झापा ।
झापामा जंगली हात्तीबाट पीडित बनेका परिवारलाई रू एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालू आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई रू एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिए । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन् भने एउटा हात्ती मृत फेला परेको उनले बताए ।
हात्तीको आक्रमणबाट सख्त खाइते दुई जनालाई रू चार लाख, मृतक चार जनाको परिवारलाई रू ४० लाख, १० वटा पशुधन क्षतिवापत रू एक लाख, एक सय ८४ परिवारले भण्डार गरेको अन्नमा क्षति भएबापत रू १४ लाख ५३ हजार सात सय ६४, दुई सय ३५ वटा घरगोठमा क्षति भएबापत रू ३७ लाख २२ हजार तीन सय र चार सय ४८ किसानको अन्नबालीमा क्षति पु¥याएबापत रू ४० लाख ६२ हजार क्षतिपूर्ति उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
राहत उपलब्ध गराइएकामध्ये गत आर्थिक वर्ष २०८१–८२ का सात सय दुई जना रहेका छन् भने चालू आवमा हात्तीबाट पीडित बनेका एक सय ८१ जनालाई राहत प्रदान गरिएको हो । थप ११ परिवारलाई रू २१ लाख राहतका लागि सिफारिस गरिएको छ । केही दिनमै उनीहरूलाई समेत राहत रकम उपलब्ध गराइने पाठकले बताए ।
राहत प्रक्रियालाई सहज बनाउन जिल्लाका चार स्थानमा रहेको सब डिभिजन कार्यालयबाट पीडितले निवेदन व्यवस्था गरिएको छ । मेची सबडिभिजन, कनकाई सबडिभिजन, जलथल सबडिभिजन र दमक सबडिभिजनबाट वन्यजन्तु पीडितले सरकारले उपलब्ध गराउने राहतका लागि निवेदन दिन सक्ने पाठकले बताए ।
राहत प्रक्रिया झन्झटिलो भएकाले समेत समयमै राहत वितरण गर्न नसकिएको वन कार्यालयका कर्मचारी बताउँछन् । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही रू १० लाख, घाइतेलाई अधिकतम रू दुई लाख, चौपाया, अन्नबाली र भौतिक संरचना क्षतिको भएको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आइएको छ ।









प्रतिक्रिया दिनुहोस्