नेपालगन्ज (बाँके) ।
बुधबार नेपालगन्जस्थित कान्ति तालमा जलपन्छी गणना गर्ने कार्य सम्पन्न भएको छ । कान्ति तालमा गणना गरेसँगै यस वर्ष बाँकेमा जलपन्छी गणना गर्ने कार्य सकिएको छ । बाँकेमा पुस २९ र ३० गते गरी दुई दिनसम्म विभिन्न तालतलैया, सिमासर क्षेत्र, जलाशय क्षेत्र तथा नदी क्षेत्रमा पानीमा आश्रित जलपन्छी गणना सुरु गरिएको थियो ।
नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले पुस २९ र ३० गते गरी दुई दिनसम्म बाँकेका विभिन्न तालतलैया, सिमासर क्षेत्र, जलाशय क्षेत्र तथा नदी क्षेत्रमा पानीमा आश्रित जलपन्छीको गणना गरिएको बताए । देशैभर गणना भएका जलपन्छीको तथ्यांक वैशाख महिनामा मनाइने वन्यजन्तु सप्ताह कार्यक्रममा सार्वजनिक हुने उनले बताए । नेपालमा हरेक वर्ष जनवरीको पहिलो हप्तादेखि जलपन्छी गणना हुँदै आएको उनले जानकारी दिए ।
यस वर्ष नेपालका विभिन्न स्थानहरूमा पुस १९ गतेदेखि जलपन्छीको गणना सुरु गरिएको र माघ ४ गतेसम्म गणना गरिने उनले बताए । पानीमा आश्रित जलपन्छीको अवस्था, प्रजातिको अवस्था, तथा तालतलैया र सिमसार क्षेत्रको अवस्थासमेतका बारेमा जानकारी लिइने उनले बताए । ‘नेपालमा जलपन्छीको अवस्था के छ ? कुन कुन प्रजातिका छन् ? सङ्ख्या घटेको छ कि बढेको छ ? चराको अवस्था के छ ? भन्ने बारेमा गणना गर्छौँ, उनीहरूको आहारविहार तथा सिमसार क्षेत्र र तालतलैयाको अवस्था पनि पत्ता लगाउँछौँ, सबै तथ्यांक बनाएर सरकारलाई बुझाउँछौँ ।’ परियोजना अधिकृत नेपालीले भने ।
जाडो सिजनमा उत्तरी ध्रुवमा हिउँ पर्ने हुँदा त्यहाँका चराहरूलाई आहारविहारको समस्या पर्ने हुँदा हरेक वर्ष आगन्तुक चराहरू खानाको खोजीमा बसाइँसराई गरी यतातिर आउने गरेको उनको भनाइ छ । ‘उत्तरी ध्रुवमा हिउँ परेपछि आहारविहारको कमी हुने हुँदा बसाइँसराई गरेर चराहरू नेपाल आउने गर्छन्, विश्वमा चराका ८ वटा उडान मार्ग छन्, नेपाल दक्षिण एसिया मार्ग पर्छ, विभिन्न देशबाट चराहरू यो मार्ग हुँदै नेपाल आउँछन्, प्रायः हाँस प्रजातिका बढी आउने गर्दछन्, उनीहरूको अवस्थाका बारेमा हामीले तथ्यांक संकलन गर्दछौँ ।’ नेपालीले भने ।
नेपालमा चार सयभन्दा बढी चरा स्वयंसेवकहरू गणनामा लागेका उनले बताए । नेपालका ८० बढी सिमसार तथा जलीय क्षेत्रहरूमा जलपन्छीको गणना भइरहेको उनको भनाइ छ । उनले चराको अवस्थाका बारेमा अद्यावधिक गरेर सरकारलाई बुझाइने र सरकारले नीति निर्माण गर्दा र कार्ययोजना बनाउँदा टेवा पुग्ने उल्लेख गरे ।
चरा गणना गर्ने मात्र नभएर समुदायस्तरमा यसका बारेमा सचेतना जगाउने, चरा संरक्षणमा प्रोत्साहन गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चरा संरक्षणका बारेमा जानकारीमूलक जनचेतना पनि बढाइने गरिएको उनको भनाइ छ । बाँकेको नेपालगन्जस्थित कान्ति तालमा नेपाल सरकारले संरक्षण सूचिमा राखेका ९ प्रजातिका चरामध्ये सारसको एक प्रजाति पाइने उनले जानकारी दिए ।
सारसका साथै यहाँ सिलसिले हाँस, मरुन, कुट, वकुल्ला प्रजाति, जलेवा, सिम कुखुरा, किङ फिसरलगायत पानीमा आश्रित अन्य जलपन्छीहरू रहेका उनले बताए । बाँकेमा नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत नेपालीसहित संघकै सुरज बस्नेत, इन्द्रजीत परियार, पृथ्वी चौधरी, अमृत नेपाली र फोटोग्राफर विमल प्रधानले जलपन्छी गणना गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्