मद्रास इन्टरनेशनल सर्किटमा नेपालका श्रीहरिको उत्कृष्ट प्रदर्शन



काठमाडौँ ।

नेपाली राइडर श्रीहरि पौडेलले भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा आयोजित एमएमएससी नेपाल टिभीएस रेसिङ रेसमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को ‘एक्सप्लोर द ट्रयाक’अन्तर्गत सन् २०२६ को पहिलो अन्तर्राष्ट्रिय सहभागिता भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न भएको हो ।

यही जनवरी ९ देखि ११ सम्म विश्वस्तरीय ट्रयाकमा भएको एमएमएससी नेपाल टिभीएस रेसिङ रेसमा श्रीहरिसहित नेपाली राइडरहरूले प्रभावशाली प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय रूपमा प्रशंसा बटुलेको नासा नेपालले बुधबार विज्ञप्तीमार्फत जानकारी गराएको छ । नासा नेपालको तर्फबाट मद्रास मोटर स्पोट्र्स क्लब (एमएमएससी)द्वारा आयोजित एमएमएससी नेपाल टिभीएस रेसिङमा पहिलो दिन ओरियन्टेसन, दोस्रो दिन प्राक्टिस रेस हुँदै अन्तिम दिन ११ जनवरीमा फाइनल रेस सम्पन्न भएको थियो ।

जसमा नेपाली राइडरहरूमध्ये श्रीहरि पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गरे । घरेलु रोड रेसिङमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै दबदबा राख्दै आएका पौडेलले अन्तर्राष्ट्रियस्तरको ट्रयाकमा समेत आफूलाई अब्बल सावित गरे । त्यसैगरी अभिनव राज मल्ल दोस्रो तथा दिलिप दनुवार तेस्रो स्थानमा रहे ।

विजेता सहितको सम्पूर्ण नेपाली टिमलाई मद्रास मोटर स्पोट्र्स क्लबका अधिकारीहरूले विशेष सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । गत डिसेम्बर २० मा धुलिखेलमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिपका सबै क्याटागोरीका विजेता तथा उत्कृष्ट खेलाडीहरू चेन्नईमा भएको इनेन्टमा सहभागी थिए ।

नेपाली टिममा श्रीहरि, अभिनव र दिलिपसँगै राजकुमार कार्की, सायल गजमेर, प्रशान्त सुतीहार, साइमन चौलागाईं, दिपेश जैसवाल, अभि रिसाल, वर्षा बस्नेत र नीतिका गजुरेल राइडरको रूपमा रहेका थिए । नेपाली टोलीको व्यवस्थापन मोटर स्पोट्र्स नेपाल क्लबले गरेको थियो भने क्लबका निर्देशक विनोद तण्डुकार टिम म्यानेजर तथा बागमती प्रदेश अटोमोबाइल एसोसिएसनकी सदस्य मिना थापा अफिसियलको रूपमा सहभागी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार