पश्चिम नेपालका धेरै जिल्लामा वर्षा र हिमपात



काठमाडौँ ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली शनिबार दिनभर नै कायम भएको थियो । वर्षा भने शनिबार अपराह्नबाट रोकिएको थियो । विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम बदली कमजोर बन्दै गएको बताए ।

यद्यपि, छिटपुट रूपमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपात आइतबारसम्म कायम रहने उनले जानकारी दिए । विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार, दैलेखमा १४ दशमलव तीन, जुम्लामा १२ दशमलव सात, मुगुमा १२, डोल्पामा १३ दशमलव पाँच मिलिमिटर वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ ।

विभागका अनुसार बागलुङ, म्याग्दी, रूकुम पूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ । शनिबार साँझ सार्वजनिक गरिएको बुलेटिनमा हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको थियो ।

शनिबार राति देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको थियो । यस्तै, आज आइतबार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य तराई भू–भागका थोरै स्थानमा बिहानीपख हुस्सु रहने जनाइएको छ ।

हिमपातले कर्णालीका किसान खुसी

कर्णाली प्रदेशका हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, मुगु र डोल्पामा परेको बाक्लो हिमपातपछि स्थानीय किसानहरू खुसी भएका छन् ।लामो समयपछि पर्याप्त हिमपात हुँदा हिउँदेबाली सप्रिने भन्दै किसानहरूले खुसी व्यक्त गरेका छन् । हिमपातका कारण जमिनमा आवश्यक चिस्यान कायम हुने हुदाँ गहुँ, जौ, उवा लगायतका हिउँदेबाली उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ ।

विगत केही महिनायता खडेरी परेपनि यसपटकको बाक्लो हिमपातले राहत मिल्ने किसानहरूको भनाइ छ । हुम्ला खार्पनाथका किसान टंक शाहीका अनुसार हिमपातले जमिन उर्वर बनाउनुका साथै कीरा–फट्याङ्ग्रा नियन्त्रणमा पनि सहयोग पु¥याउने अपेक्षा छ । अत्यधिक चिसो र हिमपातले दैनिक जनजीवनमा केही असर पारे पनि कृषि उत्पादनका हिसाबले यो हिमपात उत्तम रहेको उनले बताए ।

गतभदौ महिनादेखि वर्षात् नभएको हुम्ला लगाएत कर्णालीका जिल्लाहरूमा यस वर्षकै पहिलो बाक्लो हिमपात भएको हो । निकै लामो समयसम्म हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका हुन् । हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धेरै पानी परे पश्चात् हिमपात हुने गर्दछ, भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

हिमपातले जनजिवन भने कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउँपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरूपमा बन्द भएको छ । यता हुम्ला प्रशासनले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

जौँ बालीलाई राहत

जौँ बालीलाई चाहिने आबश्यक सिँचाई हिउँले पुर्ति गर्ने भएकोले हिउँले कृषि क्षेत्रमा राहत पुराउने कृषि विज्ञ बताउँछन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले कर्णालीमा हिमपात र कृषि क्षेत्रको पारस्परिक सम्बन्ध रहेको बताए । उनका अनुसार खेताली तथा लेकाली क्षेत्रमा हिउँदमा लगाईएको बाली हिउँले मात्रै सिँचाई गर्छ ।

तर पछिल्ला वर्षहरूमा हिउँ ढिला पर्दा स्याउ बगैचा व्यवस्थापनदेखी अन्य बालीनालीमा समस्या हुने गरेको उनले बताए । फागुनमा नयाँ स्याउका विरुवा रोप्नका लागि माटोमा चिस्यान कायम राख्न पनि हिउँ जरुरी रहेको उनको भनाइ छ । ‘सिँचाई सुविधा नभएको लेकालि क्षेत्रमा पनि हिउँ संकलन पोखरी निर्माण गरी स्याउ खेतीका लागि सिँचाई गर्ने किसानलाई समेत हिमपातले राहत गरेको छ’ उनले भने, ‘स्याउका खाल्डामा हिउँ हाल्ने, पोखरी बनाएर हिउँ जम्मा गरी राख्ने र त्यसपछि माटोमा पछि सम्म चिस्यान काम गरी सिचाइको काम गर्न सकिन्छ ।’

हिउँदे बालीको उत्पादन बढाउन कर्णालीमा पुष माघ भित्र हिउँ अनिवार्य रहेको प्रमुख अधिकारीको भनाई छ । पहिलो हिमपातले चिसो बढेपनि कृषि क्षेत्रका लागि निकै राम्रो हुने जुम्लाका बरिष्ठ किसान रामकृष्ण बुढ्थापाले बताए । यो वर्ष ढिला भएर माघमै हिउँ पर्नु किसानका लागि खुसीको कुरा रहेको उनको भनाइ छ ।

त्यस्तै डोल्पा जिल्ला र मुगुका सबै क्षेत्रमा बाक्लो हिउ परेको बताए । कृषि उत्पादनले आत्मनिर्भर मानिने कार्मारोङ क्षेत्रमा हिउँ परेपछि मुगुका किसान खुसी भएका छन् । हिमपातपछि कर्णालीमा शनिवार हवाई सेवा समेत अबरुद्ध भएको छ । हवाई सेवा अबरुद्ध भएपछि धेरै यात्रु विमानस्थलमै अलपत्र परेका छन् । नेपालगन्जबाट जुम्ला, मुगु, हुम्ला र डोल्पामा हुने नियमित उडान बन्द भएका छन् ।

तर सडक यातायात भने सञ्चालनमै रहेको छ । साथै हिमपातपछि कर्णालीका पर्यटकीय गन्तव्यमा आन्तरिक बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । यो सिजनमा विशेषगरी कर्णाली राजमार्ग हुदै मुगुको राराताल तथा मुर्माटपमा हिउँ खेल्न पर्यटक पुग्ने गरेका छन्।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार