न्युजिल्यान्डले घरेलु टोली भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ । आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा ४१ रनले विजयी हुँदै न्युजिल्यान्डले शृंखला २–१ ले जितेको हो ।
इन्दोरस्थित होल्कर क्रिकेट रंगशालामा न्युजिल्यान्डले प्रस्तुत गरेको ३३८ रनको लक्ष्य पछ्याएको भारत ४६ ओभरमा २९६ रनमै समेटियो । भारतका लागि विराट कोहलीले १०८ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक १२४ रनको योगदान गरे । यसैगरी नितिशकुमार रेड्डीले ५३, हर्षित रानाले ५२, कप्तान शुभमन गिलले २३, रविन्द्र जडेजाले १२ र रोहित शर्माले ११ रन बनाए ।
आठौँ विकेटका लागि विराट र हर्षितले ९९ रनको साझेदारी गरेका थिए । न्युजिल्यान्डका लागि जकारी फोल्क्स र क्रिस्टन क्लार्कले ३–३ तथा जेडन लेनक्सले २ तथा काइल जेमिसनले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३७ रनको योगफल तयार पारेको थियो ।
न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले १३१ बलमा १५ चौका र ३ छक्काको मद्दतले सर्वाधिक १३७ रनको योगदान गरे । यसैगरी ग्लेन फिलिप्सले ८८ बलमा ९ चौका र ३ छक्कासहित १०६, विल योङले ३०, कप्तान माइकल ब्रेसवेलले २८, क्रिस्टियन क्लार्कले ११ र ज्याक फाउल्क्सले १० रन बनाए ।
भारतका लागि अर्शदीप सिंह र हर्षित रानाले ३–३ तथा मोहम्मद सिराज र कुलदीप यादवले १–१ विकेट लिए । यसअघि शृंखलाको पहिलो खेलमा भारत ४ विकेट र दोस्रो खेलमा न्युजिल्यान्ड ७ विकेटले विजयी भएका थिए ।









प्रतिक्रिया दिनुहोस्