बलिदान दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश राजधानी जनकपुरधामबाट चुनावी सभा सुरु गरेको छ । बालेन शाहलाई पार्टीको भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै अभियान सुरु गरेको हो । ‘अबकी बार बालेन सरकार’लाई पार्टीको अर्जुनदृष्टि रहेको भन्दै अब देशको नेतृत्व मधेश प्रदेशले गर्ने घोषणा गरिएको थियो ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
मधेश प्रदेशको राजधानी जनकपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी अभियान शुभारम्भ गरेको छ । ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्दै रास्वपाले चुनावी अभियान भव्य रूपमा सुरु गरेको हो । ‘हामी आयौँ’ भन्दै रास्वपाका शीर्ष नेताहरूको टोलीसहित मधेश बलिदान दिवसको अवसर पारेर जनकपुरधाम पुगेका थिए ।
‘परिवर्तन उद्घोष सभा’मा जेनजी अगुवासहित रास्वपाका केन्द्रीय नेताहरूले सम्बोधन गरे । उक्त सभाबाटै काठमाडौँ महानगरको नगरप्रमुख पदबाट राजीनामा दिएका बालेन्द्र शाह ‘बालेन’लाई रास्वपाबाट आधिकारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरियो । रास्वपाका शीर्ष नेताहरूले ‘अबकी बार, बालेन सरकार’ भन्दै मत मागेका थिए । उनीसहितका रास्वपाका नेता आइतबार साँझ जनकपुरधाम पुगेका थिए । सोमबार बिहान मात्रै बालेनले ऐतिहासिक जानकी मन्दिरमा पुगेर दर्शन तथा विशेष पूजापाठ गरे ।
लगत्तै उनी सिरहा जिल्लाको लहान पुगेर मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोसहितका शहीदहरूको शालिकमा माल्यार्पण गरेका थिए । आइतबार मात्रै रास्वपाको वरिष्ठ नेताका रूपमा रास्वपाको घण्टी घर पुगेका बालेन पहिलोपटक राजनीतिक सभामा सम्बोधन गरे । जनकपुरमा मैथिली भाषामा सम्बोधन गरेका बालेनले भनेका थिए, ‘एउटा मधेसीया केटो प्रधानमन्त्री बन्छ भनेर घण्टीमा भोट हाल्ने होइन । सही मान्छे, ल्याउनका लागि, सही सरकार आउनका लागि घण्टीमा भोट हाल्नुस् ।’
उनले रास्वपा प्रदेशलाई अझै बलियो बनाउने पक्षमा रहेको बताए । ‘पहिला प्रदेशलाई बलियो बनाउनुपर्छ । काठमाडौँ जाने व्यवस्था बदल्नुपर्छ। अधिकार माग्न होइन, पशुपति घुम्न जाने काठमाडौँ । पशुपतिनाथ, स्वयम्भूनाथ दर्शन गर्न जाने हो, अधिकार माग्न जाने होइन,’ बालेनको भनाइ थियो । बालेनले जनकपुरलाई धार्मिक पर्यटनसँग जोड्न सकिने उद्घोष गर्दै भारतको अयोध्यामा मात्रै १० करोड पर्यटकले भ्रमण गर्ने भन्दै जानकी माताले मात्रै एक करोड टुरिस्ट ल्याउनुपर्ने हो ? भन्दै प्रश्न गरेका थिए ।
यस्तै उनले करिब ४ वर्ष काठमाडौँको मेयरका रूपमा काम गर्दा दैनिक माइतीघर मण्डलामा उखु किसान, मिटरब्याज पीडितहरू धर्नामा बसेको देखेको भन्दै मूकदर्शक भएर बस्नुप¥यो भन्दै दुःखेसो समेत पोखे । मेयरका रूपमा केही गर्न नसकिएको भन्दै अब संघको सरकारमा गएर मधेशको लागि काम गर्ने इच्छा जाहेर गरे । ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह भएको घोषणा गरे ।
उनले भने, ‘यसअघिको चुनावमा उन्नत बिउ रोपेका थियौँ । त्यो बिउ हुर्केर, बढेर उन्नत भएर अघि बढेको छ । आजको उपस्थिति त्यसको उदाहरण हो ।’ उनले बालेनसँगको भेटको प्रसँग उठाउँदै बालेनले आफूलाई सपना बताएको र आफूले मधेशपुत्रलाई प्रधानमन्त्री बनाउने सपना देखेको बताएको जानकारी दिए । आफ्नो घरको भित्तामा रहेको स्वर्गीय आमाको फोटोसँग कुरा गर्दै अब देशको नेतृत्व बालेनले गर्ने भनेको समेत सुनाए । बालेर आफू जनताको हित र चाहनाअनुसार एकै ठाउँमा उभिएको सभापति लामिछानेको भनाइ थियो ।
रास्वपाको ब्रान्डिङ ः ‘अबकी बार, बालेन सरकार’
मधेश प्रदेशमा २७ वटा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र छन् । रास्वपाले २०७९ को निर्वाचनमा मधेश प्रदेशबाट १ लाख ७ हजार मत पाएको थियो । निर्वाचनको केही समयअघि मात्रै जन्मिएको पार्टी देशको चौथो पार्टी बन्दा मधेशमा निकै कमजोर देखिएको थियो । त्यसयता रास्वपाले मधेशमा आफ्नो प्रभाव विस्तारको रणनीति लिएको थियो । त्यही प्रयासस्वरुप रास्वपाले जलेश्वरमा केन्द्रीय कमिटीको बैठक राख्यो ।
