खडेरीले किसान चिन्तित



हुम्ला ।

जिल्लाका किसान यस वर्षको लामो खडेरीले चिन्तित बनेका छन् । गत असोजयता पुस महिना सकिनै लाग्दा पनि जिल्लामा हालसम्म वर्षा तथा हिमपात हुन सकेको छैन । यतिबेला वर्षा तथा हिमपात नहुँदा हिउँदे खाद्यबाली राम्रो नहुने भन्दै किसान चिन्तित भएका हुन् । गएको कात्तिक महिनामा छरेको जेठासी बाली उवा, जौ र गहुँँको बीउ नउम्रेपछि किसान थप चिन्तित बन्न बाध्य भएका हुन् ।

जिल्लाको खार्पुनाथ गाउँपालिका–१ का किसान जानबहादुर शाहीले दुई महिनाअघि छरेको जेठासी बाली हालसम्म पनि उम्रन नसकेको बताए। यसबारे चिन्ता व्यक्त गर्दै उनले हालसम्म हिमपात नहुँदा खडेरीको कारण जग्गामा छरेको बीउनै नउम्रने अवस्थामा गएको बताए । ‘खडेरीले जिल्लाभरका किसान समस्यामा परेका छन् । जौ, गहुँ र उवा छरेको जग्गा यतिबेला उम्रेर हरियो देखिनुपर्नेमा सुख्खा देखिन थालेको छ,’ उनले भने, ‘पुसको महिना राम्रोसँग वर्षा तथा हिमपात भए मात्रै जेठासी बाली राम्रो हुन्छ । तर यसवर्ष हालसम्म हिमपात नभएपछि बाली उम्रन नसक्दा चिन्ताले पिरलेको हो ।’

इता सिमकोट गाउँपालिका–२ का किसान जव्वरे भण्डारीले हालसम्म जेठासी बाली उम्रन नसक्नु चिन्ताको विषय भएको बताए । जलवायु परिवर्तनको असर हिमालमा हिउँदमा हिउँ पर्न छोडेको कारण छरेको बाली उम्रन नसकेको विज्ञहरू बताउँछन् । यो समस्या सिमकोट र खार्पुनाथ गाउँपालिकाका किसानको मात्र नभएर नाम्खा, सर्केगार्ड, चंखेली, अदानचुली र ताँँजाकोट गाउँँपालिकामा रहेको छ ।

केही सिँचाइ सुविधा भएका जग्गामा मात्र जौ, उवा र गहुँ उम्रेको छ । तर सिँचाइ सुविधा नभएका अन्य सबै ठाउँको अवस्था उस्तै रहेको छ । जिल्लाभर हिमपात हुन नसकेकोले दुई महिनाअगाडि छरेको बाली उम्रन नसकेको र उम्रेको पनि खडेरीले सुकेको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख चुडामणी पन्तले हिमालमा हिमपात हुनै छोडेपछि किसान समस्यामा परेको बताए । तर यो समस्या समाधानको विकल्पसमेत नदेखिएको उनको भनाइ छ । जिल्लाका किसानले कृषि बीमासमेत गर्ने अवस्था नरहेकोले किसान घाटामा जाने उनको भनाइ छ । गत असोजको तेस्रो र कात्तिकको पहिलो हप्ता जिल्लाको उच्च भागमा थोरै हिमपात भए पनि खेतीयोग्य क्षेत्रमा हिमपात हुन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार