काठमाडौँ ।
प्रगतिशील पत्रकार संघ नेपालले आफ्नो उन्नाइसौँ स्थापना दिवस मनाएको छ । संघले काठमाडौँ, बुटवल, अर्घाखाँची, प्युठानलगायतका विभिन्न जिल्लाहरूमा विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको अध्यक्ष श्यामलाल पोखरेलले जानकारी दिए । काठमाडौँको कार्यक्रम राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
भट्टले वर्तमान सरकार निर्दलीय नरहेको दाबी गर्दै भने, ‘अहिलेका तीनवटा मन्त्रीहरू बब्लु गुप्ता, जगदीश खरेल र कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित छन्, यस आधारमा पनि यो सरकारलाई निर्दलीय वा स्वतन्त्र भन्न मिल्छ ?’ महासचिव भट्टले यो सरकारको चरित्र जस्तोसुकै भए पनि फागुन २१ गते चुनाव हुनुपर्ने धारणा राख्दै फागुन २१ गते निर्वाचन हुनुपर्ने र त्यसबाट देशले एउटा संवैधानिक कोर्स निर्धारण गर्ने उल्लेख गरे । तोकिएको मितिमा चुनाव नभए देश समस्यामा फस्ने उनको दाबी थियो ।
संघका अध्यक्ष श्यामलाल पोखरेलले ‘जेनजी र प्रेस स्वतन्त्रता’ विषयक अवधारणा प्रस्तुत गरेका थिए । अवधारणापत्र तथा स्थापना दिवसमाथि केन्द्रित रहेर नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष नीतु पण्डित, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगर, जनपत्रकार संघका अध्यक्ष शेरबहादुर विक, क्रान्तिकारी पे्रस संगठनका उपाध्यक्ष नारायण पङ्गेनी, संविधानसभा सदस्य विनोद पहाडी, पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदी र पत्रकार महासंघ काठमाडौँकी अध्यक्ष शोभा अर्यालले पूर्ण पे्रस स्वतन्त्रता, मानवअधिकार, राष्ट्रियताका विषयमा एक ठाउँ उभिनु पर्नेमा जोड दिएका थिए ।
संघका अध्यक्ष पोखरेलको अध्यक्षता तथा महासचिव प्रकाश थापा मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य रमेश पौडेलले स्वागत गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, पत्रकार महासंघ काठमाडौँका सहसचिव विक्रम रत्न, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा मसालसम्बद्ध जनवर्गीय संगठनका केन्द्रीय नेता तथा कार्यकर्ताहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्