फागुन २१ गते तोकिएको निर्वाचनको लागि पनि रास्वपाले चुनावी सभा मधेशको राजधानीबाटै सुरु ग¥यो । मधेश प्रदेशमा बलिदान दिवसको रूपमा मनाइने माघ ५ गतेका दिनको अवसर पारेर ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरियो । उक्त सभामा सम्पूर्ण वक्ताहरूले अबको देशको नेतृत्व मधेशले गर्ने उद्घोष गरे । सो अवसरमा बालेन र उनको मधेश साइनोको स्थापित गर्ने समेत भरपुर प्रयास भयो । बालेनलाई ‘मधेशपुत्र’, ‘मधेशी मुलको पहिलो प्रधानमन्त्री’का रूपमा प्रचार गर्दै आधिकारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा ग¥यो रास्वपाले ।
१९ वर्ष अगाडि २०६३ माघ ५ गतेको मधेश आन्दोलनमा मारिएका शहीदको सम्झनामा मधेशले बलिदान दिवस मनाउँदै आएको छ । सोही दिनलाई रास्वपाले परिवर्तन उद्घोष सभा आयोजना गरेर मधेश आफ्नो प्राथमिकतामा रहेको सन्देश दिन खोज्यो । आइतबार मात्रै मधेश झरेका बालेनको लोभलाग्दो क्रेज देखियो । सो अवसरमा रास्वपा संघीयताकै पक्षमा रहेको बताउनु महत्वपूर्ण सन्देश थियो ।
बालेनले समेत प्रदेश संरचना बलियो बनाउनुपर्नेमा जोड दिए । रास्वपाका भावी प्रधानमन्त्री उम्मेदवार बालेनले पनि मैथली भाषामा सम्बोधन गरे । मधेशलाई प्रतिनिधित्व गर्ने पहिरनसहित उनले आफू ‘मधेशकै पुत्र’ भएको सन्देश प्रवाह गरे । काठमाडौँमा जन्मिएका र हुर्किएका ३५ वर्षीय बालेनले आफ्नो पहिचानमा मधेश जोडे ।
‘मधेशको छोरा पनि प्रधानमन्त्री बन्न सक्छ, मधेशी पनि प्रधानमन्त्री बन्न सक्छ’ भन्ने सन्देश दिए बालेनले । त्यसो त बालेन पूर्वी नेपालको झापा–५ बाट चुनाव लड्दै छन् । जहाँ उनको प्रतिस्पर्धा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुनेछ । जनकपुरमै पार्टी सभापति रवि लामिछानेबाट झापा–५ को टिकट प्राप्त गरेका बालेनले आज त्यहाँबाट प्रत्यक्षतर्फको उम्मेदवारी दिदैँछन् ।
मधेशको राजधानीबाट रास्वपाको चुनावी सभा
परिवर्तन उद्घोष सभाका पहिलो वक्ता थिए, जेनजी अगुवा पुरुषोतम यादव । उनले मधेशमा विद्यामान बेथिति, विसंगति, गरिबी सहन नसकेर एक २७ वर्षीय युवा गएर जेनजी आन्दोलनको नेतृत्व गरेको बताए । अबको प्रधानमन्त्री मधेशपुत्र बालेनलाई घोषणा गरेर परिवर्तनको अर्को अध्याय सुरु भएको उनको भनाइ थियो । उनले उद्घोष गरे, ‘मधेश समस्या होइन, मधेश शक्ति हो । अब मधेश रैती होइन । मधेशले देशको नेतृत्व गर्छ ।’
थारु अभियन्ता सुरेन्द्र चौधरीले मधेशबाट परिवर्तनको महायात्रा सुरु भएको बताए । नेकपा परित्याग गरेर रास्वपा प्रवेश गरेका रहबर अन्सारी मधेशबाट देशको नेतृत्व गर्न र शान्तिको सन्देश प्रवाह गर्ने अभियानमा आफू जोडिएको बताए । हालसम्म देशको नेतृत्व सम्हालेका नेताहरूले धेरै भाषण गरेर मधेशको सपना जमिनमुनि गाडेको उल्लेख गर्दै ती सपनाहरूलाई ज्वालामुखी झैँ विकासको विगुल फुकिने उनले बताए ।
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले देश परिवर्तनको यात्रा मधेशबाट सुरु भएको र अब मधेश जागिसकेको बताइन् ।
रास्वपा नेतृ सोविता गौतमले मधेशबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेसँगै रास्वपा पूर्ण भएको बताइन् । उनले भनिन्, ‘आज मधेश हाँसेको छ । देश हाँसेको छ । देशले परिवर्तनको लागि देशको प्रधानमन्त्री बालेनलाई देखेको छ ।’
यस्तै, नेपाली काँग्रेस परित्याग गरेर २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका डा.अमरेशकुमार सिंहले रास्वपा प्रवेश गर्दै बालेन र रविलाई वीपी कोइरालासँग तुलना गरे । रास्वपा प्रवक्ता मनिष झा उक्त अवसरमा सिराहा ३ बाट उम्मेदवारी घोषणा गर्दै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने अयोध्या र जनकपुर जोड्ने र जनकपुर रंगशाला निर्माणसहित आधारभूत आवश्यकता परिपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्गीम वाग्लेले रास्वपासँग विसंको २१०० सम्मको योजना रहेको बताए । उनका अनुसार अबको देश विकासको मुख्य प्राथमिकता मधेशको विकास हो । यस्तै रास्वपाका अर्का उपसभापति डोलप्रसाद अर्यालले अबको निर्वाचनपछि मधेशको छोरो प्रधानमन्त्री हुने घोषणा गरे । मधेशबाट रास्वपाको चुनावी अभियान सुरु भएको छ ।









प्रतिक्रिया दिनुहोस्