कोहलपुर (बाँके) ।
लेखक बद्री ढकाल हिरामणीद्वारा लिखित लघुकथा संग्रह ‘मुकुर’को विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शनिबार हिरामणिद्वारा लिखित लघुकथा कृति विमोचन गरिएको हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले प्रकाशित गरेको मुकुरलाई नेपाल प्रज्ञा प्रतिष्ठान सभाका सदस्य महानन्द ढकाल, पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजाल, कृतिकार हिरामणीकी आमालगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले पूर्णिमाका कृतिगत उपलब्धिको चर्चा गर्दै ‘मुकुर’ समसामयिक कृति रहेको बताए । उनका अनुसार बहुप्रतिभाका धनी कथाकार बद्री ढकालको कथाकारिता मुकुरमा व्यक्त भएको छ । विविध विषयका पठनीय कथाको सँगालोका रूपमा यो कृति आएको प्रमुख अतिथि ढकालले बताए । कृति विमोचन तथा विमर्श कार्यक्रममा समालोचक डा. हरिप्रसाद तिमिल्सिनाले कृतिको समीक्षात्मक विश्लेषण गर्दै समसामयिक सामाजिक, शैक्षिक र राजनीतिक संवेदनालाई मुकुरले समेटेको बताए ।
उनले कृतिको संरचना, पात्र परिवेश आदिको समेत जानकारी दिएका दिए । अर्का समीक्षक प्रमोद सुवेदीले मुकुरको अंग्रेजी अनुवादमा भाव, संस्कृति चेतना, शव्दचयन, काव्यिक ओज सबै हिसाबले उत्कृष्टता पाइने बताए । कार्यक्रमका अध्यक्ष डा. पुष्कर रिजालले नेपाली र अंग्रेजी दुवै भाषामा रहेको ‘मुकुर’ नेपाली पाठकका साथै कोहलपुरको साहित्यलाई विश्व बजारमा चिनाउन सक्ने रचना बनेको बताए ।
कार्यक्रममा प्राज्ञ शशिराम कार्की, लघुकथाकार जितबहादुर शाह, छविलाल खड्कालगायतले शुभकामना र कृतिबारे आआफ्ना धारणा राखेका थिए । कृति विमोचनमा पूर्णिमाका सल्लाहकार सागर गैरेले कृतिकार र संस्थाको परिचयात्मक जानकारी दिएका थिए । कृतिकार ढकालले सहभागीहरूका जिज्ञासालाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा भारत भोपालका साहित्यकार शारिक रब्बानी, बाँकेका प्रा.डा. जनार्दन आचार्य, डा. इन्द्र भण्डारी, डा. राजकुमार थारू, इन्द्र बस्नेत, किरण आचार्य, कल्पना पौडेल जिज्ञासु, खगेन्द्र गिरि कोपिला, मणि अर्याल, सुमित्रा न्यौपाने, ईश्वरी रिजाल, कपिल अन्जान, नवीन अभिलाषी, विष्णु पादुका, चरित्रा शाह, खगेन्द्र अतललगायत दाङ, बर्दिया, पोखरा, धनगढी आदि क्षेत्रका सात दर्जनबढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्