स्याङ्जामा एक अर्ब ३२ करोडको सुन्तला उत्पादन



स्याङ्जा ।

स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कूल २३ हजार २३८ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ । यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो । स्याङ्जा जिल्लामा उत्पादन भएको कूल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छ भने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेको उनले बताए ।

यस वर्ष उत्पादन भएकामध्ये २० हजार ८८२ मेट्रिकटन बिक्री योग्य परिमाणको सुन्तला हो । स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला बगैँचाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्ष दुई हजार २५० हेक्टर क्षेत्रफलमा रहेको सुन्तला बगैँचा यस वर्ष एक सय ५० हेक्टर क्षेत्रफल वृद्धि भई दुई हजार ४०० हेक्टर पुगेको उनले जानकारी दिए । गत वर्ष एक हजार ३७० हेक्टर उत्पादनशील क्षेत्रफल रहेको थियो । यस वर्ष उत्पादनशील क्षेत्रफल एक हजार ४२० हेक्टर रहेको छ ।

हुर्कँदो बगैँचाको क्षेत्रफलसमेत गत वर्षको तुलनामा यस वर्ष एक सय हेक्टर वृद्धि भएको छ । गत वर्ष ८८० हेक्टर रहेकामा यस वर्ष ९८० हेक्टरमा हुर्कँदो सुन्तलाको बगैँचा रहेको छ । विसं २०७३–०७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५–०७६ को सुरुवातसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो ।

सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका छन् ।स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेतीलाई विस्तार गरी व्यवसायीकरण गर्न थालिएको छ । सुन्तलाखेतीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा विकास गर्नेतर्फ सुन्तला किसानको लहर बढ्दै गएको छ ।

पाखो, भिरालो जमिन तथा बारीमा अन्य रूख बुट्यानलाई फडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमिनलाई सदुपयोग गरी सुन्तलाका बोट लगाउनेतर्फ अहिले किसान आकर्षित हुँदै गएका छन् । जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, विरुवा, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र हुन् । यहाँका सुन्तला काठमाडौँ, बुटवल, पोखरा, नारायणगढलगायत ठूला सहरमा पुग्ने गरेका छन् । स्याङ्जामा उत्पादन भएको सुन्तला खरिद गर्न सिधै व्यापारी बगैँचामा पुग्ने गरेका छन् ।

म्याग्दीमा सुन्तलाको उत्पादकत्व घट्यो

प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । जिल्लास्थित कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा पाँच दशमलव ५६ प्रतिशतले उत्पादन घटेको छ । यस वर्ष विभिन्न रोग र किराको संक्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले बताए ।

‘यस वर्ष मौसमले साथ दिएको हो । रोगकिरा नदेखिएको र विपद्ले क्षति नगरे पनि यसपालि दाना कम लागेको छ,’ उनले भने, ‘एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम दाना लाग्ने सुन्तलाखेतीको प्राकृतिक विशेषताका कारण उत्पादनमा असर परेको हो ।’ गत वर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिकटनका दरले चार हजार ७८१ मेट्रिकटन सुन्तला उत्पादन भएको जनाउँदै बास्तोलाले यस वर्ष ४३० हेक्टर क्षेत्रफलमा १० दशमलव पाँच मेट्रिकटनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको अनुमान गरिएको उल्लेख गरे।

किसानको बगैँचाको नमूना अध्ययनका आधारमा प्रारम्भिक तथ्यांक निकालिए पनि सबै बगैँचाको सुन्तला बिक्री भइसकेपछि वास्तविक तथ्यांक संकलन गरिने कार्यालय प्रमुख बास्तोलाले बताए । यस वर्ष सरदर प्रतिकिलो रु ७० देखि रु ७५ का दरले सुन्तला बिक्री भएको छ । गत वर्षको तुलनामा प्रतिकिलो रु पाँच बढी मूल्य पाइएको किसानले बताएका छन् । म्याग्दीमा यस वर्ष उत्पादन हुने अनुमान गरिएको सुन्तलाको सरदर बिक्री मूल्य अनुसार रु ३१ करोड ६० लाख ५० हजार अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको ८३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका प्रमुख बास्तोलाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार