आठौँ उपमेयर छात्रा कपमा सगरमाथा र लक्ष्मी माविको जित



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा जारी आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ जारी छ । कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा माघ ४ गतेबाट सुरु भएको प्रतियोगिता चलिरहेको छ । प्रतियोगिताको चौथो दिन दुई खेल भए ।
कोहलपुर क्रिकेट मैदानमा पहिलो खेल ज्ञान ज्योति मावि र सगरमाथा स्कुलले प्रतिस्पर्धा गरेका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेको सगरमाथाले १३.४ ओभरमा अलआउट हुँदै ५७ रन बनाएको थियो । ५८ रनको सामान्य लक्ष्य पाएको ज्ञान ज्योतिले ८.४ ओभरमै अलआउट हुँदै जम्मा ४१ रन मात्रै बनाउन सक्यो । उक्त खेलमा सगरमाथा १६ रनले विजयी भएको खेल संयोजक मदन विकले बताए । खेलमा म्यान अफ द म्याच सगरमाथाकी करिष्मा शाही भइन् ।

उनलाई समाजसेवी चिन्तामणी धितालले पुरस्कार वितरण गरेका थिए । यस्तै, दोस्रो खेल लक्ष्मी मावि र एभरेष्ट सैनिकबीच भएको हो । दोस्रो खेलमा लक्ष्मी मावि विजयी भएको संयोजक सुनारले बताए । टस जितेर पहिला ब्याटिङ गरेको एभरेष्ट सैनिकले १० ओभरमा अलआउट हुँदै ४९ रन बनाएको थियो । गिता परियार म्यान अफ द म्याच घोषणा भएकी छन् ।

प्रतियोगितामा १३ विद्यालय सहभागी छन् । संयोजक विकले प्रतियोगिताको पाँचौँ दिन पनि दुई खेल हुने जानकारी दिए । तेस्रो दिन त्रिभुवन मावि र पञ्चकोशी स्कुलले जितेका थिए । दोस्रो दिन लक्ष्मी मावि र ज्ञान ज्योति मावि विजयी भएका थिए । पहिलो दिन बालशिक्षा मावि भरैया विजयी भएको थियो । प्रतियोगितामा कोहलपुर नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू गरेर १३ वटा विद्यालय सहभागी छन् ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले ३५ हजार नगद, किट ब्याग, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वितीय हुने विद्यालयले २५ हजार नगद, किट ब्याग, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट बलरलाई ५ हजार नगद, ट्रफी र उत्कृष्ट ब्याटरलाई ५ हजार नगद प्रदान गर्नुका साथै प्लेयर अफद टुर्नामेन्टलाई ५ हजार नगद प्रदान गरिने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार