा सजायको व्यवस्थासमेत गरिएकोतर्फ गृहमन्त्रालयले ध्यानाकर्षण गराएको छ।

पछिल्लो समय राष्ट्रिय झण्डा ओढेर चुनाव प्रचार गर्नेदेखी आन्दोलनमा समेत झण्डा ओढेका व्यक्तिहरू तोडफोडमा उत्रीएको देखिएको थियो । यस सम्बन्धमा झण्डाको प्रयोगलाई नियमन गर्न माग उठेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार