बर्दियामा चरा गणनाको तयारी



कोहलपुर (बाँके) ।

बर्दियामा चरा गणना तयारी सुरु भएको छ । जिल्लाभरिका वनक्षेत्रमा चरा गणनाको तयारी गरिएको हो । चरा गणनाकै सन्दर्शमा शनिबार बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा सरोकारवाला निकायसँग छलफल गरिएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोककुमार रामको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकरी सरोजमणी पौडेलका अनुसार सरोकारवालाहरूसँग ‘एसियन शीतकालीन पंक्षी गणना’बारे छलफल गरिएको थियो । सोही कार्यक्रमअन्तर्गत बर्दियामा पनि चरा गणना गर्न लागिएको उनले बताए । बर्दिया जिल्लाअन्तर्गतका निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, वनक्षेत्र, सामुदायिक वनलगायत चरा देखिने सबै ठाउँमा चरा गणना गरिने सूचना अधिकारी पौडेलको भनाइ छ ।

‘बर्दियामा चरा गणनाको तयारी सुरु भएको छ । सोही विषयमा छलफलका लागि सरोकारवालाहरूको बैठक आह्वान गरिएको थियो । बैठकले जिल्लामा चरा गणनाका लागि सम्पूर्ण संघसंस्थाहरूले आवश्यकताअनुसार सहयोग गर्ने निर्णय गरिएको छ ।’ उनले भने, ‘बर्दिया जिल्लामा रहेका विभिन्न तालतलैया र नदीहरूमा जाडोको समयमा बसाइँ सरी आउने र रैथाने पानी चराहरूको सङ्ख्या उल्लेख्य हुने गरेको छ ।

साइबेरियालगायत विभिन्न देशबाट जाडो छल्नका लागि आउने पाहुना चराको हरेक वर्ष गणना गर्ने गरिएको छ ।’ बर्दियामा २०८१ सालमा गरिएको चरा गणनामा कूल तीन हजार ८८९ वटा जलचर चरा भेटिएका थिए । तीमध्ये बढैयातालमा सबैभन्दा बढी दुई हजार १४९ वटा, कर्णाली नदीमा ९१८ र गेरुवा नदीमा ८२२ वटा चरा फेला परेको निकुञ्जको तथ्यांक छ ।

बर्दियामा २०८० मा तीन हजार २०४ र २०७९ को चरा गणनामा दुई हजार १२६ वटा चरा गणना गरिएको थियो । छलफलमा निकुञ्जका प्रतिनिधिसहित बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ जबरजङ्ग गणका गणपति, होटल एसोसियसनका पदाधिकारीहरू, राष्ट्रिय प्रकृति संरक्षण संघ, जेटएसएल र पंक्षी एसोसिएसनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार