काठमाडौँ ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनमा नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ लगातार दोस्रो दिन अग्रतामा रहेका छन् । निरज ६–अन्डर ६४ को उत्कृष्ट स्कोरमा ५ स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा कायमै रहन सफल भए ।
निरजले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ५ स्ट्रोकले पछि पार्ने क्रममा निरजले समग्रमा १२–अन्डर १२८ लोभलाग्दो प्रदर्शन गरे । राहुलले पनि ६–अन्डर ६४ को स्कोर निकाल्दा समग्रमा ७–अन्डर १३३ सहित दोस्रो स्थानमा रहे ।
समग्रमा ४–अन्डर १३६ को स्कोरमा धरानका प्रो शुक्रबहादुर राई र टंकबहादुर कार्की संयुक्त रूपमा तेस्रो स्थान बाँडे । शुक्रले ३–अन्डर ६७ र टंकले १–अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए । बिहीबार ४–अन्डर ६६ खेल्दै दिनेश प्रजापति समग्रमा ३–अन्डर १३७ सहित पाँचौँ स्थानमा रहेका छन् । समग्रमा १–अन्डर १३९ सहित रवि खड्का, भुवन नगरकोटी र बलभद्र राई संयुक्त रूपमा छैटौँ स्थान बाँडे । रविले १–अन्डर ६९, भुवनले इभन–पार ७० र बलभद्रले २–ओभर ७२ को स्कोर निकाले ।
समग्रमा २–ओभर १४२ स्कोरका साथ दुई एमेच्योर पदम हाङ्ग लिम्बु र प्रकृत तामाङ संयुक्त रूपमा नवौँ स्थानमा रहे । पदमले २–अन्डर ६८ र प्रकृतले ३–ओभर ७३ को स्कोर तयार पारे । नेपाल नम्बर एक निरजले आफ्नो घरेलु कोर्समा लागातार दोस्रो दिन ६–अन्डर खेल्ने क्रममा दोस्रो, तेस्रो, पाँचौँ, छैटौँ, आठौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गरे । ६ बर्डीको सहायतामा बोगी फ्रि ६–अन्डर ३० मा फ्रन्ट नाइनको खेल सानदार शैलीमा सकाए । ११औँ होलमा पनि एक सट बचाए तर १५औँ होलको बोगीले ब्याक नाइन इभन–पार ३४ मा सकाए ।
राहुलले बोगीरहित कार्ड बनाउने क्रममा फ्रन्ट नाइन ३–अन्डर ३३ र ब्याक नाइन पनि ३–अन्डर ३१ मा सकाए । उनले पाँचौँ, छैटौँ, नवौँ, १०औँ, १२औँ र १८औँ होलमा गरी कूल ६ बर्डीको सफलता प्राप्त गरे । शुक्रले दोस्रो, तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरे पनि चौथो र पाँचौँ होलमा एक–एक सट खेर फाल्दै फ्रन्ट नाइन १–अन्डर ३५ मा पूरा गरे । टंकले दोस्रो होलको बोगीका विरूद्ध पहिलो र सातौँ होलमा बर्डी खेप्दा फ्रन्ट नाइन १–अन्डर ३५ खेले । यसपछि १०औँ, १२औँ र १८औँ होलमा एक–एक सट बचाए ।
११औँ, १४औँ र १५औँ होलको बोगीले ब्याक नाइम इभन–पार ३४ मा सकाए । ३६ होलको समाप्तिमा ११–ओभर १५१ सम्म स्कोर गरेका १७ प्रोफेसनल तथा ७ एमेच्योर खेलाडीले कट बनाए । १४औँ होलमा होल–इन–वान गरेका जयराम श्रेष्ठसहित प्रोफेसनल खेलाडी सुमन परियार, सुनिल केसी, सञ्जय लामा, सुमन राई, भुवन कुमार रोक्का, दीपक मगर, कृष्णमान राजबाहक, सुरेश तामाङ, सूर्यप्रसाद शर्मा र धनबहादुर थापाले तेस्रो तथा अन्तिम दिनको लागि स्थान सुरक्षित गरे ।
एमेच्योरतर्फ राहुल ७–अन्डर १३३ स्कोरसहित शीर्ष स्थानमा छन् । उनी पदम हाङ लिम्बु र प्रकृत तामाङभन्दा ९ स्ट्रोकले अघि छन् । अन्य चार एमेच्योर खेलाडी, सुन्दर राई, राम तामाङ, जितेन्द्र राई र बलराम पौडेलले पनि कट बनाए । ११–ओभर १५१ स्कोर गरे पनि शिवकुमार माझी, थामबहादुर राई, राजेन राई तथा एमेच्योर गजेन्द्र लिम्बु काउन्ट ब्याकका आधारमा कट बनाउन सकेनन् ।
सूर्य नेपाल प्रालिको प्रायोजनमा तीन दिनसम्म चल्ने ५४ होलको प्रतिस्पर्धामा कूल पुरस्कार राशि १० लाख ५० हजार रूपैयाँ छ । प्रतियोगिताको उपाधि विजेताले एक लाख ७० हजार रूपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले एक लाख रूपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा २२ एमेच्योर खेलाडी प्रतिस्पर्धामा छन् ।
प्रतियोगिताको समापन माघ १७ गते शनिबार प्रो–एम प्रतियोगितासँगै हुनेछ । प्रो–एम इभेन्टमार्फत एमेच्योर गल्फरहरूले व्यावसायिक खेलाडीसँग एउटै टिममा खेल्ने अवसर पाउनेछन् । सूर्य नेपाल गल्फ टुर २०२५–२६ मा कूल आठ प्रतियोगिता समावेश छन् । जसको समग्र पुरस्कार राशि ८० लाख रूपैयाँ छ । नेपालको प्रमुख व्यावसायिक गल्फ सर्किटका रूपमा स्थापित यो टुरले यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्