एकसातामै पाटेबाघले लियो तीनजनाको ज्यान



कोहलपुर (बाँके) ।

बाँके र बर्दियामा एकसाताको अवधिमा पाटेबाघले तीनजनाको ज्यान लिएको छ । पुस १९–२५ गतेसम्मको अवधिमा बाघको आक्रमणबाट तीनजनाको ज्यान गएको हो । बाघको आक्रमणबाट बाँके, सुर्खेत र सल्यानका तीनजनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् ।

शुक्रबार बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रअन्तर्गत रहेको सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर ७ घुईयाबारी नजिक पर्सेनी घर भएकी ४२ वर्षीया धनसरी रावतको बाघको आक्रमणबाट मृत्यु भएको थियो । मृतक रावत शुक्रबार बिहान घर नजिकैको हरियाली सामुदायिक वन क्षेत्रमा दाउरा काट्न गएको बेला बाघको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यान प्रहरी प्रमुख (डीएसपी) हेमबहादुर केसीका अनुसार दिउँसो रावतलाई स्थानीयले बाघले घिसार्दै लगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी गर्दा रावतको शव मृत अवस्थामा फेला परेको थियो । बाघले रावतको एउटा खुट्टा खाएको अवस्थामा शव भेटिएको केसीको भनाइ छ ।

यही पुस १९ गते बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा समेत बाघको आक्रमणबाट एक पुरुषको निधन भएको थियो । मृत्यु हुनेमा सौरीका ६१ वर्षीय मरिचमान भण्डारी थिए । दिउँसो गाउँ नजिकैको जंगलमा गाई चराउन गएका भण्डारीलाई बाघले आक्रमण गरेको थियो । उनीसँगै गएका तीनजना भाग्ने क्रममा घाइतेसमेत भएका थिए ।

८ कात्तिकमा राप्ती सोनारी–९ गुरुवागाउँका ४० वर्षीय इन्द्रबहादुर खत्रीले बाघको आक्रमणमा परी ज्यान गुमाएका थिए । स्थानीय रिम्ना सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो । बेपत्ता भएको भोलिपल्ट खत्रीको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

यस्तै पुस २३ गते बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–५ की एक महिलाले समेत बाघकै आक्रमणबाट ज्यान गुमाएकी थिइन् । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलका अनुसार मृत्यु हुनेमा ५७ वर्षीया गंगादेवी सारू रहेकी छन् । उनलाई बिहान ७ बजेतिर बाघले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वन क्षेत्रमा महिलाको शव भेटिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । बर्दियामा पछिल्लो पाँच वर्षमा बाघसहितका वन्यजन्तुको आक्रमणबाट ३७ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौँमा बर्दियाका वन्यजन्तु पीडितको प्रदर्शन 

बर्दियाका वन्यजन्तु पीडितहरूले रत्नपार्कमा प्रदर्शन गरेका छन् । नागरिक समाज बर्दियाको अगुवाइमा भएको प्रदर्शनपछि आयोजित कोणसभामा वक्ताहरूले विगत धेरै वर्षदेखि बाघ र हात्तीबाट प्रत्येक हप्ताजसो मानिसहरूको ज्यान लिइरहे पनि सरकारले आम मानिसको सुरक्षाप्रति चासो नदेखाएको गुनासो गरेका थिए ।

उनीहरूले समस्या समाधानमा सरकारको ध्यानाकर्षण गर्दै उपयुक्त कदम चाल्न आग्रह समेत गरे । कार्यक्रममा नेकपा (संयुक्त)का केन्द्रीय सदस्य तथा प्रभावित क्षेत्र निवासी निता शर्माले सरकारले अविलम्ब समस्या समाधान नगरे आन्दोलन घोषणा गर्ने चेतावनी दिइन् । उनले भनिन्, ‘सरकारले तत्काल समस्या समाधानमा गर्नुपर्छ, अन्यथा हामी संघर्षका कार्यक्रम ल्याउन बाध्य बन्नेछौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार